फेमिली तेल उत्पादन र विक्री वितरणमा रोक
बाराको जीतपुरमा रहेको शिवशक्ति घ्यू उद्योगको उत्पादन फेमिली तोरीको तेल उत्पादन र विक्री वितरणमा आपूर्ति व्यवस्था विभागले रोक लगाएको छ ।
उद्योगको उत्पादन फेमिली तोरीको तेलको नमूना जाँच गर्दा त्यसमा अखाद्य पदार्थ भेटिएपछि उद्योगलाई उत्पादन र विक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।
यसअघि उद्योगका अधिकारीहरुले अनुगमन टोलीसँग दुव्र्यवहार गर्नुका साथै उद्योगभित्र जानबाट रोक्ने प्रयास गरेका थिए ।
उद्योग राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद राजकुमार अग्रवाल र व्यवसायी सन्दिप कुमार काडियाको हो । अनुगमन टोलीले शिवशक्ति घ्यूमा पनि मिसावट भएको भन्ने बारे जानकारी पाएपनि उद्योगीहरुले अवरोध गरे पछि घ्यूको प्लान्टमा भने अनुगमन हुन सकेन ।
स्थानीय प्रशासनले पनि अनुगमन टोलीलाई असहयोग गरेको टोलीका एक सदस्यले बताएका छन् ।
“हामीले तेल उत्पादन र बिक्री रोक्न दिएको निर्देशन पत्र उद्योगीले लिन मान्नु भएन,” अनुगमन टोलीका मोहन पुडासैनीले भने “उहाँहरुले लिन नमानेपनि मौखिक निर्देशन दिएका छौं, उत्पादन र बिक्री भएमा कारवाही हुने छ ।”
जियालाल साह, वीरगञ्जबाट