कला/साहित्यबिहिवार, भाद्र २९, २०७४

बाढी पीडितको सहयोगार्थ अमेरिकामा कविता वाचन

हिमालखबर

अमेरिकामा रहेका नेपालीहरुले कविता वाचन गरी नेपालका बाढी पीडितका लागि सहयोग रकम संकलन गरेका छन् ।

अमेरिकाको वासिङटन डीसी र वरपर बसोबास गर्ने साहित्यिकारहरुले कविता प्रस्तुत गरेर तीन हजार डलर संकलन गरेका हुन् ।

संकलित रकमको ८० प्रतिशत नेपालका बाढी पीडितलाई सहयोग गर्न ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ मा जमा गरिने र बाँकी २० प्रतिशत हालै अमेरिकाको टेक्ससमा गएको सामुद्रिक आँधी ‘हार्भी’ पीडितहरुको सहयोगमा खर्च गरिने कार्यक्रमका संयोजक एवम् साहित्यकार गोपाल रेग्मीले जानकारी दिए ।

कविता वाचन र श्रवणका लागि स्थानीय रेष्टुराँले स्थान र दिवा भोजन उपलब्ध गराएको थियो ।

कविहरुले आफ्ना कविता वाचन गर्दै ईच्छा अनुसार सहयोग रकम दिएका थिए भने स्रोताहरुले आफूलाई मन परेको कविताको मूल्य कवोल गर्दै चन्दा दिएका थिए ।

यसरी कवि र स्रोताले दिएको सहयोग रकम २ हजार ८१३ डलर संकलन भएकोमा घर–ए–कबाब रेष्टुराँका लोकनाथ तिवारीले १८७ डलर प्रदान गरेपछि जम्मा रकम तीन हजार डलर पुगेको हो ।

कुनै संस्थाको ब्यानर बिना सहयोगी मनहरुले आयोजना गरेको कार्यक्रममा करिब ४० जनाको सहभागिता थियो ।

खादा ओढाउने र आसनग्रहण गराउने जस्ता परम्परागत प्रचलनबाट मुक्त कार्यक्रममा कवयित्री दुर्गा रिजाल, मन्जु निरौला, कल्पना सुवेदी, निता श्रेष्ठ, मन्जु सँग्रौला, कमला खरेल, सम्झना अर्याल, टुल्का देवी, सुमित्रा घिमिरे, सीता खरेल तथा कविहरु प्रेम सँग्रौला, बासु श्रेष्ठ, सुदिपभद्र खनाल, गोपाल रेग्मी, परशु तिम्सिना, शरद निरौला, गुणराज लुर्इँटेल, कोमल पोखरेल, प्रेम पौडेल, उज्जवल ठकुरी, लोकनाथ तिवारी, मोहन बस्ताकोटी, शालिग्राम अर्याल तथा लक्ष्मण सापकोटाले कविता वाचन गरेका थिए ।

कार्यक्रमको शुरुमा खेम सँग्रौला र मन्जु सँग्रौलाले गीत सुनाएका थिए ।

बासु श्रेष्ठ, अमेरिका

 

प्रतिकृया दिनुहोस