महिलाको संघर्ष र सफलता वृत्तचित्रमा
लामो समयदेखि नेपाली महिलाले गर्दै आएको संघर्ष र सफलतालाई पत्रकार मञ्जु कार्कीले वृत्तिचित्रमार्फत दस्तावेजीकरण गरेकी छन् ।
३० भदौमा वृत्तचित्र ‘नेपाली महिला संघर्ष र सफलता’ हेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिएकी छन् ।
राष्ट्रपतिले महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने जनाउदै त्यसतर्फ केन्द्रित हुन आग्रह गरिन् । उनले छोरा र छोरीबीच कत्ति पनि विभेद नगरी समान शिक्षा र व्यवहार गर्नसमेत अपिल गरिन् ।
विभिन्न चरणमा भएका संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि प्राप्तिका लागि महिलाले संयुक्तरूपमा संघर्ष गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो ।
राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारी, सभामुख आनेसरी घर्ती, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायतका व्यक्तित्वलाई वृत्तचित्र ‘नेपाली महिला संघर्ष र सफलता’ देखाइएको हो ।
कार्यक्रममा बोल्दै सभामुख घर्तीले महिला, दलित तथा अन्य उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि पनि समयभित्रै संविधान कार्यान्वयन गर्नुपर्ने भएकाले त्यसतर्फ केन्द्रित हुन सबैमा अपिल गरिन् ।
पूर्व प्रधानन्यायाधीश कार्कीले महिलाको नीति निर्माण तहमा सहभागिताका लागि स्थानीयस्तरबाटै शुरू गर्नुपर्ने बताइ ।
राष्ट्रपति भण्डारी, सभामुख घर्ती, पूर्व प्रधानन्यायाधीश कार्कीलगायत विभिन्न व्यक्तित्वको संघर्ष र सफलतालाई वृत्तचित्रमा समेटिएको निर्देशक कार्कीले बताइन् । निर्देशक कार्की माउण्टेन टेलिभिजनमा कार्यरत छन् ।