ब्लगबुधवार, आश्विन ४, २०७४

न्यूयोर्कमा चार नेपाली

कनकमणि दीक्षित

नेपालीको विश्वव्यापी फैलावटसँगै नेपाली ल्याकत पनि फैलिएको भान हुन्छ।

दीपक रौनियार र आशा मगराती

अब त नेपाली संसारभर फैलिइसके। अष्ट्रेलियादेखि कतार, नामिबियादेखि नर्वेसम्म। हुन त अन्य दक्षिण एशियाली मुलुकका नागरिकहरुभन्दा समुद्रपारको बसाइँसराइ नेपालीले ३०–३५ वर्ष पछि शुरु गरेको हो, तैपनि एक दुई दशकमै नेपालीले डाँडाकाँडा ढाकिसके।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा गएर सफल हुनुको अर्थ बेग्लै छ। भनाइ नै छ– 'इफ् यु क्यान मेक इट हेयर, यु क्यान मेक इट एनिह्वेर... ' अर्थात्, जसले न्यूयोर्क शहरमा सफलता कमाउँछ, ऊ जता गए पनि सफल नै हुनेछ। गत साता न्यूयोर्क पुग्दा दुई दिनमा थुप्रै नेपाली भेटिए, जसले विश्वव्यापी प्रतिस्पर्धाबीच आ–आफ्नो क्षेत्रमा सफलता कमाएका छन्।

दीपक रौनियारले न्यूयोर्कको प्रख्यात 'मोमा' म्युजियममा आफ्नो फिल्म 'सेतो सूर्य' एक साताको लागि प्रदर्शन गर्दै थिए। द्वन्द्वकालपश्चात्को मध्यपहाडको एउटा गाउँको संवेदनशील चित्रण छ फिल्ममा, जो दीपक र उनकी सहयात्री तथा फिल्मकी पात्र आशा मगरातीले राम्ररी प्रस्तुत गरेका छन्।

न्यूयोर्कको भूमिगत सब–वे स्टेशन ८६ स्ट्रिटमा मैले कुरिरहेको थिएँ कुलचन्द्र गौतमलाई। नेपालको मात्र नभई विश्वकै महिला तथा बालबालिकाका सम्बन्धमा काम गर्नेहरुसँग उनको सहकार्य छ।

कुलचन्द्र गौतम

उनको यसपालिको न्यूयोर्क यात्रा भने नेपालमा बाल मजदूर रोक्ने सन्दर्भसँग केन्द्रित रहेछ। युनिसेफको प्रोग्राम डाइरेक्टर भएर संयुक्त राष्ट्रसंघीय संरचनामा नेपालीको सबैभन्दा उच्चतम ओहोदामा पुगेर अवकाश पाएका गौतममा कुनै ठूलो आडम्बर थिएन। मैले उनलाई सर्वसाधारणले चढ्ने 'सब–वे' ट्रेनमै भेटें।

सगरमाथा आरोहण गरेपछि आफ्ना सँगिनीको जमातसहित संसारका ७ महाद्वीपका ७ उच्चतम शिखर चढ्न तम्सेकी शैली बस्नेतको अर्को खूबी पनि छ– 'ठाडै ठट्टा' अथवा 'स्ट्याण्ड अप कमेडी' गर्ने।

यसै त कमेडी भनेको एकदमै प्रतिस्पर्धी कार्य क्षेत्र हो, यो पनि न्यूयोर्कमा त नवआगन्तुकलाई खुट्टा छिराउनै गाह्रो। त्यस्तो अवस्थामा संघर्षशील शैलीले न्यूयोर्कमा जरा गाड्दैछिन्।

अरुले हेर्दा, भन्दा 'कस्ती सफल, च्याम्पियन भइछन् शैली'। तर वास्तवमा कति परिश्रम र लगावले उनलाई न्यूयोर्क सिटीमा अमेरिकीहरुसँग प्रतिस्पर्धा गर्दै 'ठाडै ठट्टा' गर्न सक्षम बनायो, त्यो आफैंमा अत्यन्त रोचक छ।

नागरिकताले टेड रिकार्डी अमेरिकी हुन्, तर भावना र वफादारीले नेपाली। न्यूयोर्कको कोलम्बिया युनिभर्सिटीका प्रोफेसर रिकार्डी पूरै हिमालय क्षेत्र ढाक्ने 'हिमालयनिस्ट' हुन्।

नेपालको कला, संस्कृति, पुरातत्व, बसोबास, लेखन, राजनीति हर क्षेत्रमा चासो राख्ने रिकार्डीलाई 'नेपालविद्' भन्न सकिन्छ।

शैली बस्नेत

दुर्भाग्य, अहिले उनलाई पार्किन्सन् रोगले थला पारेको छ। उनी म्यानह्याटन क्षेत्रको घरमा विस्तारै यता–उता गर्न सक्ने अवस्थामा मात्र छन्।

टेड रिकार्डीलाई नेपालका अनेकन् कुराले रीस उठाउँछ, तर उनको नेपाल र नेपालीप्रतिको माया कहिल्यै घटेन। नेपाली मूर्ति चोरीको मात्र कुरा गरौं– काठमाडौंबाट भएको/हुने मूर्ति चोरीबारे रिकार्डी दशकौंसम्म आक्रोशित रहे। त्यसबारे पत्रिकामा लेख्नेदेखि नाटक मञ्चनसम्म गरे।

चाँगुनारायण मुनि पुरातात्विक अनुसन्धान गरेका उनले अमेरिकामा बेवारिस बीपी कोइरालाको सालिकलाई भर्जिनियाको आफ्नो जग्गामा व्यवस्थित रुपमा उभ्याए। यी कारणले गर्दा नेपाल सरकारले रिकार्डीलाई नागरिकता देओस् नदेओस्, उनी मेरो लागि नेपाली हुन्।

टेड रिकार्डी, शैली बस्नेत, कुलचन्द्र गौतम र दीपक रौनियार नेपालका यस्ता नागरिक हुन्, जसले संसारको कुनै पनि ठाउँमा नेपाली सोच र कामलाई सफल बनाउन सक्छन्।

प्रतिकृया दिनुहोस