चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ
तेस्रोचरणअन्तर्गत प्रदेश- २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी का दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ता महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्रलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
लामा बर्दिवास र मिश्र मटिहानी नगरपालिका क्षेत्रबाट पक्राउ परेका हुन् । पक्राउ परेका दुबै जनामाथि सार्वजनिक मुद्दा चलाएको र यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको का प्रहरी उपरीक्षक कुबेर कठायतले जानकारी दिए ।
बाढीबाट जोगाउनेले पाउँछन् भोट
रातो खोलाको बाढीबाट प्रत्यक्ष मारमापर्ने गरेको जलेश्वर नगरपालिका वडा नम्बर ६, ७ र ८ का वासिन्दाले बाढीबाट जोगाउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।
जिल्लाको महादेवपट्टी, बखरी, रतवारा, बजराही र धबौली गाउँका सयौं दलित वर्षेनी रातो खोलामा आएको बाढीबाट भौतिक तथा मानवीय क्षति बेहोर्दै आएको छ ।
जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवारका लागि मत माग्न बस्तीमा आउने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, नेपाल फोरम लोकतान्त्रिक, राप्रपालगायतका राजनीतिक दल र विभिन्न स्वतन्त्र उम्मेदवारसँग उनीहरुले एउटै माग राख्दै आएका छन्, बाढीबाट जोगाउने प्रक्रिया अगाडि बढाउने ।
गत साउन महिनाको अन्तिमसातामा मात्रै रातो नदीमा आएको बाढीबाट जलेश्वर नगरपालिकामा तीन जनाको मृत्यु भएको थियो । त्यस्तै बाढीबाट करोडौंको धनमाल र धानखेतीमा क्षति पुगेको हुँदा रातो नदीको बाढीबाट जोगाउनेले मात्रै भोट पाउने उनीहरु बताउँछन् ।
रासस