मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान
स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तरगत प्रदेश–२ का आठ जिल्लामा २ असोज मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतादान भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश–२ का १३६ वटा स्थानीय तहमा जारी मतदानमा उत्साहजनक सहभागिता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार, सबै मतदान केन्द्रहरुमा मतदाताहरू ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनरूपमा मतदान कार्यमा सहभागी भइरहेका छन् ।
मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहने छ । प्रदेश–२ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउ्रँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुने छन् ।
यसैबीच, महोत्तरी जिल्लाको औरही नगरपालिकास्थित नेपाल राष्ट्रिय निमावि, कठुधार मतदानस्थलमा ११६ वर्षीया सर्वसियादेवी यादवले मतदान गरेकी छन् ।
रौतहट जिल्लाको गढिमाई नगरपालिकास्थित प्रावि भवन, लक्ष्मीपुर गम्हरिया मतदान केन्द्र र बारा जिल्लाको पचरौटा नगरपालिका–२, बिसम्बरास्थित नेराप्रावि, विसम्बरा मतदान केन्द्रमा अर्को व्यक्तिको नाममा मतदान गर्न प्रयास गर्ने एक–एकजना नक्कली मतदातालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।