बगालेको ‘देशदृष्टि’ सार्वजनिक
बसोवास पद्धति, निर्माण संस्कृति र सम्पदा संरक्षण लगायतका विविध विषय समावेश भएको मिलन बगाललेको पुस्तक ‘देशदृष्टि’ सार्वजनिक गरिएको छ ।
२४ भदौमा प्रा.डा.मोहनमूर्ति पन्त र लेखक अमर न्यौपानेले बगालेको पुस्तक ‘देशदृष्टि’ सार्वजनिक गरेका हुन ।
पुस्तक सार्वजनिक गर्दै लेखक न्यौपानलेले ‘देशदृष्टि’ अध्ययन्, अनुसन्धान र साहित्यको कोलाज भएको बताए । साहित्य र अनुसन्धानको मिश्रण रहेको पुस्तक आम पाठकका लागि रुचिपूर्ण र नीति निर्माताले पनी पढ्न जरुरी रहेको न्यौपानेको भनाई छ ।
ग्रामिण विकासमा त्रिविबाट ‘गोल्डमेडलिष्ट’ बगाले पेशाले आर्किटेक्ट हुन् ।
उनलाई आर्किटेक्ट पढाएका प्रा.डा. पन्तले बसोवास पद्धति, घर निर्माण तथा ग्रामीण विकासका बारे लेखिएको यो पुस्तक सबै प्रकारका पाठकले रुचाउने बताए । उनले भने, ‘मिलनले निर्माणजस्तो निरस विषयलाई पनि रोचक र साहित्यिक बनाइदिएका छन् ।”
पुस्तकमा संग्रहित अधिकांश रचनाहरु हिमाल खबरपत्रिकामा २०७० सालदेखि २०७३ सालसम्म प्रकाशित लेखहरु हुन् । थप अध्ययन तथा अनुसन्धानबाट तिनै लेखहरुलाई परिमार्जन र परिस्कृत गरिएको लेखक बगालेले बताए ।
पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।