पर्यटन व्यवसायी शाक्यलाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड
पर्यटन व्यवसायी कर्ण शाक्यलाई पीपी प्रसाईँ टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
पीपी प्रसाईँ फाउण्डेशनले २० भदौमा एक समारोहको आयोजना गरी यस वर्षको पीपी प्रसाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार–२०७४ दाङका शिक्षक दुर्गाप्रसाद पाण्डे र पीपी प्रसाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड–२०१७ पर्यटन व्यवसायी शाक्यलाई प्रदान गरेको हो । पाण्डे दाङको पद्मोदय पब्लिक नमूना माविमा अध्यापनरत छन् ।
यसैगरी प्रदेश–१ बाट आर्दश मावि, झापाका हेमकुमार खड्का, प्रदेश–३ बाट नीलबाराही मावि, काठमाण्डौंकी जानुका नेपाल, प्रदेश–४ बाट गलकोट मावि, बाग्लुङका देवेन्द्रबहादुर खत्री, प्रदेश–५ बाट शंकर दुर्गादत्त मावि, रुपन्देहिका चण्डीप्रसाद पाण्डेय, प्रदेश–६ बाट नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सुर्खेतकी चन्द्रा भण्डारी न्यौपाने र प्रदेश–७ बाट जनसेवा मावि, कैलालीकी गंगा भण्डारीलाई उत्कृष्ट शिक्षकको पुरस्कार प्रदान गरिएको छ ।
स्वर्गीय प्रजापति प्रसाईका नाममा स्थापित प्रतिष्ठानले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याउने शिक्षकलाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार सहित रु.५० हजार, सात प्रदेशमा उत्कृष्ठ शिक्षक पुरस्कारसहित रु.२५ हजार नगद र उत्कृष्ट विद्यालयलाई रु.१० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
साथै यस वर्षदेखि पुरस्कृत शिक्षकका सबै विद्यालयका उत्कृष्ट, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष छात्रवृति पनि प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष शिखर प्रसाईले बताए ।
पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्न क्रियाशिल रहेका थिए । उनको २० भदौ, २०५६ मा हवाई दुर्घटनामा परि मृत्यु भएको थियो । उनले गरेका कार्यलाई निरन्तरता दिन ६ फागुन, २०६७ पीपी प्रसाई फाउण्डेशनको गठन गरिएको थियो ।