थबाङ पुगेर दाहालले भने, ‘जनसत्ता भनेको जनताका छोरा-छोरीको शासन’
मध्यपश्चिमको पहाडी गाउँ थबाङलाई शनिबार सुरक्षाकर्मीले चारैतिरबाट घेरेका थिए ।
कुनै बेला माओवादीको ‘आधार इलाका’ भनिने गरेकोे थबाङमा दशक लामो सशस्त्र द्वन्द्वका अगुवा पुष्पकमल दाहाल पुगेका थिए, गाउँसभाको उद्घाटनका लागि ।
‘आधार इलाका’मै सुरक्षा चिन्ता ?
हो, किनभने तत्कालीन माओवादीबाट अलग भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले थबाङ नआउन भनेको थियो दाहाललाई । स्थानीय तहको निर्वाचन विथोल्ने प्रयास गरेको नेकपाले गाउँसभाको आयोजना गर्नु पहिले आफूसँग सल्लाह नगरिएको भन्दै थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीलाई ‘अपहरण’ गरेको आरोप लागेको छ । घर्ती दुई दिनदेखि वेपत्ता छन् ।
अध्यक्षको अनुपस्थितिमै पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सभाको उद्घाटन गरे ।
दाहालले थबाङबासीलाई भने, “जनसत्ता भनेको यही हो, जनताको छोरा–छोरीले जितेर सत्ता चलाउने ।” नेकपाको गतिविधिप्रति लक्ष्य गर्दै उनले भने, “अर्को जनसत्ता चलाउँछौं भन्नुको अर्थ छैन ।”
उनले घर्ती अपहरणको निन्दा गरे ।
तत्कालीन माओवादीको एकल वर्चस्व जस्तै रहेको थबाङ अहिले विभिन्न दलहरुमा विभाजित छ । सबै प्रमुख दलहरुका प्रतिनिधि थबाङमा छन् र संगठन विस्तार गरिरहेका छन् ।
गाउँपालिका अध्यक्ष घर्तीलाई अपहरण गरेको आरोपमा प्रहरीले नेकपाका केन्द्रीय सदस्य एवम् स्थानीय नेता केशबहादुर बाँठालाई नियन्त्रणमा लिएको छ । नेकपाले विज्ञप्ति जारी गरी आफूहरुले घर्तीको अपहरण गरेको नभई छलफलका लागि ‘जनताको साथमा राखिएको’ जनाएको छ ।
गाउँसभाको तयारी भैरहेको बेला नेकपाले बनाएको ‘जनसरकार’सँग सल्लाह नगरी योजना बाँडफाड गरेको घर्तीमाथि नेकपाको आरोप छ ।
गाउँसभाको उद्घाटन लगतै दाहाल, वर्षमान पुन लगायतका नेताहरुसहित हेलिकप्टरबाट राजधानी फर्किएका छन् ।
-जीवन डाँगी, रोल्पा