सुर्खेतको गुर्भाकोटमा नयाँ गुफा फेला
सुर्खेतको गुर्भाकोट नगरपालिका–३ स्थित धारापानीमा नयाँ गुफा फेला परेको छ ।
स्थानीय वासिन्दाले दुम्सी खोज्दै जाने क्रममा सो गुफा फोला पारेका हुन् । मकैबारी नोक्सानी गर्ने दुम्सी खोज्न हिँडेका गाउँलेले पाँच भदौमा गुफा फेला पारेको स्थानीय वासिन्दा वीरबहादुर खत्रीले बताए ।
“पहरामा एउटा ढकनी लगाए जस्तो राम्रो ढुंगा भेटायौँ, त्यो पञ्छाउँदा मुन्तिर प्वाल परेको ढुंगा थियो,” घटनाक्रम सुनाउँदै उनले भने, “चियाएर हेर्दा अँध्यारो ओडार जस्तो देखियो, टर्च बालेर भित्र पसेको दुई घण्टा घुम्दा पनि छिचोल्न सकिएन, फर्कियौं ।”
गुफा भित्र विभिन्न आकारका मूर्ति फेला परेको र भित्तामा बुट्टा कुँदिएको उनले जानकारी दिए ।
“भित्र धेरै बाटाहरु थिए, तलैतलाको अँध्यारो गुफा हराइला जस्तो थियो,” खत्रीले भने, “कतै मैनवत्ति आकारका धातु भेटिए त कतै भगवानका जस्ता देखिने कुँदिएका मूर्तिहरु ।”
गुफाभित्र प्रवेश गरेका वीरबहादुर, हस्तवीर र थलबहादुर खत्री तीनै जनाले गुफा शितल रहेको मोबाइलबाट फोटो खिच्दा प्रकाश परावर्तन भई आफैं तिर फर्किएको बताए ।
उनीहरुले गाउँलेललाई बताएपछि अन्य गाउँलेहरुले पनि गुफाको अवलोकन गरेका छन् ।
गुफाको महत्वको बारेमा आफूहरुलाई थाहा नभएकोले अहिलेसम्म यो गाउँबाहिर प्रचार प्रसार हुननसकेको खत्री बताउँछन् ।
यो सुर्खेतको प्रसिद्ध चमेरे गुफाभन्दा करिब सय मिटर पर रहेको उनीहरुको भनाई छ ।
लक्ष्मी भण्डारी, सुर्खेत