दशैंका लागि मुस्ताङबाट २० हजार भेडाच्यांग्रा बाहिरिए
दशैं तथा तिहारलाई लक्षित गरी मुस्ताङ जिल्लाबाट झण्डै २० हजार भेडा–च्यांग्रा निर्यात भएको छ ।
जिल्ला पशुसेवा कार्यालय मुस्ताङका वरिष्ठ पशु चिकित्सक शिवलाल भुसालका अनुसार मुस्ताङबाट १९ हजार ६६८ भेंडा च्याङ्ग्रा अन्य जिल्लामा लगिएको हो । तर, यसमध्ये ६० प्रतिशत तिब्बतबाट र ३० प्रतिशत डोल्पा ल्याइएका हुन् । स्थानीय उत्पादन भने बाँकी १० प्रतिशत मात्रै रहेको उनले जानकारी दिए ।
मुस्ताङका व्यवसायीले तिब्बत र डोल्पाबाट भेंडाच्याङ्ग्रा खरिद गरी अन्य जिल्लाका व्यवसायीलाई बेच्ने गर्छन् ।
पोहोर दशैंका बेला जिल्लाबाट २३ हजार भेडा–च्यांग्रा जिल्ला बाहिरिएका थिए ।
भुसालका अनुसार जिल्लाबाट बाहिरिने सबै भेडाच्यांग्राको स्वास्थ परीक्षण गरिएको छ ।
सरकारले नेपालभित्रका कुनैपनि ठाउँमा पशु चौपायाको ओसारपोसार तथा बिक्री गर्न सम्बन्धित जिल्लाका पशुचिकित्सकमार्फत निरोगिताको प्रमाणपत्र लिनुपर्ने अनिवार्य गरेको छ ।
भेडाच्यांग्राको स्वास्थ परीक्षणबाट प्रतिगोटा रु १५ का दरले रु ५० हजार शुल्क उठेको छ ।
जिल्ला समन्वय समितिले स्थानीय तह कर वापत प्रतिगोटा रु ६५ कर उठाएको छ ।
भेडाच्यांग्रा खरिदका लागि कास्की, पर्वत, बााग्लुङ, बेनी र मुस्ताङका व्यापारी जोमसोम सम्म पुगेका छन् ।
यसपटक जोमसोममा च्यांग्राको थोक मूल्य प्रतिगोटा २० देखि २३ हजार रुपैयाँसम्म छ भने भेडाको मूल्य प्रतिगोटा १६ हजार देखि १९ हजार रुपैयाँसम्म छ ।
युवराज श्रेष्ठ, पोखरा