सम्पादकीयआइतवार, भाद्र १८, २०७४

प्रश्न गर, आश्वस्त होऊ

किरण नेपाल

लोकतन्त्र नै हो, जसले नागरिकलाई प्रश्न सोध्ने अधिकार दिन्छ । शासन गर्छु भन्नेले त्यसको जवाफ दिनैपर्छ । र, निर्वाचन नै त्यस्तो अवसर हो, जहाँ जनताको सवाल ओजपूर्ण बन्छ ।

साउन अन्तिम साताको अविरल वर्षाका कारण आएको बाढी र डुबान खेपेका तराईका आठ जिल्लाका बासिन्दा प्राकृतिक विपत्बाट अझै तङ्ग्रिसकेका छैनन् । बाढीको विध्वंस र डुबानको चिस्यान यथावत् छ । चिसा घर र चूलाहरू अन्न र भाँडावर्तनविहीन छन् । सप्तरीदेखि पर्सासम्म फैलिएको प्रदेश–२ र यहाँका बासिन्दा यही हालतमा आउँदो २ असोजको स्थानीय तह निर्वाचनको सामना गर्दैछन् ।

चुनाव लागिसकेको छ । दलहरूले त्यही चिसो भूमिमा आ–आफ्नो नेतृत्वसहितको निर्वाचन मुकाम बनाइसकेका छन् । नेताहरू बाढीको डोब हराइनसकेका सडक र हिलो–कादो नसुकेका डगरहरू छिचोल्दै दूरदेहातसम्म पुग्न थालेका छन् । हिलाम्मे गोडा लिएर मत माग्दै हिंडेका नेताहरूले बाढी र डुबानका कारण थातथलोबाट विस्थापित हजारौं मतदातालाई विद्यालय, सार्वजनिक भवन र खुला चौरका पालहरूमा भेटिरहेका छन् । यसरी विचित्रको परिस्थितिमा हुँदैछ, प्रदेश–२ मा तेस्रो र अन्तिम चरणको स्थानीय तह निर्वाचन ।

आफ्नो दैलोमा आगन्तुकलाई ‘पाइन पिउ’ भन्ने संस्कारलाई समेत कायम राख्न नसक्ने अवस्थामा छन्, मधेशका मतदाता । टन्टलापुर भदौरे घाम खेप्दै हिंडेका उम्मेदवारहरूलाई एक गिलास चिसो पानीसम्म पिलाउने अवस्थामा छैनन् उनीहरू । तर, मधेशका बासिन्दाले यसमा क्षुब्ध हुनुपर्ने कुनै कारण छैन । यो अवस्थाका लागि जिम्मेवार तिनै हुन्, जो यतिखेर भोटको याचना गरिरहेका छन् । मनको सुन्ने हो भने यी याचकहरू दुत्कार्नुपर्ने पात्रहरू हुन्, तर यतिखेर प्रदेश–२ का मतदाताले दिमागले काम गर्नुपर्ने अवस्था छ ।

लोकतान्त्रिक व्यवस्था अँगालेको हाम्रा लागि देश र समाज हाँक्ने सही पात्र छान्ने माध्यम वा अवसर भनेकै निर्वाचन हो । आफ्नो अवस्था जे जस्तो भए पनि हामी निर्वाचनलाई दुत्कार्न सक्दैनौं । यसो भन्दैमा सेतो पाइजामा–कुर्तामा सजिएका उम्मेदवारहरूलाई नाङ्गो आङका मतदाताले सरासर शिरोपर गर्न सक्तैन । हाम्रो सल्लाह छ– मत माग्न आउने हरेक उम्मेदवारलाई आफ्नो नाङ्गो आङ देखाएर सोध्नुस्– “यो अवस्थामा किन पुर्‍याएको ?”

राष्ट्रिय हुन् या क्षेत्रीय, मधेशी हुन् या पहाडी मूलका; निर्वाचनको क्रममा मतदाताकहाँ पुग्ने प्रत्येक दलका उम्मेदवार प्रदेश–२ का मतदाताहरूको आजको हालतको लागि जिम्मेवार छन्, घरको दैलो मेटिनुमा जिम्मेवार छन् ।

दल वा उम्मेदवार जोसुकै हुन्, प्रदेश–२ का मतदाताले सोध्नुपर्ने प्रश्न थुप्रै छन् । ठूला नदीबाट साना खोलाहरूमा पानी झर्ने कोशी–कमला वा कोशी–मरिन डाइभर्सन जस्ता योजनाहरू किन अघि नबढाइएको ? भोलि पनि मधेशलाई डुबाउने बाढी रोक्ने के योजना छ ? सिमानामा भारतले बनाएका संरचनाहरूको व्यवस्थापन कसरी गर्छौ ? सडक बनाउँदा हाम्रा सन्तानको ज्यान लिने गरिको खाल्डो खनेर छाड्ने ठेकेदारहरूलाई के कारबाही गर्छौ ?

लोकतन्त्र नै हो, जसले नागरिकलाई प्रश्न सोध्ने अधिकार दिन्छ । शासन गर्छु भन्नेले त्यसको जवाफ दिनैपर्छ । र, निर्वाचन नै त्यस्तो अवसर हो, जहाँ जनताको सवाल ओजपूर्ण बन्छ । प्रदेश–२ का मतदाताले निर्वाचनको मुखैमा बेहोर्नुपरेको बाढी–डुबान एउटा मौका पनि हो, जहाँ उठाइने प्रश्नहरूले मधेशको पछिल्लो नियति बदल्ने मार्गप्रशस्त गर्न सकोस् । यावत् प्रश्नहरू, जसको जवाफ दिन र दिएका जवाफहरू कार्यान्वयन गर्ने तयारी गाउँ/नगरपालिकाको नेतृत्वमा आउनेहरूले थाल्नुपर्छ ।

प्रदेश–२ का मतदाताको स्वाभिमानसँग जोडिएका राजनीतिक–सैद्धान्तिक प्रश्नहरू पनि छन् । ३१ वैशाखको लागि तोकिएको स्थानीय तह निर्वाचन प्रदेश–२ मा तेस्रो चरणका रूपमा २ असोजसम्म किन लम्बियो ? यो विलम्बबाट प्रदेश–२ का मतदाताले त्यस्तो के पाए, जो ३१ वैशाखसम्म मिलेको थिएन ?

मधेशको नाममा तीन–तीन वटा आन्दोलन गर्दा प्रदेश–२ का नागरिकहरूलाई उपलब्धि के भयो ? मधेशको सवाल राष्ट्रिय दलहरूको ‘सवाल’ किन बनेन ? प्रदेश–२ का मतदाताहरूले हरेक उम्मेदवारलाई यी र यस्ता प्रश्नहरू गर्नैपर्छ, ताकि उनीहरू र सम्बद्ध दलहरूलाई हेक्का होस्– उनीहरूको राजनीति जनतासँग जोडिएर भइरहेको छैन ।

हो, हामीले अँगालेको लोकतन्त्रमा दलीय प्रतिनिधित्वको विकल्प छैन । फेरि पनि निर्वाचित गर्ने दलीय प्रतिनिधिलाई नै हो । तर निर्वाचित गर्ने क्रममा प्रश्नहरू सोधौं, उनीहरूबाट भएका गल्ती–कमजोरीका लागि माफी माग्न र पश्चाताप गर्न लगाऔं । सवाल–जवाफको यो सिलसिलाले राजनीति र नागरिकबीच टुटेका तन्तुहरू जोड्न मद्दत गर्छ । र, सवाल–जवाफले नै सही प्रतिनिधित्वको आकलन पनि गराउँछ । मतदाताले जिम्मेवार जवाफ दिनेमध्येबाट असल उम्मेदवार चयन गर्न पाउँछन् । लोकतन्त्र त फेरि पनि विश्वासमै चल्छ ।

प्रतिकृया दिनुहोस