८० रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च
तेह्रथुमको दुई गाउँपालिकाका उपभोक्ताहरुको ८० रुपैयाँ विद्युत् महसुल बुझाउँदा दुई हजार खर्च हुने गरेको छ ।
आठराई गाउँपालिका र फेदाप गाउँपालिकाका उपभोक्ताहरु दुई हजार खर्च गरेर विद्युत् महसुल बुझाउन सदरमुकाम म्याङ्लुङ बजार पुग्ने गरेका छन् ।
पायक पर्ने स्थानमा महसुल संकलन केन्द्र स्थापना नहुँदा मारमा परेको स्थानीय उपभोक्ताको गुनासो छ । बर्खायाममा आठराई र फेदापबाट सदरमुकाम म्याङ्लुङ बजारमा पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ ।
पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना नहुँदा सास्ती र आवश्यकताभन्दा बढी खर्च हुने गरेको फेदाप गाउँपालिकाका स्थानीय दायासागर भण्डारीले जानकारी दिए ।
हिउँदको समयमा यातायात सञ्चालमा हुँदा म्याङ्लुङ बजार पुग्न रु ७०० एकोहोरो यातायात खर्च लाग्ने गरेको छ । समयमा महसुल नबुझाउँदा जरिवाना लाग्ने र लाइनसमेत काटिने समस्या हुँदा आवश्यकताभन्दा बढी खर्च गरेरै महसुल बुझाउँदै आएको स्थानीयले बताएका छन् । रासस