प्रदेश नं २ को निर्वाचन कांग्रेसको पक्षमा जाने दाबी
नेपाली कांग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अत्यधिक ठाउँमा विजय हासिल गरी पहिलो दल बन्ने दाबी गरेको छ ।
आगामी २ असोजमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका बारेमा जानकारी गराउन आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले कम्तीमा एक सय तहमा जित्ने दाबी गरेको छ । असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा स्थानीय निर्वाचन हुँदैछ ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले कांग्रेसले स्थापना कालदेखि अहिलेसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै प्रदेश नं २ को विजयको आधार भएको बताए ।
प्रदेश नं २ का सबै जिल्लाको प्रचारप्रसारमा सहभागी भएर फर्किएका संयोजक लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र आममतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमै कांग्रेस पहिलो हुने दाबी गरे ।
कांग्रेसले स्थानीयस्तरमा तीन स्थानीय तह (गौर, मिथिला र निजगढ नगरपालिका) मा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसँग चुनावी तालमेल गरेको छ ।
“असन्तुष्ट राजनीतिक दलहरुलाई समेट्न प्रदेश नं २ को चुनाव केही समय पर सार्दा हामीलाई चुनाव नगराउने आरोप लगाइयो,” नेता लेखकले भने, – “तर अलिकति लचिलो नीति लिँदा स्थानीय चुनावमा सबै सहभागी हुने वातावरण तयार भयो ।”
उनले तराई मधेशमा रहेको बाढी र डुबानको समस्या समाधानमा प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारत भ्रमणमा उल्लेख्य प्रगति भएको बताउँदै तराईको विकासका लागि पनि कांग्रेसको नेतृत्वमा थुप्रै काम भएको दाबी गरे ।