निर्वाचनमा आचारसंहिताको व्यापक उल्लंघनः स्कोप नेपाल
निर्वाचन पर्यवेक्षण गरेको वातावरण, शान्ति, सुरक्षा र सामाजिक न्याय केन्द्र (स्कोप नेपाल) ले स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रकृयामा आचारसंहिताको व्यापक उल्लंघन भएको जनाएको छ ।
आचारसंहिताको कार्यान्वयन गर्ने र गराउने सम्वन्धित पक्षहरु जिम्मेवार नभएको स्कोपको विज्ञप्तिमा उल्लेख छ ।
उम्मेदवारले मतदानकै दिनमा समेत मतदातालाई प्रभावित पार्ने खालका गतिविधिहरु गरेको, चुनाव चिन्हसहितको व्याजको प्रयोग, लाइनमा पुगेर मतदातासंग मत माग्ने, मतदान स्थल वरपर प्रचार सामाग्रीको प्रयोग तथा राजनीतिक दल र उम्मेदवारहरुबाट मतदाता प्रभाववित गर्न खानाको मेस सञ्चालन तथा, मतदाता प्रभावित गर्न विभिन्न प्रकारका आचारसंहिता विपरितका गतिविधि गरिएको स्कोपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तेस्रो चरणको निर्वाचनका बेला केही मतदान केन्द्रमा विवाद, सामान्य झडप, सुरक्षाकर्मीद्वारा हवाइ फायर र केही समयका लागि मतदान कार्य स्थगन जस्ता घटना भएको पनि पाइएको स्कोपले बताएको छ ।
जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि मतदानमा सहजता प्रदान गर्न गर्नुपर्ने आवश्यक व्यवस्था हुन नसकेको स्कोपले उल्लेख गरेको छ ।
त्यसैगरी मतदाता शिक्षामा कमी स्पष्ट देखिएको पनि स्कोपको भनाई छ ।