भरतपुर–पोखरा उडानले पर्यटन व्यवसायी उत्साही
बुद्ध एयरले भरतपुर, पोखरा र भैरहवाबीच सिधा हवाई उडान शुरु गरेसँगै पर्यटन व्यवसायी उत्साही भएका छन् ।
आमनागरिक मात्रै नभएर पर्यटन व्यवसायी र पर्यटकको सहजताका लागि तीन पर्यटकीय नगर जोड्ने हवाई उडान शुरु गरेको बुद्ध एयरका भरतपुर स्टेशन म्यानेजर भक्त बस्नेतले जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराईले तीनवटा पर्यटकीय गन्तव्य लुम्बिनी, चितवन र पोखराबीच हवाई सम्पर्क जोडिएपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छन ।
बुद्ध एयरले अहिले दैनिक एक उडान भरेपनि यात्रुको संख्याअनुसार थप उडान भर्न सकिने जनाएको छ ।
सन् २००५ मा बुद्ध एयरले पोखरा भरतपुर र २००७ मा पोखरा भैरहवा उडान शुरु गरेको थियो । तर, यात्रु अभावका कारण उडान नियमित गर्न सकेको थिएन ।
अहिले पोखरा–भरतपुर उडानको प्रतिव्यक्ति ३ हजार ६०० र पोखरा–भैरहवा उडानको ४ हजार २०० भाडा तोकिएको बुद्ध एयरका पोखरा स्टेशन प्रमुख गौतम बरालले जानकारी दिए ।
युवराज श्रेष्ठ, पोखरा