प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सार्वजनिक
निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेकोे छ ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले १० र २१ मंसिर बिहान ७ देखि ५ जेसम्म मतदानको समय निर्धारण गरेको छ ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीका लागि २४ भदौदेखि र पहिलो हुने निर्वाचित प्रणालीको पहिलो चरणका लागि ५ देखि ८ कात्तिकसम्म र दोस्रो चरणको निर्वाचनका लागि १६ देखि १९ कात्तिकसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले २७ भदौसम्म आयोगमा निवेदन पेश गर्ने, २८ भदौमा निर्वाचनमा भाग लिन निवेदन पेस गरेका दलको नामावली प्रकाशित गर्ने, २९ भदौमा प्रकाशित सूचीमा नाम रहेका राजनीतिक दलले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिने तथा निर्वाचनमा भाग लिने राजनीतिक दलको अन्तिम नामावली ३० भदौमा प्रकाशित गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
यसैगरी राजनीतिक दलहरुले उम्मेदवारको बन्द सूची २९ असोजसम्म पेश गर्नुपर्ने गरी आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो ।
३० असोजमा उम्मेदवारको बन्दसूची सच्याउन राजनीतिक दललाई सूचित गर्ने, ६ कात्तिकमा राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्ने, १३ कातिकमा उम्मेदवारको बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा फिर्ता निवेदन दिने, १४ कात्तिकमा उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारको नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई दिने गरी निर्वाचन आयोगले समानुपातिक तर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
त्यस्तै, उम्मेदवारले नाम फिर्ता लिएका कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली आयोगमा पेश गर्न १४ कात्तिकको समय प्रदान गरिएको छ भने उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने मिति १७ कात्तिकका लागि तोकिएको छ । त्यस्तै, उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिने १८ कात्तिक रहेको छ ।
उम्मेदवारको बन्द सूचीमा समावेश उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन उपर जाँचबुझ र निर्णय गर्ने २५ कात्तिक छ भने उम्मेदवारको बन्द सूचीबाट उम्मेदवारको नाम हटेको सूचना २ मंसिरमा प्रकाशित हुनेछ । उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने मिति ३ मंसिर तोकिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणमा १० मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता ५ कातिकका लागि तोकिएको भने उम्मेदवारलाई निर्वाचन चिह्न ८ कात्तिकमा प्रदान गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
यसैगरी, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत दोस्रो चरणमा २१ मंसिरमा हुने निर्वाचनका लागि १६ कात्तिकमा उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा १९ कातिकमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । रासस