नेपाल–चीन रेलमार्ग संसारकै कठिन भूबनोटमा पर्ने
नेपाल र चीनबीच जोडिने रेलमार्ग संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ ।
चीनको गन्सुबाट, ल्हासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौँमा रेलमार्ग जोड्न सैद्धान्तिकरुपमा दुवै देश तयार भएपछि हाल प्राविधिक अध्ययन जारी छ ।
सिगात्सेबाट काठमाडौँसम्म ७२४ किलोमिटर छ भने गन्सुबाट काठमाडौँ दुई हजार ४३१ किलोमिटरको रेलमार्ग दूरीमा पर्छ । सगरमाथाको उत्तरी मोहडाको करिब पाँच हजार मिटर उचाइमा पर्ने स्थानमा सुरुङ खनेर सो रेलमार्ग बनाइने छ ।
हालसम्म चीनको गोल्मडदेखि ल्हासासम्मको पाँच हजार ६७ मिटर उचाइको सबभन्दा बढी उचाइको रेलमार्ग मानिन्छ । यो सन् २००६ मा निर्माण भएको हो । त्यसपछि पेरु, बोलिभिया र संयुक्त राज्य अमेरिकामा क्रमशः माथिल्लो उचाइमा रेलमार्ग निर्माण भएका छन् ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको हालैको चीन भ्रमणका क्रममा चीनका उच्च अधिकारीहरुले नेपाल चीनबीच हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने छोटो दूरीको रेलमार्ग हुने जानकारी गराएका हुन् । भ्रमणका अवसरमा भएको उच्चस्तरीय भेटवार्तामा नेपाल र चीनबीच सीमा वारपार रेललाइन निर्माणसम्बन्धी प्राविधिक कार्यलाई शीघ्र अघि बढाउन दुवै पक्ष सहमत भएका छन् ।
चीनको बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत उक्त रेलमार्ग बन्न लागेको हो । उपप्रधानमन्त्री महराले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाको रुपमा अन्तरदेशीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य शीघ्र अघि बढाउन अनुरोध गर्दै रेलमार्ग निर्माणमा नेपालका प्रमुख दलका शीर्ष नेताबीच मतैक्यता भएको चिनियाँ अधिकारीलाई अवगत गराएका थिए ।
चीनका प्रधानमन्त्री ली खस्याङले उक्त रेलमार्ग प्राविधिकरुपमा कठिन र चुनौतीपूर्ण मध्येको भएको जनाएपछि उपप्रधानमन्त्री महराले यस्ता कठिन रेलमार्ग निर्माणको काम चीनले नै गर्न सक्ने प्रतिक्रिया दिएको भेटवार्तामा सहभागी महराका जनसम्पर्क तथा सञ्चार संयोजक हरि लामिछानेले बताए ।
चीनले सन् २०२० सम्म नेपालको सीमासम्म उक्त रेलमार्ग जोड्ने लक्ष्य लिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच रेलमार्गसहित यातायात र पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो ।
प्रकाश सिलवाल, रासस