समाचारसोमबार, २ आश्विन , २०७४

प्रदूषणले चौपट हुँदै लुम्बिनी

हिमालखबर

विश्व सम्पदाको रूपमा प्रतिष्ठित लुम्बिनीलाई औद्योगिक प्रदूषणले बर्बाद बनाइरहेको छ ।

निषेधित क्षेत्रभित्रै संचालनमा रहेको एक ईंटा उद्योग ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सुरक्षापर्खाल (बाउण्ड्री) बाट चारैतिर १५ किलोमिटरभित्र उद्योग खोल्न पाइन्न । विश्वभरका बौद्ध धर्मावलम्बी मात्र नभई शान्तिका अग्रदूत बुद्धप्रति श्रद्धा राख्ने सबैको तीर्थस्थलको रूपमा प्रतिष्ठित लुम्बिनीमा औद्योगिक प्रदूषण बढेपछि सरकारले २०६४ सालबाट यस्तो नियम लागू गरेको हो । तर, यो नियमले कसैलाई नरोकेको पछिल्लो उदाहरण हो– श्रीराम सिमेन्ट उद्योग । सियारी गाउँपालिका–९ भैसाखादरमा निर्माणाधीन उद्योग लुम्बिनीको सुरक्षा पर्खालबाट १५ किमिभित्रै छ ।

विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी वरिपरि अहिले ईंटाभट्टादेखि सिमेन्ट, स्टिल, पेपर, नुडल्स, सिन्थेटिक, प्लाइउड र कास्टिङ्गसम्मका कम्तीमा ४० वटा ठूला उद्योग सञ्चालनमा छन् । भारतबाट कच्चा पदार्थ ल्याउन र तयारी माल पठाउन नजिकै सुनौली नाका रहेकोले उद्योगीहरू लुम्बिनी क्षेत्रमा उद्योग खोल्न उत्साहित भएको देखिन्छ । सरकारले २०६४ सालमा गरेको ‘प्रदूषण मापदण्ड पूरा नभएका उद्योगलाई दुई वर्षभित्र यस क्षेत्रबाट हटाउने’ निर्णय पनि कार्यान्वयन हुन सकेन ।

विश्व सम्पदा लुम्बिनीलाई प्रदूषणबाट जोगाउन एक होइन, अनेक निर्णय भएका छन् । तिनैमध्येको पछिल्लो हो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको लुम्बिनी क्षेत्रको वातावरण संरक्षणका लागि कार्यस्थलमा अन्तरनिकाय समन्वय र प्रभावकारी अनुगमन गर्ने निर्णय । २०७० पुसको यो निर्णय पछि पनि लुम्बिनीमा उद्योग स्थानान्तरण त के अनुगमन समेत नभएको वातावरण संरक्षण अभियन्ता नारायण सापकोटा बताउँछन् । उनी भन्छन्, “सुधारका निर्णय र बिगार सँगसँगै भइरहेको छ ।”

भयावह अवस्था
विश्व स्वास्थ्य संगठनको सहयोगमा सन् २०१३ मा भएको वायु प्रदूषण अध्ययनले लुम्बिनीको वायुमा २.५ माइक्रोनका धूलोका कण प्रति घनमिटर २७१ माइक्रोग्राम पाइएका थिए । यस्तो धूलोले मानव स्वास्थ्यसँगै पुरातात्विक वस्तुमा पनि क्षति पुर्‍याउने विज्ञहरू बताउँछन् ।

त्यसअघि सन् २०१२ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले गरेको अध्ययनले पनि लुम्बिनी क्षेत्रका सिमेन्ट, छड, ईंटालगायतका उद्योगहरूलाई वायु प्रदूषणको प्रमुख कारण भनेर औंल्याएको थियो । आईयूसीएनको प्रतिवेदनमा ती उद्योगकै कारण पानी पनि प्रदूषित भइरहेको उल्लेख छ ।

पछिल्लो पटक गत माघमा वातावरण मन्त्रालयले काठमाडौं, लुम्बिनी र चितवनमा एकैपटक गरेको मापनमा लुम्बिनीमा सबभन्दा बढी वायु प्रदूषण भएको देखाएको थियो । विश्व सम्पदा क्षेत्रमा लापरबाही कस्तो छ भने, यहाँ लुम्बिनी विकास कोषकै सिफारिशमा उद्योगहरू स्थापना भइरहेका छन् ।

कोषले गुगल नक्शाका आधारमा दूरी प्रमाणित गरेर सिफारिश दिने गरेको छ । “लुम्बिनीको वायुमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ११ गुणा बढी प्रदूषण भइसकेको छ”, जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (काठमाडौं) का कार्यकारी निर्देशक रामचरित्र साह भन्छन्, “तर, कागजपत्र मिलाएर प्रतिबन्धित क्षेत्रभित्रै उद्योग खोल्ने क्रम रोकिएको छैन ।”

न पार्किङ, डम्पिङ्ग साइट
लुम्बिनीको पर्यटक प्रवेशमार्ग भैरहवा–लुम्बिनी २२ किलोमिटर सडक धुवाँ–धूलो र पार्किङले बेहाल छ । औद्योगिक सामग्री ढुवानी गर्ने ठूल्ठूला ट्रकहरूको पार्किङले धुलाम्य सडक छेकिरहेको देखिन्छ, पर्यटकका सवारी साधन सजिलै पार हुन सक्दैनन् । यो सडक खण्डमा घर भएका मायादेवी गाउँपालिका–५ पर्सहवाका रामदेव कोइरी एक सातामा कोठा र छतमा धूलोको पत्र एकइन्चसम्म बाक्लो हुने बताउँछन् ।

ठूला उद्योगहरूका आफ्नै पार्किङस्थल छैनन् । विद्युत् नियमित नहुँदा ठूला उद्योग र होटलहरूले ठूलो क्षमताका जेनेरेटर प्रयोग गर्छन् । तिनले निकाल्ने आवाजले ध्वनि प्रदूषण थपेको छ । लुम्बिनीमा फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइट समेत छैन । यसले गर्दा प्रदूषण झन बढिरहेको छ । पर्यटकले नाक थुनेर हिंड्नुपर्ने अवस्था छ । वातावरण अभियन्ता सापकोटा लुम्बिनी आउने भारतीय पर्यटकहरू उसै दिन फर्कनुको पछाडि प्रदूषण एउटा कारण भएको बताउँछन् ।

दीपक ज्ञवाली, लुम्बिनी

 

प्रतिकृया दिनुहोस