राजनीतिको परीक्षामा सल्मा
छोरी बुहारीलाई घरबाहिरको काममा उती नलगाउने समाजमा हुर्केकी सल्मा खातुन पत्रकारिता, सामाजिक संस्था हुँदै अहिले राजनीतिमा उत्रेकी छन् ।
पर्साको पोखरिया नगरपालिकामा उपमेयरकी उम्मेदवार ३० वर्षीया सल्माले ३० भदौ मध्याह्न चुनावी चटारोबीच हिमालसँग केही मिनेट कुरा गरिन् ।
“राजनीतिमा रुची पत्रकारिता शुरु गर्दादेखि नै थियो, तर अहिले नै मैदानमा उत्रिन्छु भन्ने चाहीँ थिएन,” उनले भनिन्, “अधिकारसम्पन्न स्थानीय तह बनेपछि आफ्नै गाउँ–ठाउँमा पाएको अवसर सदुपयोग गर्नैपर्छ भन्ने लाग्यो र पत्रकारिता छोडेर यता होमिएँ ।”
बंगलादेशको ढाका युनिभर्सिटीबाट पत्रकारितामा स्नातकोत्तर सल्मा टेलिभिजन र पत्रिकाको अनुभव बटुलिसकेपछि पछिल्लो समय वीरगञ्जस्थित नारायणी एफएममा कार्यक्रम चलाउँथिन् ।
यसैबेला उनलाई उपमेयरको उम्मेदवार बन्न संघीय समाजवादी फोरमबाट प्रस्ताव आयो, उनले खुशी साथ स्वीकारिन् ।
सल्माको सम्भावना र रुचि बुझेका नारायणी एफएम सञ्चालक समितिका अध्यक्ष एवम् संघीय समाजवादी फोरमका जिल्ला नेता प्रदीप यादव र एफएमका पूर्व अध्यक्ष, हाल वीरगञ्ज महानगरका मेयरका उम्मेदवार विजय सरावगीसँगको चिनजान उनका लागि सहयोगी हुन पुग्यो ।
“मुस्लिम समुदायमा छोरी, बुहारीलाई बाहिर काममा पठाउने चलन उती हुँदैन, हाम्रो जस्तो समाजमा त झन् गाह्रो,” सल्मा भन्छिन्, “तर बुवा–आमाले पत्रकारिता पढ्दा होस् वा काम गर्दा, जहिल्यै पनि सहयोग गर्नुभयो, विवाहपछि पनि श्रीमानको सहयोग पाइरहेकी छु ।”
पोखरियाका लागि के के छन् त उनका योजना ?
“सडक, बाटो, ढल निर्माण जस्ता कुरा त सबैले गर्छन, मेरो पनि प्राथमिकताका विषय तिनै हुन्,” सल्मा भन्छिन्, “तर, स्रोत साधन जुटाएर त्यसको सही उपयोग गर्ने, विकास निर्माणमा स्थानीय जनताको सहभागिता बढाउने तथा पारदर्शीता, जवाफदेही र इमान्दारी मेरा लागि महत्वपूर्ण विषय हुन् ।”
स्थानीय जनताको सहभागिता विना दिगो विकास सम्भव नहुने बताउने सल्मा युवा, महिला र किशोर–किशोरीका लागि विशेष कार्यक्रम ल्याउने बताउँछिन् । कृषिको व्यवसायिकरण, सामाजिक सांस्कृतिक विकासमा पनि आफ्नो योगदान रहने उनको भनाई छ ।
“पूरा गर्नै नसकिने ठूलाठूला वाचा गरेकी छैन,” उनी भन्छिन्, “एउटा उपमेयरले के के गर्न सक्छ, इमान्दारीपूर्वक गर्ने स्पष्ट दृष्टिकोण मसँग छ । पत्रकारिता गरिरहँदा समाज र राजनीति बुझेकी छु ।”
जितिन्छ त ?
“अहिलेसम्मको अवस्था हेर्दा राम्रै मतान्तरले जित्छु जस्तो लागेको छ,” सल्माले भनिन् ।
समाजको हरेक क्षेत्रलाई राजनीतिकरणले विगारेको ठान्ने सल्मा स्थानीय सहकारीदेखि विद्यालय व्यवस्थापन समितिसम्मलाई राजनीतिले गाँजेको बताउँछिन् । स्थानीय सरकार बनिसकेपछि मेयरदेखि वडा सदस्यसम्मलाई यो कुरा बुझाएर राजनीतिको ‘नेक्सस्’ हटाउन सकिने उनको विश्वास छ ।
“शिक्षित युवाहरु राजनीतिमा आउनुपर्छ भनेर पत्रकारिता मार्फत वकालत गरिरहन्थें,” सल्माले भनिन्, “अहिले त्यो अवसर आफ्नै नजिक आइपुगेको छ, सदुपयोग गर्छु ।”
पोखरिया नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले रेहना खातुन, राजपाले अनिता पटेल, एमालेले मीना देवी र माओवादी केन्द्रले लक्ष्मी श्रेष्ठ कुशवाहालाई उम्मेदवार बनाएका छन् ।
सुरेश बिडारी, पर्सा