महिलाले पनि कपाल काट्न हुन्छ र?
गोपालप्रसाद पोखरेल
पुरुषले गर्दै आएको कपाल काट्ने पेशामा महिला सहभागीता पनि बढ्न थालेको छ । तिनै मध्येकी एक हुन, मोरङको उर्लाबारी मङ्गलबारे–१ की २३ वर्षीया हेमन्ता ठाकुर । उनले सैलुन खोलेर कपाल काट्ने व्यवसाय सुरु गरेकी छन् ।
उर्लाबारीस्थित आइतबारे चोकमा सैलुन व्यवसाय सञ्चालन गरिरहेकी हेमन्ता ठाकुर आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको बताउँछिन् । उनी भन्छिन्, “जीविको पार्जनका लागि यो पेसा सहज छ । सामाजिक काममा पनि सकेको दान गर्दै आएकी छु ।”
हेमन्ता भन्छिन्, “नराम्रा तर्क, वितर्क र खिसी गर्नेको मतलब नराखी निरन्तर अगाडि बढिरहेकी छु, धनीमानी र फुर्सदिलाहरुले छिः यस्तो के काम गरेको होला भन्दै जिस्काउँथे, खिस्सी गर्ने, होच्यिाउन खोज्थे । तर राम्रो कमाई भएको देखेपछि उनीहरुको बोली बन्द भएको छ । ”
हेमन्ताले कपाल, दाह्री काट्ने, अनुहार मसाज गर्ने, फेसवास गर्ने लगायतका सबै काम गर्ने गरेकी छन् । राम्रोसँग कपाल काट्ने रहेछ भनेर खुसी हुँदै तोकिएभन्दा बढी रुपैयाँ दिएर जानेहरु पनि छन् । “कतिपयले बहिनी पैसा फिर्ता दिनु पर्दैन, तर पेसालाई सानो नसम्झिनु” भन्दै निरन्तरता दिन सुझाब दिनेहरु पनि छन् ।
हेमन्ताको कमाईले घर खर्च चलेपछि श्रीमान्ले पठाएको ‘रेमिट्यान्स’ बचत भएको छ । आफूले महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको हेमन्ताको भनाइ छ ।रासस