प्रदेश-२ निर्वाचनः मतगणना जारी
प्रदेश-२ को २ असोजमा स्थानीय तह निर्वाचन सम्पन्न भए लगत्तै केही स्थानमा शुरु भएको मतगणना जारी रहेको छ भने केही स्थानीय तहमा मतगणना शुरु गर्ने तयारी भइरहेको छ ।
निर्वाचन आयोगका अनुसार, २ असोज रातीदेखि नै ७० स्थानीय तहमा मतगणना शुरु भएको छ । अन्य स्थानीय तहमा पनि ३ असोजमा मतगणना शुरु हुने आयोगका प्रवत्ता नवराज ढकालले बताए । बाँकी स्थानीय तहतको मतगणना गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।
२ असोजमा प्रदेश-२ का आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि निर्वाचन भएको थियो । निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो ।
यसैबीच राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएकोले सो वडामा ५ असोजमा मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने आयोगले जनाएको छ ।