निःशुल्क पाइने औषधिको अभाव
नुवाकोटका स्वास्थ्य संस्थामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधिको अभाव भएको छ ।
स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट मागअनुसारको बजेट र औषधि नपठाएको कारण औषधिको अभाव भएको हो ।
“मौजुदा औषधि सकिएकाले वितरणमा समस्या आएको छ ।” जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले भने, “तत्कालका लागि भिटामिन ‘बी’, ग्यास्ट्रिक तथा एन्टिबायोटिक, सिप्रोलगायतका औषधिको अभाव छ ।”
धेरै माग हुने सिटामोल, जीवनजल तथा निमोनिया बिरामीका लागि आवश्यक पर्ने औषधि पनि सीमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ६७, प्रसूति गृहसहितका स्वास्थ्य चौकीमा ३८ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । रासस