कला मेलामा १२ लाखसम्मका चित्र
६ वर्षदेखि अनलाइनमार्फत चित्रकला बिक्री गरिरहेको इ–आर्टस् नेपालले आयोजना गरेको दशैं–तिहार लक्षित हिमालयन आर्ट फेस्टिभल २२ भदौबाट बबरमहलस्थित नेपाल कला परिषद्मा शुरु भएको छ । फेस्टिभलमा समकालीन विषयवस्तुमा तयार पारिएका १५० कलाकृति राखिएका छन्; जसमा चित्रकला, मूर्तिकला, प्रतिस्थापन कला, प्रिन्ट मेकिङ, मिक्स मिडिया, फोटोग्राफी छन् ।
फेस्टिभलमा उत्तम नेपाली, शशि शाह, कृष्ण मानन्धर, वत्स गोपाल वैद्य, मदन चित्रकार, शंकरराज सिंह सुवाल, गोविन्दलाल सिंह डंगोल, वीरेन्द्रप्रताप सिंह, राधेश्याम मुल्मी, किरण मानन्धर, शशिकला तिवारी, नवीन्द्रमान राजभण्डारी, रागिनी उपाध्यायलगायत पुराना र नयाँ ५० कलाकारका कला नियाल्न सकिन्छ । सबै कलाकारका बढीमा दुई वटा कला राखिएका छन् ।
फेस्टिभल संयोजक चित्रकार आशा डंगोल दशैं–तिहार जस्ता चाडलाई कला उत्सवका रुपमा पनि मनाउन र कलाकृति किन्ने बानी बसाल्ने उद्देश्यका साथ फेस्टिभल आयोजना गरिएको बताउँछिन् । “चाडपर्वको समयमा अन्य उत्पादनको बिक्रीका लागि मेला आयोजना गरिन्छ”, उनी भन्छिन्, “कलाको पनि किन नगर्ने भनेर फेस्टिभल गरिएको हो ।”
रु.२० हजारदेखि रु.१२ लाखसम्मका कला राखिएको फेस्टिभलमा न्यूनतम रु.८ हजार माथिका सेरामिक्स पनि छन् । फेस्टिभल २६ भदौसम्म चल्नेछ ।