कला/साहित्यशनिवार, भाद्र २४, २०७४

हुम्लाः जर्नी इन्टु दि हिडन सांग्रिला

हिमालखबर

नेपालगन्जबाट हवाई मार्ग भएर हुम्ला सदरमुकाम सिमकोट पुगेपछि लिमी उपत्यका जाने स्थलबाटो जोडिन्छ। पैदल यात्राबाट उत्तर–पश्चिम लागे पहिलो दिन धारापुरी र दोस्रो दिन ओखरथला (केर्मी) पुुगिन्छ। उत्तरैउत्तर अर्को दुई दिन हिंडेपछि बल्ल टालुङ टेकिन्छ।

जंगली गधा । तस्वीरः नरेश कुसी

त्यहींबाट शुरु हुन्छ, मुलुककै अति दुर्गममध्येको लिमी उपत्यका। टालुङबाट फेरि एक दिनको उत्तर लागेपछि बाटो पश्चिमतर्फ मोडिन्छ। नाम्कासम्म फैलिएको लिमीका तीन गाउँ छिचोल्न दुई दिन पैदल हिंड्नुपर्छ।

मध्यपश्चिम विकास क्षेत्र, कर्णाली अञ्चलको उत्तर पश्चिमको विकट हिमाली जिल्ला हुम्लाको पनि 'सांग्रिला' मानिन्छ–लिमी। यो उपत्यका समुद्री सतहभन्दा ३७०० देखि ४१०० मिटरसम्मको उँचाइमा छ। गुम्बा परम्परा कायम रहेको लिमीमा कुल १८१ घरधुरीमा ९०४ जनाको बसोबास छ(राष्ट्रिय जनगणना २०६८)।

अति उँचाइका कारण मानिस बस्न नसक्ने ठाउँमा जंगली याक, जंगली गधा, नायन, घोवाजस्ता दुर्लभ वन्यजन्तु चरिचरण गर्छन।

सरकारले सन् २००२ देखि मात्र विदेशी पदयात्रीका लागि खुला गरेको लिमी उपत्यकामा अहिले पनि कमै पर्यटक पुग्छन्। तर, तिब्बती बौद्ध संस्कृतिको मौलिक परम्परा अध्ययन गर्न यो बस्तीलाई बाँकी हिमाली क्षेत्रहरूको तुलनामा उपयुक्त र पवित्र मानिन्छ।

नेपालमा पहिलो पटक देखिएको कमन रेडशांकको बचेरो । तस्वीरः नरेश कुसी

त्यति मात्र होइन, यो उपत्यका जैविक विविधताका दृष्टिले पनि खास मानिन्छ। वन्यजन्तुविद् नरेश कुसी र जेराल्डिन वेरहानको तस्वीर–पुस्तक हुम्लाः जर्नी इन्टु दि हिडन सांग्रिला (पिपल–कल्चर–ल्याण्डस्केप–वाइल्डलाइफ) त्यसैको प्रमाण हो।

सन् २०१५ मा फ्रान्सबाट प्रकाशित म्यामेलिया जर्नलमा लिमी उपत्यकाको उत्तरतर्फ जंगली याक पाइएको लेख छापियो। यो याक नेपालबाट लोप भइसकेको ठानिएको थियो। लेखका ६ जना लेखकमध्ये कुसी र वेरहान सन् २०१४/१५ मा लिमी पुगेका थिए। त्यही क्रममा लिमी र उत्तर तिब्बती सीमासम्म पुगेका दुईले लिमीवासी, संस्कृति, भूपरिदृश्य र वन्यजन्तु पनि अध्ययन गरे।

स्तनधारी
लिमी उपत्यका उत्तरतर्फ जंगली गधाको ठूलो बथान भेटिन्छ। अंग्रेजीमा कियाङ्ग भनिने यो गधाको वैज्ञानिक नाम भने एक्कस् कियाङ्ग हो।

उच्च हिमाली भेगमा मात्र पाइने जंगली गधा पाल्तु गधाभन्दा ठूलो, हल्का खैरो र खुट्टादेखि नाक केही माथिसम्म हल्का सेतो हुन्छ। पुस्तकमा घ्याउ खोला नजिक चरिरहेका र लस्करै दौडिरहेका जंगली गधाका सुन्दर तस्वीर देखिन्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागद्वारा प्रकाशित 'द स्टेट्स अफ नेपाल्स म्यामल्स् : द नेशनल रेड लिष्ट सेरिज, सन् २०११' ले जंगली गधा मुस्ताङमा मात्र पाइने र यसको संख्या सयभन्दा कम भएको जनाएको छ। तर, लिमी पुगेका पुस्तकका लेखकद्वय ६०० जति जंगली गधा देखेको दाबी गर्छन्। 

गुराँस (रोडोडेन्डन निभाले) । तस्वीर: जेराल्डिन वेरहान

टिबेटेन गजेल अर्थात् घोवाका सन्दर्भमा पनि पुस्तकले नयाँ तर्क गरेको छ। सन् १८४६ मै बेलायती रेजिडेन्ट ब्रायन हड्सनले 'डिस्क्राइब' गरेको गजेल पिक्टीकाउडाटा पनि मुस्ताङमा मात्र पाइने बताइँदै आएको थियो। तर, ६० सेमी उँचाइ र १२० सेमी लम्बाइ भएको यो प्राणी हुम्लामा पनि भेटियो।

जंगली भेडाको सबैभन्दा ठूलो प्रजाति नायन अर्थात् अर्गाली हो। यो प्राणी पनि मुस्ताङ अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्र पाइने जानकारी पाइन्छ। तर, अहिले भने हुम्लाको च्याक्पालुङमा पनि पाइयो। पुस्तकमा नाउर, कस्तूरी मृगसँगै ३२ प्रजातिमध्ये १९ प्रजातिको शरीर नै देखेको र बाँकीको भने दिसा, भुत्ला, काँडा (दुम्सी) पाइएको उल्लेख गरिएको छ। नेपालमा लोप भइसकेको भनिएको जंगली याकको पहिलो तस्वीर छापिएको पुस्तक नै यही बन्न पुगेको छ।

पन्छी
पुस्तकका अनुसार, लिमी उपत्यका र आसपासमा १३२ प्रजातिका चरा पाइन्छन्। रोचक पक्ष के छ भने यसअघि नेपालमै नपाइएको टिबेटन लार्क भनिने सानो चरोको चित्र पनि पुस्तकमा समावेश छ। चीन, भारत र पाकिस्तानमा समुद्री सतहबाट ३२०० देखि ४६०० मिटर उँचाइसम्म पाइने भनिएको यो चरा उत्तरी हुम्लाको ४८०० देखि ४९५० मिटर उँचाइमा पाइयो। एउटा होइन, करीब ३० वटाको बथान नै देखियो।

हड्सनले १८४४ मै कमन रेडशांक भनिने पानीमा बस्ने चरा पनि नेपालमा पाइने उल्लेख गरेका थिए। संसारभरजसो पाइने यो चराले नेपालमै बच्चा कोरलेको चाहिं देखिएको थिएन। कुसी र वेरहानले समुद्री सतहबाट ५ हजार मिटरको उँचाइमा पाँच जोडी कमन रेडशांक र दुई वटा बचेरा क्यामेरामा कैद गर्न सफल भए।

नेपालबाट देखिएको मानसरोवर र कैलाश पर्वतः तस्वीरः जेराल्डिन वेरहान

नेपालमा १० पटकभन्दा कम देखिएका ७४ प्रजातिका चरालाई भ्याग्रेन्ट सूचीमा समावेश गरिएको छ। सारस समूहको ब्ल्याक–नेक्ड क्रेन चरालाई पनि भ्याग्रेन्ट नै मान्नुपर्छ भन्ने चराविद्हरूको तर्क छ। तर, हुम्लामा यो चरा ६ महीनाभन्दा बढी देखिने स्थानीयको भनाइ छ। यसैगरी ध्वाँसे चिबेचरी, मझौले सेतो बकुल्ला, कोइली (कमन कुक्कू), मलाहा हुचिल (ब्राउन फिस अवल), वायु फ्याल–फ्याले (कमन टर्न), लेसर स्यान्ड प्लोवर चराहरू अहिलेसम्म थाहा पाइएको भन्दा लिमीको उच्च भू–भागमा पाइएको पुस्तकमा उल्लेख छ।

वनस्पति
बेलायतका ओलेग भि पोलुनिन, विलियम आर साइक्स् र एलएचजे विलियम्स् १९५२ तिरै वनस्पति संकलन गर्न हुम्ला, जुम्ला र डोल्पा पुगेका थिए। वरिष्ठ वनस्पतिविद् केशवराज राजभण्डारीका अनुसार, त्यसबेला संकलित करीब १७ हजार वनस्पतिका नमूना अहिले पनि लण्डनको ब्रिटिश म्युजियममा छन्।

संकलित वनस्पतिका नमूनामध्ये मेकोनोप्सिस् सिमकोटेन्सिस् सिमकोट पूर्व ४ हजार २७० मिटर उँचाइमा रहेको दोजाम खोला किनारबाट संकलन गरिएको थियो भने र्‍यानन्कुलस् लङ्गीकाउलीज् नामकरण गरिएको अर्को वनस्पति सिमकोट नजिकै फेला परेको थियो।

कुसी र वेरहानले वनस्पति संकलन गरेनन् तर तस्वीरहरू भने खिचे। र, ती तस्वीर चिन्न बेलायतको रोयल बोटानिकल गार्डेन इडिनबर्गमा कार्यरत वनस्पतिविद् भाष्कर अधिकारी, मार्क वाट्सन, कोलिन पेन्ड्रीलाई पठाए। पुस्तकमा यस्ता तीन दर्जनभन्दा बढी उच्च हिमाली भेगमा पाइने वनस्पतिका तस्वीर राखिएको छ।

तर, एक दर्जन बढीको नाम भने पूरा छैन। जस्तो कि, झण्डै सूर्यमूखी फूलजस्तो देखिने क्रेमान्थोडियम् स्पेसिस् लेखिएको छ। तर, नेपालमा क्रेमान्थोडियम् जिनसमा १४ भन्दा बढी प्रजाति पाइन्छन्।

पश्चिमी तिब्बती भाषा बोल्ने लिमीवासीमा बहुपति प्रथा अझै भेटिन्छ। ८३ वटा तस्वीरको यो पुस्तकले लिमीका थुप्रै पक्षलाई पनि नियाल्ने प्रयत्न गरेको छ। समग्रमा बाँकी संसारका लागि अपरिचित लिमी उपत्यकाको विविधता उजागर गर्न पुस्तक स्वयंमा महत्वपूर्ण दस्तावेज बनेको छ। पुस्तक बिक्रीबाट उठेको रकमलाई लिमी उपत्यकाको वन्यजन्तु संरक्षणमा खर्चने लेखकद्वयको योजना पनि कम प्रशंसनीय छैन।

 

कमल मादेन

प्रतिकृया दिनुहोस