क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको निधन
क्रिकेट खेलाडी एवम् नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको निधन भएको छ ।
८९ वर्षका शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा आज, २१ भदौ विहान निधन भएको हो ।
नेपाली क्रिकेटको विकासका लागि उल्लेख्य योगदान दिएका शाहले राष्ट्रिय क्रिकेट टोलीको कप्तानी समेत सम्हालिसकेका थिए ।
शाह क्यानको अध्यक्ष रहँदा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिता शुरु गरेको थियो भने उनकै पालामा क्रिकेटका लागि भौतिक पूर्वाधारहरु पनि विकास गरिए ।
लगातार ४० वर्ष नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष रहेका शाहले २०६२ मा राजीनामा गरेका थिए । संघको नेतृत्वमा आउनुअघि उनी राष्ट्रिय खेलाडी थिए ।
उनी एशियाली क्रिकेट परिषद (एसीसी) को उपाध्यक्ष रहिसकेका थिए । शाहलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २००३ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।
क्यानले विज्ञप्ति जारी गरी शाहको निधनमा शोक प्रकट गरेको छ ।