प्रदेश-२ मा ७३ प्रतिशत मतदान
प्रदेश-२ मा २ असोजमा सम्पन्न स्थानीय तह तेस्रो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश-२ मा ७३ प्रतिशत मतदान भएको प्रारम्भीक अनुमान गरिएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताए । २ असोज साँझ मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रमुख निर्वाचन आयुक्त डा.यादवले सो जानकारी दिएका हुन ।
प्रदेश २ का आठ जिल्लाका १३६ स्थानीय तहमाका लागि निर्वाचन भएको हो ।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दिएको वक्तव्यः
स्थानीय तहको तेस्रो चरणअन्तर्गत आज असोज २ गते सोमबार प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ स्थानीय तहका लागि बिहान ७ देखि अपराह्न ५ बजेसम्म भएको मतदान कार्य सुसम्पन्न भएको छ । मतदान कार्य शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जानकारी गराउन पाउँदा निर्वाचन आयोग गौरवको अनुभव गर्दछ । आज सम्पन्न भएको मतदानमा करिब ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । यसबाट ६ हजार ६२७ जनप्रतिनिधि निर्वाचित हुने छन् ।
हालै गएको भीषण बाढी, डुबान र कटानको दुःखलाई सहेर भए पनि मतदाता महानुभावहरूले देखाउनु भएको व्यापक सहभागिताले लोकतन्त्रलाई सुदृढ गर्न तथा जनताको अधिकारलाई बलियो बनाउन सहयोग पुगेको अनुभव आयोगले गरेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन सहज ढङ्गमा सम्पन्न भएको यहाँहरुलाई अवगत नै छ । पटक पटक सरेर पनि राजनीतिक सहमति र समझदारीका साथ प्रदेश दुईको स्थानीय तह निर्वाचन जुन शान्तिपूर्ण र सौहाद्र्धपूर्ण तरिकाले सम्पन्न भएको छ । यसलाई सरकार, निर्वाचन आयोग तथा राजनीतिक दलहरु र उम्मेदवारले ठूलै उपलब्धिका रुपमा लिएका छन् र यो निर्वाचनले समृद्ध भविष्यको सन्देशसमेत दिएको छ ।
आज १३६ स्थानीय तहका लागि २ हजार १६४ मतदान स्थलका ३ हजार ५७५ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्बर १५ मा भने राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वडा अध्यक्षका उम्मेदवारको भदौ ३१ गते निधन भएकाले सो वडाका दुई मतदान केन्द्रमा आज मतदान हुन सकेन । उक्त वडामा असोज ५ गते निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम प्रकाशन भइसकेको छ ।
प्रदेश दुईका आठवटै जिल्लाका शहरदेखि गाउँ बस्तीमा रहेका मतदान केन्द्रहरूमा मतदाता बिहान ७ बज्नुअघिदेखि नै मतदान केन्द्रमा पङ्क्तिबद्ध भएर बस्नु भएको थियो । मतदानमा युवा पुस्तादेखि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीनसमेतले निकै उत्सुकतापूर्वक सहभागिता जनाउनुभएको छ । चर्को गर्मीमा समेत मतदाताहरू लामबद्ध भएर मतदानका लागि आतुर देखिनुहुन्थ्यो, यसले मतदाताहरु लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन दृढ र प्रतिबद्ध हुनुहुन्छ भन्ने पुष्टि गर्दछ । सबै राजनीतिक दलहरु र स्वतन्त्रबाट उम्मेदवारी दर्तामा देखिएको उत्साह र मतदातामा आएको जागरणले स्थानीय सरकारको गठन भई जनताको विकासप्रतिको उर्लंदो चाहनालाई साकार पार्न सहयोग पुग्ने छ ।
राजनीतिक दलका प्रतिनिधिहरुको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदानमार्फत व्यक्त गर्नुभएको जनादेश अब मतपेटिकामा सङ्ग्रहीत भएको छ । समस्त राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन परिणामलाई स्वीकार गर्नेछन् र मतदाताको मतादेशलाई सम्मान गर्र्ने छन् भन्नेमा आयोगमा पूर्ण विश्वस्त छ ।
आचारसंहिताको पालना, दलहरुबीच सौहाद्र्धता तथा असल लोकतान्त्रिक संस्कारको विकासका लागि राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताबाट जुन सुझबुझ तथा जिम्मेवारी प्रदर्शन भएको छ, त्यसबाट लोकतान्त्रिक अभ्यासमा नेपाल एक खुड्किलो अगाडि बढेको महसुस गरिएको छ । साथै आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पनि अझ राम्रो व्यवहार र समझदारीको विकास हुनेमा आयोग आशावादी छ ।
मतदान कार्य सम्पन्न भएका मतदान केन्द्रबाट सबैै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको छ । मतदान कार्य सम्पन्न भई मतपेटिकाहरू सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइने छ । मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले मतगणना गर्ने विषयमा राजनीतिक दलहरुसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्नु हुने छ ।
आफ्नो तयारी पूरा भएपछि उहाँहरुले आजै राति वा भोलि बिहानबाट मतगणना सुरु गर्नु हुने छ र मतपरिणाम सहज तरिकाले सार्वजनिक गर्नुहुने छ । मतगणना कार्यमा सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास आयोगले लिएको छ । मतगणना कार्य सुरु भएको पाँच दिनभित्र सक्ने गरी आवश्यक व्यवस्थापकीय र प्राविधिक तयारी गरिएको छ ।
नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेष गरी महिला तथा दलित समुदायको सहभागिता निकै उत्साहप्रद रहेकोमा आयोग हर्षित छ । आयोगको राम्रो तयारी र निर्वाचन व्यवस्थापनमा जिल्लास्तरमा खटिनु भएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको अथक प्रयासका कारण कुनै मतदान केन्द्रमा कुनै पनि किसिमको समस्या उत्पन्न भएन र सहज ढङ्गले मतदान कार्य अगाडि बढाउन आयोग सफल भएको छ । मतदान कार्यमा अत्यन्तै कठिन परिश्रम गरी अहोरात्र खटेर मतदान कार्य सफल बनाउन जुट्नुभएका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, सुरक्षाकर्मीहरु, मतदान अधिृकत र अन्य कर्मचारीलगायत सबै धन्यवादका पात्र हुनुहुन्छ ।
मतदानको कार्यमा यथाकदा अर्कोको नामबाट मतदान गर्ने प्रयास गरेको पाइएको छ तर मतदान अधिकृत र सुरक्षा निकायको सजगताले तुरुन्तै त्यस्ता गैर मतदातालाई नियन्त्रण लिई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश नम्बर दुईका आठवटै जिल्लामा गरी नक्कली मतदाता भई मत दिन प्रयास गर्ने ३८ जना र कानुनको उल्लंघन गर्ने अन्य १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । यस्तो सजगता अपनाउने मतदान अधिकृत र सुरक्षाकर्मीलाई आयोग स्यावासी दिन चाहन्छ ।
स्थानीय तहको निर्वाचन लगत्तै आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन गर्ने कार्यक्रम प्रकाशित भइसकेको छ । अब हामी सबै सो निर्वाचनलाई सफल बनाउने अभियानमा जुट्नेपर्ने छ । स्थानीय तहको निर्वाचनमा जस्तै प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि सबै क्षेत्रबाट अहिलेको जस्तै सहयोगका लागि आयोग हार्दिक अनुरोध गर्दछ ।
प्रदेश नम्बर दुईको निर्वाचनमा तीन तहको भरपर्दो सुरक्षा व्यवस्था गर्ने नेपाल सरकार तथा त्यसलाई कार्यान्वयन गरेर निर्वाचनलाई मतदाताले महसूस गर्ने गरी शान्तिपूर्ण बनाउन सबै सुरक्षा अङ्गले जनताको प्रहरीको रुपमा खेलेको भूमिकाप्रति आयोग आभार व्यक्त गर्दछ । साथै बाढी, डुवान र कटानबाट सिर्जित कठिनाइलाई हटाइ आवागमन सुचारु गर्न नेपाली सेनालगायतको अथक प्रयासको आयोग सराहना गर्दछ ।
नेपालको संविधान जारी भएपछि संविधानले व्यवस्था गरेअनुसार संघीय संरचनाको पहिलो खुट्किलोको रूपमा रहेको स्थानीय तहको निर्वाचन गराउने संवैधानिक दायित्व पूरा गर्न पाएकोमा निर्वाचन आयोग गौरव महसुस गर्दछ । तीन चरणको स्थानीय तहको निर्वाचनको कार्य सम्पन्न भएको छ । तेस्रो चरणको आज सम्पन्न भएको मतदान तथा यसअघि सम्पन्न भएका दुवै चरणका मतदान कार्यलाई सफल बनाउन सहयोग पु¥याउने नेपाल सरकार, मित्र राष्ट्र, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भावप्रति आयोग पुनः धन्यवाद दिन चाहन्छ ।
मतदान कार्यलाई सफल बनाउन समाचार माध्यमहरुले खेलेको भूमिकाप्रति आयोग हृदयदेखि नै धन्यवाद दिन चाहन्छ । समग्रमा, सञ्चारकर्मी मित्रहरुले देखाउनु भएको जाँगर, उत्साह र लगनशीलताको आयोग प्रशंसा नगरी रहन सक्दैन । चर्को गर्मीमा समेत दिनभर खटेर समाचार सङ्कलन तथा छायाङ्कनमा व्यस्त रहनुभएका आदरणीय सञ्चारकर्मीहरूले गर्नुभएको मेहनतले मतदातालाई मतदानमा सहभागी हुन अझ बढी प्रोत्साहित गरेको आयोगको ठहर छ । प्रत्यक्ष प्रशारणमार्फत मतदातालाई सुसूचित पार्ने कार्यमा तपाईहरु दिनभर खट्नुभएको छ । धेरै असुविधा भोगेर पनि तपाईहरुले पु¥याउनु भएको योगदानको आयोग उच्च सम्मान गर्दछ ।