कला/साहित्यसोमवार, भाद्र २६, २०७४

उपराष्ट्रपतिद्वारा संगीतकार थापाका चार पुस्तक विमोचन

हिमालखबर

उपराष्ट्रपति नन्दबहादुर पुनले संगीतकार हस्तबहादुर थापाका संगीत विषयका चार पुस्तक सार्वजनिक गरेका छन् ।

२६ भदौमा उपराष्ट्रपति पुनले ८६ वर्षीय लेखक थापाका ‘आधारभूत स्टाफ नोटेशन तथा नेपाली पर्व, संस्कार र सांस्कृतिक धुनहरु’, ‘प्राथमिक सुर समता मार्ग भाग–१, २ र ३’ को विमोचन गरेका हुन ।

पुस्तक विमोचन गर्दै उपराष्ट्रपति पुनले नेपाली संगीतका विद्यार्थीका लागि लेखक थापाले अमूल्य पुस्तकहरु लेखेको बताए । लेखक थापा र उनका कृतिहरुको प्रशंसा गर्दै उपराष्ट्रपति पुनले भने, “यी पुस्तकहरु संगीत क्षेत्रमा लागको जो कोहीलाई पनि उपयोगी हुनेछन् ।”

पुस्तकका विषयमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले थापाका पुस्तक नेपाली संगीत क्षेत्रका लागि उपहार भएको बताए । लेख थापाले लेख्न अबका संगीतसम्बन्धी पुस्तक प्रतिष्ठान प्रकाशन गर्न तयार रहेको बताए ।

पुस्तकमाथि संगीतज्ञ द्वय दीपक जङ्गम र सुकबहादुर स्वनामले समिक्षात्मक टिप्पणी गरेका थिए । उनीहरुले संगीतका विद्यार्थीका लािग अत्यावश्यक सामग्री उपलब्ध भएको बताए ।

आफूले लामो समय संगीत क्षेत्रमा क्रियाशिल रहदा सिकेको कुरालाई पुस्तकका रुपमा लिपिबद्ध गरेको लेखक थापाले बताए । “विशेष गरेर डायटोनिक स्टाफ नोटेशनमा संगीत अभ्यास गर्न चाहनेहरुलाई यसले ठूलो मद्दत गर्नेछ” ८६ वर्षीय लेखक थापाले भने, “नेपाली मौलिक सांस्कृतिक एवं संस्कारगत धुनहरुलाई पनि लिपिबद्ध गरेको छु, यसले संस्कारिक कार्यहरुको लागि पनि उपयोगी हुनेछ ।”

२८ वर्ष बेलायती सेनाको ब्रिटिस गोर्खा ब्याण्डमा विताएका थापाले २०३४ देखि नेपाल प्रहरीमा संगीत प्रशिक्षकका रुपमा प्रवेश गरेका थिए । २०५४ मा नेपाल प्रहरीको उपरीक्षकबाट अवकास लिएपछि सशस्त्र प्रहरीमा संगीत प्रशिक्षकका रुपमा काम गरेका थिए । सशस्त्र प्रहरीमा उनकै नेतृत्वमा संगीत ब्याण्ड स्थापना भएको हो ।

प्रतिकृया दिनुहोस