दशैं, तिहार र छठका अवसरमा राजनीतिक दलले सार्वजनिक भोज र चियापान कार्यक्रम गर्न नपाउने
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई विजया दशमी, दीपावली तथा छठजस्ता पर्वहरुमा समेत सार्वजनिक भोज भतेर र चियापान जस्ता कार्यक्रम गर्नबाट रोक लगाएको छ ।
राजनीतिक दल र दल सम्बन्धित विभिन्न संघ संस्थाले सार्वजनिकरूपमा सार्वजनिकस्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन व्यवधान उत्पन्न गराउन सक्ने भएकाले त्यस प्रकारका चियापान समारोह तथा भोजभतेर आयोजना नगर्न आयोगले सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
आयोगको निर्णय
‘‘मिति २०७४ साल मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सिलसिलामा मिति २०७४ भाद्र १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भई रहेको कुरा सर्वविदित नै छ । विजया दशमी, दिपावली तथा छठ जस्ता हिन्दुहरूका महान चाडहरू हाम्रो घर आँगनमा प्रवेश गरिरहेको अवस्थामा ती चाडहरूको उपलक्ष्यमा राजनीतिक दल तथा राजनीतिक दल सम्बन्धित विभिन्न संघ तथा संस्थाहरूले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोज भतेरले निकट भविष्यमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्न सक्ने हुँदा सार्वजनिक रूपमा सार्वजनिक स्थानमा यस प्रकारका चियापान समारोह तथा भोज भतेर आयोजना नगरी निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न गराउन सम्बन्धित सबैलाई आयोगले हार्दिक आग्रह गर्ने ।
प्रस्तुत निर्णयको जानकारी राजनीतिक दल, सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूलाई दिने ।’’
(नवराज ढकाल)
सहसचिव एवम् प्रवक्ता