२७ भदौदेखि टिकट बुकिङ खुल्ने
दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही २७ भदौदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा यस्तो सहमति जुटेको हो ।
बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने स्पष्ट अडान राखेको उनका प्रेस संयोजक रमेश जोशीले बताए ।
लामो दूरीमा यात्रा गर्ने यात्रुको सामान छतमा राख्न दिएपनि खसी, बोकालगायत यात्रु छतमा राखे ट्राफिक प्रहरीले कारबाही गर्ने सहमतिसमेत भएको छ ।
बैठकमा राज्यमन्त्री सीता गुरुङ, विभागका महानिर्देशक रुपनारायण भट्टराई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष दोलनाथ खनाल र महासचिव सरोज सिटौला सहभागी थिए ।
सहमतिको अनुमगन गर्न विभागका महानिर्देशक भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । रासस