अपरेसन अघि र पछिको हेरचाह
अपरेसन अघि र पछिका हेरचाहबारे थाहा पाएर अस्पतालमा भर्ना हुन वा कुरुवा बस्न जाँदा बिरामी छिटो तङ्ग्रिने सम्भावना बढ्छ ।
नेपालमा सन् १९७० को दशकबाट फाट्टफुट्ट हुन थालेको शल्यक्रियाले ९० को दशकपछि तेज रफ्तार लियो। अहिले शहरी क्षेत्रका अस्पताल र नर्सिङ होमहरूमा दैनिकजसो शल्यक्रिया हुन्छन्, त्यो पनि विश्वमा उपलब्ध अत्याधुनिक प्रविधिबाट।
पहिले एक बित्ता लामो घाउ बनाएर, हप्तौं वा महीनौं अस्पतालमा बस्ने गरी गरिने शल्यक्रिया आजकल डे केयर बेसिस (त्यही दिन घर फिर्ने गरी) मा गर्न थालिएको छ।
एपेन्डिक्स, पित्त थैलीको पत्थरी, पिसाब नलीको पत्थरी, बच्चा निकाल्ने सिजेरियन, हर्निया, हाइड्रोसिल, स्थायी बन्ध्याकरण, हाड भाँच्चिएको आदि नियमित जसो गरिने शल्यक्रिया हुन्। हामीमध्ये धेरै जनासँग आफैं, नातागोता वा साथीभाइहरूको अपरेसन गरेको अनुभव छ। यस्तो अनुभव नहुनेले पनि स्वास्थ्य जस्तो प्राविधिक क्षेत्रबारे धेरथोर रुचि राख्नु, इन्टरनेटबाट जानकारीहरू लिनु राम्रो हुन्छ।
इन्जिनियरिङ, कृषि, वन–विज्ञान आदि जस्ता प्राविधिक क्षेत्रबारे कति पनि ज्ञान नहुँदा काम चल्ला, तर स्वास्थ्यलाई चाहेर पनि पन्छाउन सकिन्न। किनभने, सामान्य कुराले पनि कुनै न कुनै दिन एक न एक स्वास्थ्य समस्या आइहाल्छ र अस्पताल धाउनु नै पर्ने हुन्छ। त्यसबेला शल्यक्रिया आवश्यक नपर्ला भन्न सकिन्न।
अस्पतालमा भर्ना भई औषधि खाएर, आराम गरेर मात्र गरिने उपचार भन्दा शल्यक्रिया जटिल प्रक्रिया हो। कतिपय अवस्थामा अपर्झट शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ। अपर्झट वा योजनाबद्ध जुनसुकै रूपमा गर्नुपरे पनि शल्यक्रिया अघि र पछिको हेरचाहबारे बिरामी वा कुरुवाले हेक्का राख्नु राम्रो नै हुन्छ। अपरेसन अघिपछिका हेरचाहबारे थाहा पाएर अस्पतालमा भर्ना हुँदा वा कुरुवा बस्न जाँदा उपचारमा संलग्न चिकित्सक र नर्सहरूसँगको सम्बन्ध पनि सुमधुर हुन्छ।
अपरेसन अघि
बिरामीको स्वास्थ्य समस्याको प्रकृति, यसको स्थिति र शल्यक्रियाको उद्देश्य सम्बन्धित चिकित्सकबाट थाहा पाउनुपर्छ। अपरेसन पछि आउने सम्भावित जटिलताबारे पनि जानकारी लिनुपर्छ। दम, खोकी, मुटु रोग, मधुमेह, उच्च रक्तचाप, मिर्गौला, फोक्सो, कलेजो सम्बन्धी जीर्ण खालका मेडिकल समस्यामा अपरेसन पछि आउन सक्ने जटिलताबारे राम्ररी जानकारी लिनुपर्छ।
शल्यक्रियापूर्व रगत, पिसाब, छातीको एक्सरे, ईसीजी त अनिवार्य नै हुन्छ। संक्रमित अवस्था छ भने चिकित्सकले आवश्यकता अनुसार थप जाँच–पड्ताल पनि गराउँछन्। बेहोश पार्ने डाक्टर (एनेस्थेटिस्ट) ले पनि अपरेसनको लागि बिरामीको अवस्था ठीक छ, छैन भनेर थप परीक्षण गर्न लगाउन सक्छन्। त्यसक्रममा कुनै औषधि सेवन गरिरहेको छ छैन, कुनै औषधिको एलर्जी वा रियाक्सन भएको छ छैन, दाँत हल्लिए नहल्लिएको जाँच पड्ताल हुन्छ।
शल्यक्रियाको लागि मञ्जुरीनामा लिंदा अस्पतालले नै अपरेसनको प्रकृति, अपरेसनको क्रममा वा पछि आउन सक्ने जटिलता, बेहोश गर्ने माध्यम (पूरै बेहोश, अर्ध बेहोश, ढाड मुनि मात्र लठ्याउने, अपरेशन गर्ने भाग मात्र लठ्याउने) आदिबारे जानकारी गराइन्छ। सामान्यतः अपरेसनको अघिल्लो दिन हल्का खाना तथा आन्द्रा सफा वा खाली गर्ने औषधि र राति हल्का निद्रा लाग्ने, अम्लपित्त नबढ्ने औषधि दिइन्छ।
त्यस्तै, अपरेसन गर्ने भागको सरसफाइ र अरू तयारी गराइन्छ। कतिपय अवस्थामा प्रतिजैविक औषधिको शुरूआतका साथै अपरेसन पूर्व रगत समूह अनुसार रगतको जोरजाम हुन्छ। नेगेटिभ समूहको रगत भए आवश्यक पर्नासाथ नपाउन सकिन्छ।
अपरेसन पछि
अपरेसनमा संलग्न चिकित्सक र नर्सको टीमले नाडीको गति, श्वासप्रश्वास दर, रक्तचापको नियमित जाँचका साथै बिरामीको होश अवस्थाबारे निगरानी गरिरहन्छ। शल्यक्रिया भएको दिनमा मुखबाट केही पनि ख्वाइन्न भने, अर्को दिन पेटको चाल थाहा पाएपछि (अर्थात् थोर थोरै थाम्न सक्यो भने) झोलिलो पदार्थ, दोस्रो दिन जाउलो र तेस्रो दिनबाट सामान्य खाना दिइन्छ। शल्यक्रियाको क्रममा बगेको रगतको मात्रा हेरेर रगत चढाउनुपर्ने वा नपर्ने निश्चित गरिन्छ।
शुरूको दिनमा पीडानाशक औषधि नसाबाट दिइन्छ। मूत्रनली र मूत्रथैलीमा राखिएको पाइपको व्यवस्थापन अपरेसनको प्रकार र जटिलता अनुसार गरिन्छ। घाउको स्याहार (ड्रेसिङ एवं टाँका काट्ने) र अस्पतालबाट डिस्चार्ज हुने बेलामा आराम, औषधि, पोषणका साथै मासु जाँचको रिपोर्ट तथा अन्य कुनै जाँच वा परीक्षणसहितको फलोअपका लागि सल्लाह दिइन्छ।
यति जानकारी भएको खण्डमा अपरेसन अघि र पछिको तयारी पुग्छ। बिरामी र उनका कुरुवा यति जानकारीका साथ अपरेसन गराउन गएका रहेछन् भने प्रतिफल पनि चाहेजस्तै आउँछ।