कांग्रेसको ध्यान सत्ता र पैसामा: नेता डा. महत
नेपाली कांग्रेसका नेता डा रामशरण महतले पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिँदा नेपाली कांग्रेस पछाडि परेको बताएका छन् ।
आज नेपाली कांग्रेस मध्यपुर थिमिनगर कार्यसमितिले आयोजना गरेको बिपी कोइरालाको १०४ औं जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा नेता महतले स्थानीय निकायका पदाधिकारीले समेत भत्ता, सेवा र सुविधामा मात्रै ध्यान दिने गरेको पाइएको भन्दै विकास बजेटसमेत त्यसैमा सिद्धिने चिन्ता व्यक्त गरे ।
उनले बिपी र गणेशमानले सत्ता र पदलाई त्यागेर पार्टीलाई शिरोपर गरेजस्तै नेता, कार्यकर्ता अगाडि बढ्नुपर्ने चर्चा गरे ।
कार्यक्रममा कांग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले पार्टीभित्रको अन्तर कलहलाई अन्त्य गरेर स्थानीय तहको समीक्षा गर्दै चुनावमा गए आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दाबी गरे ।
रासस