कला/साहित्यशुक्रवार, भाद्र १६, २०७४

भूकम्पले भत्किएका सांस्कृतिक सम्पदा चित्रमा

बच्चु विक

भूकम्पमा क्षतिग्रस्त उपत्यकाका सांस्कृतिक सम्पदालाई 'पेन एन्ड इन्क' कलाबाट सुशीला सिंहले पुनर्जीवन दिएकी छन्।

सुशीला सिंह।        तस्वीर: गोपेन राई

पाटनका बहाल, गल्ली र मन्दिर चहार्दै हुर्केकी सुशीला सिंहको मानसपटलमा सांस्कृतिक सम्पदाका आकृति उतिबेलै कुँदिसकिएका थिए। यसले उनलाई विस्तारै चित्र कोर्ने अभ्यासमार्फत आकर्षित गरायो। झण्डै साढे तीन दशकपछि सुशीलाले बाल मानसपटलमा कुँदिएका तिनै आकृतिलाई मूर्तरुप दिएकी छन्, कस्मिक सेड्स मार्फत।

१२ वैशाख, २०७२ को भूकम्पपछि काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश सांस्कृतिक सम्पदामा क्षति पुग्यो। “नाशिन्छन् कि भन्ने चिन्ताले सम्पदामै केन्द्रित भएर चित्रहरु तयार पारें” सुशीला भन्छिन्। अझ चाखलाग्दो त के छ भने उनको चित्रकला 'पेन एन्ड इन्क' कलामा छ, जुन नेपालका थोरैले मात्रै गर्छन्। उनले दुई वर्षको अवधिमा 'पेन एन्ड इन्क' माध्यम बनाएर पाटन, भक्तपुर र काठमाडौंका ३२ वटा चित्र कोरेकी छन्।

सुशीला शैली

२ भदौ दिउँसो कलाकार वीरेन्द्रप्रताप सिंह अचानक आजु ग्यालरीमा पस्दा सुशीला चकित परिन्। 'पेन एन्ड इन्क' को माध्यमबाट चित्र बनाउने मुलुककै पहिलो चित्रकारबाट 'राम्रो गरेकी रहिछ्यौ' भन्ने हौसला पाएपछि त खुशीको सीमा नै रहेन।

स्कूल अफ क्रियटिभ कम्युनिकेशन्स् (एससीसी) को आयोजनामा सुशीलाको 'कस्मिक सेड्स' चित्रकला प्रदर्शनी १८–२४ भदौसम्म दरबारमार्गस्थित शेर्पा मलको आजु ग्यालरीमा हुने भएको छ।

प्रदर्शनीको आयोजक एससीसीका क्रियटिभ डाइरेक्टर दीपेन्द्र बज्राचार्य पनि सुशीलाको कलाको प्रशंसा गर्छन्। नेपालमा पेन एन्ड इन्कमा काम गर्ने थोरै मात्र चित्रकार रहेको बताउँदै बज्राचार्य भन्छन्, “सुशीला ती थोरै चित्रकारमध्येकी हुन्, जसले पेन एन्ड इन्कमा राम्रो काम गरेकी छन्।”

तलेजु भवानी, काठमाडौं।  तस्वीर सौजन्यः एससीसी

त्यसो त सुशीला अहिले पनि ल्यान्डस्केपमै काम गर्छिन्। तर भूकम्पले भत्किएका सांस्कृतिक सम्पदा ल्यान्डस्केप भन्दा पेन एन्ड इन्कमा गर्दा नै यथार्थपरक हुने ठानें”, उनी भन्छिन्। भूकम्पपछि उनी उपत्यकाका तीनवटै शहर पुगेर सांस्कृतिक सम्पदाको अवस्था अध्ययन गरिन्। उनी भन्छिन्, “कतिको चित्र त्यहीं बसेर कोरें, कतिको घरमा बनाएँ।”

कला यात्रा

सुशीलाको घरमा मात्रै होइन, ललितपुर–७ डुवाटटोल वरिपरि चित्र कोर्ने त परै, चित्र सम्बन्धी जानकारी राख्ने पनि खासै थिएनन्। तैपनि मदन स्मारक माध्यमिक विद्यालय, ललितपुरबाट एसएलसी उत्तीर्ण हुँदासम्म उनी सम्भावनाशील चित्रकारमा दरिइसकेकी थिइन्। कक्षा १२ सक्नेवित्तिकै 'ड्रग रिह्याभ पेन्टिङ वर्कसप एन्ड इक्जिविशन एन्ड इन्टर कलेज आर्ट इक्जिविशन–२००९' मा उत्कृष्ट नै घोषित भइन्। तर परिवारकै रुचिअनुसार उनी चित्रकला होइन, व्यवस्थापन अध्ययनतिर मोडिइन्। “कता कता केही नपुगेजस्तो, गुमाइरहेजस्तो लाग्थ्यो” सुशीला सम्झिन्छिन्।

तोरण, पाटन।

त्यसपछि भने कलातिरै लागेकी उनले ललितकला केन्द्रीय भवन, कीर्तिपुरबाटै एमएफए (मास्टर्स अफ आर्ट) पूरा गरिन्। बाबा राजा धेउलाबाट कला कक्षा प्रशिक्षण लिइन्। कला प्रदर्शनी र प्रतियोगिताको नियमित सहभागिताले निखार्दै लग्यो। पहिलो 'फस्ट इभर पेन एन्ड इन्क अन क्यानभास' प्रदर्शन गरिसकेकी सुशीला भन्छिन्, “आत्मसन्तुष्टि नै ठूलो कुरा रहेछ।”

पिलर।
मंग हिटी, पाटन, मंगलबजार।
गोल्डेन टेम्पल, पाटन।

प्रतिकृया दिनुहोस