थवाङ गाउँपालिकाका अध्यक्षको अपहरण
रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपरहणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय, रोल्पाका अनुसार उनी २९ भदौ राति अपरहणमा परेका हुन ।
थवाङस्थित कार्यालयबाट थवाङ–२ कोइचावाङमा रहेको ससुराली घर जादै गर्दा घर्तीलाई १०/१२ जनाको समूहले अपरहण गरेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।
अध्यक्ष घर्तीको खोजीका लागि थवाङ आसपासका प्रहरी युनिटबाट प्रहरी खटाइएको छ । रोल्पाको टिलामा रहेको सशस्त्र प्रहरीको टोली पनि घटनास्थलतर्फ गएको जनाएको छ ।
सदरमुकाम लिवाङबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।
थवाङ गाउँपालिकाको ३१ भदौमा हुने प्रथम गाउँसभा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा सो कार्यक्रम बिथोल्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीको अपहरण गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
जीवन डाँगी, रोल्पा