रिपोर्टशुक्रवार, भाद्र २३, २०७४

प्लास्टिकबाट इन्धन

बच्चु विक

प्लास्टिक टु फ्यूल (पीटीएफ) प्रविधि भित्र्याएर प्लास्टिकजन्य फोहोरबाट उत्पादित इन्धनको प्रयोगसमेत गरिसकेको नास्ट अहिले सरकारी तथा निजी लगानीकर्ताको खोजीमा छ।

७ भदौ, २०७१। वागमती सफाइ अभियान चलिरहेको थियो। त्यही क्रममा वागमती किनारमा अभियानका अगुवा तत्कालीन मुख्यसचिव लीलामणि पौड्याल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ विज्ञान तथा प्रविधि विज्ञ डा. रवीन्द्रप्रसाद ढकालको भेट भयो।

“वागमतीबाट प्लास्टिक झिक्यो, किनारमा राख्यो। यो प्लास्टिक त फेरि नदीमा आइहाल्छ, यसरी वागमती कसरी सफा होला?”

वैज्ञानिक ढकालको यस्तो प्रश्नले पौड्याल एकाएक झस्किए। किनभने, जवाफ उनीसँग थिएन। “मैले जानेको काम यही हो। बाँकी तपाईं जस्ता वैज्ञानिकले सोच्ने हो। भन्नुस् के गर्न सकिन्छ?” पौड्यालले भने।

ढकालले प्लास्टिक व्यवस्थापनका लागि पेट्रोलियम पदार्थ बनाउन सकिने सुझाए। र, यसका लागि रु.१ करोड जति लाग्ने पनि सुनाए।

सुनेर एकाएक उत्साहित मुख्य सचिवले भने, “लौ त्यसो भए आजैबाट काम शुरू गर्नुस्। एउटा प्रस्ताव पठाइहाल्नुस्।”

नास्टमा अहिले सञ्चालित प्लास्टिक टु फ्यूल (पीटीएफ) प्रविधि यसैको प्रतिफल हो। “जापान र चीनको सहयोगमा प्रविधि भित्र्याएर उत्पादन, परीक्षण र प्रयोग समेत गरिसकेका छौं”, उनै वैज्ञानिक डा. ढकाल भन्छन्।

पीटीएफ प्रविधि
अहिले यूरोप र एशियामा प्रचलनमा रहेको प्लास्टिकबाट इन्धन (प्लास्टिक टु फ्यूल–पीटीएफ) प्रविधि सन् २००० तिर विकास भएको हो।

यसलाई जापानी वैज्ञानिक अकिनोरी इतोले सन् २०१३ मा घरेलु प्रयोगमा सहज बनाएका थिए।

“अहिले सजिलो भएको छ, थोरै परिमाणमा भए पनि पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने प्लान्ट बनेका छन्”, आठ वर्ष जापानमै जैविक इन्धनसम्बन्धी अध्ययन गरेर फर्केका वैज्ञानिक ढकाल भन्छन्।

पीटीएफ प्रविधिमा फोहोरको रूपमा आएको प्लास्टिकलाई पुनःप्रयोग गर्न सकिने र नसकिने गरी छुट्याइन्छ।

पुनःप्रयोगमा नआउने प्लास्टिकलाई सफा गरेर भाँडो (च्याम्बर) मा राखिन्छ। 'डिपोलिमराइजेसन' र 'पाइरोलाइसिस' विधि अपनाएर ४४० डिग्री सेल्सियस तापक्रममा तताइन्छ।

पृथ्वीको गर्भमा जुन अवस्थामा खनिज पदार्थहरू पग्लेर पेट्रोलियम पदार्थ बन्छन्, त्यही अवस्था च्याम्बरमा सृजना गरिन्छ।

प्लास्टिकबाट ग्याँस बनेपछि अर्को च्याम्बरमा पठाइन्छ। जहाँ शीतल (कन्डेन्सेसन) विधिमार्फत ग्याँस तरलमा परिणत हुन्छ।

“अब यो फर्निस आयल बन्छ” नास्टमा यो प्रविधिको परीक्षण गर्ने टोलीको नेतृत्व गरेका ढकाल भन्छन्, “फर्निस आयललाई डिस्टिलेशन गरेर पेट्रोल, डिजल र मट्टीतेलका रूपमा छुट्याउन पनि सकिन्छ।”

 नास्टका अनुसार, यो विधिबाट अहिले नेपालमा प्रति वर्ष खपत हुने करीब ११ लाख किलोलिटर इन्धनको १० प्रतिशत फोहोरका रूपमा फालिने प्लास्टिकबाट उत्पादन गर्न सकिन्छ।

नेपालको आवश्यकता
फोहोर व्यवस्थापनका लागि सकभर प्लास्टिकको प्रयोग घटाउने (रिड्यूस), पुनःप्रयोग (रि–यूज), पुनःउत्पादन (रिसाइकल) र नवीकरण (रिन्यू) गर्ने कुरामा जोड दिइन्छ।

सरकारले १ वैशाख, २०७२ देखि पोलिथिन झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भनी गरेको घोषणा प्रभावकारी रूपमा कार्यान्वयन हुनसकेको छैन।

पोलिथिनसँगै अन्य प्रकारका प्लास्टिकको प्रयोग न घटाउन सकिएको छ न त पुनःप्रयोग, पुनःउत्पादन तथा नवीकरण नै गर्न सकिएको छ। जसका कारण प्लास्टिकबाट हुने फोहोरको मात्रा बढेको अध्ययनहरूले देखाएका छन्।

काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकामा दैनिक ७९२ टन फोहोर उत्पादन हुन्छ, जसलाई घर–घरबाट उठाएर टेकूमा जम्मा गर्न वार्षिक रु.५० करोड खर्च हुन्छ।

त्यसपछि नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटमा फालिन्छ। नास्टले सिसडोल ल्याण्डफिल साइटमा फोहोरसम्बन्धी गरेको अध्ययन अनुसार, अब दुई वर्षसम्म मात्रै ल्याण्डफिल साइटमा फोहोर फाल्न सकिनेछ।

२०६२ सालमा २३ वर्षका लागि भाडामा लिइएको सिसडोल ल्याण्डफिल साइट १४ वर्षमै भरिन लाग्नुमा नसड्ने प्लास्टिकलाई नै कारक मानिएको छ।

नास्टका अनुसार, तौलका आधारमा काठमाडौं उपत्यकाको फोहोरमा ५१ प्रतिशत प्लास्टिक नै पाइएको छ।

संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रमको अध्ययन अनुसार विश्वमा प्रतिव्यक्ति प्रतिदिन ०.३१७ किलोग्रामका दरले फोहोर उत्पादन हुन्छ। जसमा १२ प्रतिशत प्लास्टिक हुन्छ।

यो भनेको काठमाडौंमा उत्पादन हुने प्लास्टिकजन्य फोहोरको तुलनामा निकै कम हो। तर यदि यही दरमा हिसाब निकाल्ने हो भने पनि काठमाडौं उपत्यकाको २५ लाखभन्दा बढी जनसंख्याबाट करीब ९५ टन प्लास्टिकजन्य फोहोर उत्पादन हुन्छ।

नास्टका अनुसार देशका शहरी क्षेत्रमा दैनिक उत्पादन हुने फोहोरमा ४१३ टन प्लास्टिक पाइएको छ। जसमध्ये काठमाडौं ६६ टन, ललितपुरमा १७ टन र भक्तपुरमा ११ टन प्लास्टिकजन्य फोहोर भेटिएको छ।

अहिलेसम्म प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि पोल्ने, टुक्र्याउने र खाल्डोमा हाल्ने विधि अपनाइने गरेको छ। तर, प्लास्टिक जलाएर व्यवस्थापन गर्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ, यसबाट निस्कने ग्याँसले छाला चिलाउने, पोल्ने, आँखा दुख्नेलगायतका समस्या ल्याउने गरेको छ।

प्लास्टिकलाई टुक्र्याउने प्रविधि महङ्गो भएकै कारण नेपालमा प्रयोगमा ल्याइएको छैन। प्लास्टिकलाई खाल्डोमा हाल्ने विधि नै सबैभन्दा सहज देखिए पनि त्यसमा श्रम र ठाउँ अभावले अहिले पनि पिरोलिरहेको छ।

यस्तो बेला पीटीएफ प्रविधि देशका लागि उपयुक्त भएको बताउँदै वैज्ञानिक ढकाल भन्छन्, “पीटीएफ प्रविधिबाट प्लास्टिकजन्य फोहोर व्यवस्थापन गरिए पेट्रोलियम पदार्थको आपूर्तिमा पनि सहयोग पुग्नेछ”, उनी भन्छन्।

प्रयोग मात्र होइन
वागमती सफाइ अभियानका क्रममा तत्कालीन मुख्यसचिव पौड्यालको उत्प्रेरणाले उत्साहित नास्टको जैविक ऊर्जा शाखाले पीटीएफ प्रविधि भित्र्याउन त्यतिबेलै काम थालेको थियो।

एक वर्षजतिको सफल परीक्षणपछि २०७२ मा चीनबाट १० केजीसम्मको प्लास्टिक एकैपटक प्रशोधन गर्ने क्षमताको प्लान्ट ल्याइयो।

“प्लास्टिकबाट तेलको उत्पादन, गुणस्तर परीक्षण र प्रयोग सबै गरिसकेका छौं”, नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेल भन्छन्।

नास्टको परीक्षणमा प्लास्टिकको प्रकृति हेरेर २० प्रतिशतदेखि शतप्रतिशतसम्म पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिन्छ। जस्तो एक केजी मिनरल वाटरको बोतलमा २०० मिलिलिटर र स्याउलगायत फलफूल छोप्न प्रयोग हुने पोलिस्टाइरिनको जालीमा एक केजी प्लास्टिकबाट एक लिटर पेट्रोलियम पदार्थ निस्कन्छ।

तर, २३ साउन, २०७२ मा मुख्यसचिव पौड्यालले अवकाशसँगै पीटीएफ प्रविधिले पनि प्राथमिकता पाउन छोड्यो। विज्ञान तथा प्रविधि मन्त्रालय पनि खासै सकारात्मक देखिएन।

जसका कारण, काठमाडौं उपत्यकाभित्र २०७३ मा कम्तीमा एउटै मात्र भए पनि प्लान्ट जडान गर्ने नास्टको योजना सफल हुन सकेन।

“अहिले भने विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग छलफल चलाइरहेका छौं” वैज्ञानिक ढकाल भन्छन्, “यो वर्ष केही हुन्छ भन्नेमा आशावादी छौं।”

के प्लास्टिकबाट व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिन्छ? नास्टका वैज्ञानिकका भनाइ पत्याउने हो भने त उत्पादन मात्र होइन, नाफा पनि कमाउन सकिन्छ।

रु.१ करोडको लगानीमा प्लान्ट र आवश्यक प्रविधि स्थापना गरेर फर्निस तेल निकाल्न सकिन्छ। फर्निस तेल बेचेरै मात्र पनि घाटा हुँदैन।

रु.२ करोड लगानीमा पेट्रोल, डिजल र मट्टीतेल छुट्टाछुट्टै उत्पादन गर्ने प्लान्ट समेत ल्याउन सकिन्छ।

“प्रतिदिन कम्तीमा पाँच टन प्लास्टिकबाट तेल उत्पादन गर्ने हो भने सजिलै नाफा कमाउन सकिन्छ”, ढकाल भन्छन्।

नास्टका अनुसार, फोहोर व्यवस्थापनका लागि समस्या बनेको प्लास्टिकबाट देशको शहरी क्षेत्रमा प्रतिवर्ष एक लाख १३ हजार ७२६ किलोलिटर इन्धन उत्पादन गर्न सकिन्छ।

यसका लागि स्थानीय तहलाई प्रविधि हस्तान्तरण गर्ने तयारीमा नास्ट लागेको छ। “स्थानीय सरकारसँग काम गर्न हामी आतुर छौं”, उपकुलपति पोखरेल भन्छन्।

प्रतिकृया दिनुहोस