निर्वाचनका लागि प्रदेश-२ मा पाँच दिन बिदा
सरकारले प्रदेश-२ मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लामा पाँच दिन सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को २६ भदौमा बसेको बैठकले २ असोजमा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि ३० भदौदेखि ३ असोजसम्म बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए ।
बैठकले भूकम्पपछिको पुनःनिर्माणका लागि दाताहरुको संयुक्त कोषमार्फत विश्व बैंकले दिने रु.एक अर्ब पाँच करोड अनुदान सहयोग स्वीकार गर्ने र राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने पनि निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री बस्नेतले बताए ।
विदेशमा रहेका नेपाली नागरिकका नेपाली नागरिकता लिई नसकेका सन्ततिलाई बढीमा चार वर्षका लागि नेपाली राहदानी जारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यसमितिका अध्यक्षमा नरेन्द्रराज बस्नेत र प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेको छ ।
बैठकले संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा जाने भ्रमण दललाई स्वीकृत गरेको छ । रासस