टिप्पणीशुक्रवार, भाद्र १६, २०७४

असुरक्षित अशोक स्तम्भ

वसन्त महर्जन

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो भनेर चिनाउने पहिलो र मुख्य आधार अशोक स्तम्भ वा त्यसमा उत्कीर्ण अभिलेख नष्ट भएमा के होला ?

तस्वीरः इन्द्र श्रेष्ठ

इसापूर्व तेस्रो शताब्दीका मौर्य सम्राट अशोकले आफ्नो भ्रमणको स्मरणमा राखेका शिलास्तम्भ जंगलको बीचमा भेटिंदा अचम्ममा परेका तत्कालीन बडाहाकिम खड्गशमशेर राणाले त्यसलाई हात्ती लगाएर उखेल्न खोजेका थिए ।

खासमा उनले त्यसलाई ढुंगाको खम्बा भन्ठानेका थिए । त्यस समयमा लुम्बिनी खोज्दै हिंडेका जर्मन पुरातत्वशास्त्री डा. ए फुहरर संयोगले त्यहीं पुगेछन्, उनकै आग्रहमा उखेल्ने काम रोकिएछ । पुरातात्विक वस्तुहरूलाई यथास्थानमै रहन दिनुलाई पुरातत्वशास्त्रको भाषामा 'इन–सितु' भनिन्छ। त्यसअनुसार अशोक स्तम्भ 'इन–सितु' मै रह्यो, रहेको छ । 

पुरातात्विक विषयवस्तुको अध्ययनमा लाग्ने व्यक्तिहरूमा अनेक जिज्ञासा हुनु स्वाभाविक हो । पछिल्ला पुरातत्वविद्हरू अशोक स्तम्भको जगप्रति निकै जिज्ञासु देखिन्छन् । यस्तो जिज्ञासा पहिलोपल्ट भारतीय पुरातत्वविद् देवला मित्रामा देखिएको थियो । पछि तारानन्द मिश्रले त्यस्तो रहर देखाए। जबकि, जग हेर्ने क्रममा स्तम्भ ढल्किन सक्छ ।

लुम्बिनीको अशोक स्तम्भ त यसै पनि सग्लो रूपमा छैन । त्यसको माथिल्लो भाग भाँचिएर हराएको छ । यद्यपि भारतका विभिन्न ठाउँमा रहेका अशोक स्तम्भ र तिनका अभिलेखभन्दा चाहिं राम्रो अवस्थामा नै छ, लुम्बिनीको स्तम्भ ।

अभिलेख भएका वा नभएका स्तम्भहरूमा पनि बीचका शासकहरूले आफ्ना विषयवस्तु कुँदाएका छन् । इलाहावादको अशोक स्तम्भमा कुँदिएको समुद्र गुप्तको अभिलेख त्यसको उदाहरण हो । त्यस्तै, तीन टुक्रा परेको सारनाथको स्तम्भमा अभिलेख भाग फुटेको छ। प्राचीन वैशालीस्थित अशोक स्तम्भ सग्लै ठडिएको छ, तर स्तम्भ नै विरूप हुने गरी विभिन्न आकृति र अक्षरहरू कुँदिएका छन् ।

लुम्बिनीको स्तम्भमा रहेको सम्राट अशोकको अभिलेखमा केरमेट छैन । स्तम्भको अभिलेख भाग माटो थुप्रिएर सानो ढिस्काले छोपिएकोले जोगिएको अनुमान गर्न सकिन्छ, तर त्यसभन्दा माथिल्लो भागमा कुँदिएका राजा रिपु मल्ल (इ.सं. १३१२) लगायतका अभिलेख वा अक्षरहरू बाङ्गाटिङ्गा छन् ।

त्यही माटोको ढिस्कोमा उभिएर लेख्दा अक्षरहरू बाङ्गाटिङ्गा भएको अनुमान छ। चिनियाँ यात्रीको वर्णन अनुसार, स्तम्भको माथिल्लो आधा भाग चट्याङका कारण भाँचिएको हो । भाँच्चिएर गएको भागका टुक्राहरू संकलन गरिएको छ। त्यसमध्येको एउटा ठूलो भाग त अहिल्यै पनि अशोक स्तम्भ भएकै ठाउँमा देख्न पाइन्छ ।

स्तम्भको सिरानबाट शुरू भएको चिराले अहिले अभिलेखका अक्षरहरूलाई बिगारिसकेको छ । त्यसले अभिलेख पढ्नै नसकिने त बनाइसकेको छैन, तर पहिलो हरफको 'देवानं पियेन' शब्दको 'ये' अक्षर पछाडि, दोस्रो हरफको 'अतनआगाच' शब्दको 'आ' अक्षरको बीचमा, तेस्रो हरफको 'सिलाविगडभीचा' शब्दको 'भी' अक्षरको पछाडि, चौथो हरफको 'हिदभगवं' शब्दको 'भ' अक्षरको पछाडि र पाँचौं हरफको 'अठभागियेच' शब्दको 'भा' अक्षरको बीचमा चिरा परेको छ। बेलैमा ध्यान दिएर गर्नुपर्ने काम नगरे त्यो चिराले थप नोक्सानी गर्नेछ ।

डा. फुहररको संगतमा परेर हुनसक्छ, पछि पुरातत्व विषयमा अध्ययन गर्ने र कलम चलाउने पहिलो नेपाली खड्गशमशेर नै बन्न पुगे । उनले लुम्बिनी क्षेत्रमा केही निर्माण कार्य गरेको पनि थाहा पाइएको छ । खड्गशमशेरपछि लुम्बिनी क्षेत्रमा खटिएका उपेन्द्र बिक्रम राणाले अशोक स्तम्भको टुप्पाको चिराबाट पानी पसेर नबिगारोस् भनेर छाता ओढाए जसरी गोलो शिलाको चक्का राखेर दूरदर्शी काम गरेका थिए। स्तम्भमा चिरा नबढोस् भनेर अहिले स्टील पाताले कसिएको छ ।

अशोक स्तम्भमा पालिस लगाउने विषयमा भने बडो लापरबाही गरिएको देखिन्छ । १९ जनवरी २०१२ का दिन यो पंक्तिकार लुम्बिनी पुग्दा अभिलेखको अक्षर वरिपरि फुङ्ग उडेको रंगजस्तो टाटेपाटे रंगरूप थियो । त्यसबेला सोधखोज गर्दा केही जवाफ पाउन सकिएन। काठमाडौं फर्केर बुझदा अभिलेखमा लागेको लेउ हटाउन कुनै रसायन प्रयोग गरेको थाहा भयो ।

त्यो रसायन एकजना विदेशी विद्यार्थीले चलाएको जानकारी पनि पाइयो । विदेशी भनेपछि बढी नै विश्वस्त हुने मानसिकताको नतिजा रहेछ, त्यो । त्यसको केही समयपछि फेरि अर्को रसायन प्रयोग गरेर पहिलेका टाटापाटा हटाएको सुनियो। लुम्बिनीको अत्यन्तै संवेदनशील पुरातात्विक प्रमाणमा यस्ता क्रियाकलापले धेरै गम्भीर दुष्परिणाम निम्त्याउन सक्छ ।

सुरक्षा हेतु फलामको साँघुरो बार लगाइएको अशोक स्तम्भमा त दैनिक लापरबाही गरिएको देखिन्छ । त्यहाँ धूपबत्ती गर्दा र सिक्का लगायतका चिजबिच चढाउँदा स्तम्भमा असर पर्ने कुरामा ख्याल गर्नुपर्छ। अशोक स्तम्भ धार्मिक विषयवस्तु होइन भन्ने कुरा बुझाएर यो समस्या सजिलै हटाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस