डीआईजी नवराज सिलवालको रिट खारेज
सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन माग गरी दायर गरेको रिट खारेज गरेको छ ।
२७ भदौमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले रिट खारेजीको फैसला गरेको हो ।
कार्य सम्पादन मूल्याङ्कनमा तत्कालिन डीआईजी प्रकाश अर्याल नै अगाडी रहेको उल्लेख गर्दै सर्वोच्चले डीआईजी सिलवालको रिट खारेज गरेको हो । फैसलामा अर्यालको कार्य सम्पादन मूल्याङ्कन नं. ५४.२०० र सिलवालको ५२.४६७ रहेको उल्लेख गरिएको छ ।
सरकारले तत्कालिन डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय गरेपछि सिलवाल सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले सरकारको निर्णय खारेज गरी कार्य सम्पादन, मूल्याङ्कन र वरिष्ठताका आधारमा आईजीपी बनाउन आदेश दिएको थियो ।
त्यसपछि सरकारले गत २८ चैतमा प्रकाश अर्याललाई आईजीपी बनाएको थियो । त्यसका विरुद्ध पनि सिलवाल सर्वोच्च पुगेका थिए ।