स्यालले टोकेर १८ घाइते, उपचारमा नगरपालिकाले सघाउने
स्यालले टोकाइबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–४ मिलनचौक, आँपखोली र बाघखोरका १८ जना घाइते भएका छन् ।
२१ र २२ भदौमा स्यालको टोकाइबाट १८ जना घाइते भएको गुर्भाकोट स्वास्थ्य चौकीका प्रमुख किरण वलीले बताए ।
उनीहरुलाई रेबिज बिरुद्ध दिइएको भएपनि स्यालले टोक्दा लगाउने इम्यूनोग्लोमिन भ्याक्सिन लगाउन नसकिएको उनले बताए । यो काठमाडौंमा मात्रै पाइने भएकोले समस्या भएको वलीले बताए ।
स्यालको टोकाइबाट घाइते भएका १८ जना आर्थिक अवस्था कमरजोर भएकोले गुर्भाकोट नगरपालिकाले सघाउने भएको छ । उनीहरुको उपचारका लागि काठमाडौंबाट इम्यूनोग्लोमिन भ्याक्सिन ल्याउन सहयोग गर्ने निर्णय गरिएको मेयर हस्त पुनले बताए ।
“घाइतेहरु काठमाडौं गएर उपचार गर्नसक्ने आर्थिक अवस्थाका छैनन्” मेयर पुनले भने, “भ्याक्सिनको मूल्यबाहेक काठमाडौंदेखि गुर्भाकोटसम्म ल्याउदा लाग्ने खर्च नगरपालिकाकाले बेहोर्छ ।”
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय, सुर्खेतको टोली पनि प्रभावित क्षेत्रमा खटिएको सूचना अधिकारी वसन्तमान श्रेष्ठले बताए ।
-लक्ष्मी भण्डारी, सुर्खेत