रिपोर्टबिहिवार, भाद्र १५, २०७४

त्रि–चन्द्र कलेजः नेपाल आधुनिकीकरणको आधारशिला

मस्त केसी

राणाशासन लम्ब्याउन चन्द्रशमशेरले खोलेको त्रि–चन्द्र कलेज प्रजातन्त्र स्थापनाको कारक र नेपाल आधुनिकीकरणको आधारशिला पनि बन्यो ।

तस्वीरः गोपेन राई

शताब्दीअघि नेपालमा राणाशासनको दबदबा थियो । राजनीति र शासनप्रणाली मात्र हैन, शिक्षासमेत राणाकै अधीनमा थियो । त्यहीबीचमा १९७५ मा श्री ३ चन्द्रशमशेरले त्रिभुवन–चन्द्र कलेज स्थापना गरे । शिक्षाप्रेमी भएर होइन, केही बाध्यताका कारण चन्द्रशमशेरले नेपालमा पहिलो कलेज स्थापना गरेका थिए । नेपालमा उच्च शिक्षाको युग प्रारम्भ गरेको त्यो कलेज अहिले त्रि–चन्द्र कलेजको नामबाट प्रसिद्ध छ । 

त्रि–चन्द्र कलेज स्थापनाअघि आम सर्वसाधारणलाई शिक्षाबाट टाढै राखिएको थियो । राणा खलकका युवकहरू उच्च शिक्षाका लागि भारत, बेलायतलगायतका मुलुक जान्थे । त्रि–चन्द्र कलेज सबैको लागि भनिए पनि आम जनताको पहुँच थिएन ।

कारण, त्यसबेला माध्यमिक तहको शिक्षा पूरा गर्ने पनि राणाका नातागोता, चाकडीदार, घरानियाँ र उच्च जातिका छोराछोरी मात्र हुन्थे । अनुसन्धानकर्ता लोकरञ्जन पराजुली २००७ सालपछि मात्र त्रि–चन्द्र सर्वसाधारणको पहुँचभित्र आएको बताउँछन् ।

गृष्मबहादुर देवकोटाको पुस्तक नेपाली पत्रपत्रिका र छापाखानाको इतिहास अनुसार, २००७ ताका कुल २ प्रतिशत नेपाली साक्षर थिए । आम नेपालीमा पढ्नुपर्छ भन्ने चेत थिएन । चेतना भएकाहरूलाई पनि पढ्ने वातावरण थिएन । २०१८ सालको सरकारी तथ्यांकलाई आधार मानेर लोकरञ्जन पराजुलीले गरेको अध्ययन अनुसार, २००७ सालसम्म नेपालभर २१ मावि, ३११ वटा प्रावि र १० हजार विद्यार्थी थिए ।

ती विद्यार्थीमध्ये ज्यादै थोरैले मावि तह पूरा गर्थे। मावि तह पूरा गर्नेमध्येबाट पनि ज्यादै न्यून विद्यार्थी मुलुकको एकमात्र कलेज त्रि–चन्द्रमा राणाका छोराछोरीसँग पढ्न पाउँथे। थोरै सही कालान्तरमा तिनै विद्यार्थीले राष्ट्रिय जीवनको हरक्षेत्रमा जग बसाउने काम गरे ।

स्थापना र योगदान
नेपालमा १०४ वर्षसम्म राणाशासन रह्यो । भारतमा शासन गरिरहेका अंग्रेजहरूले शिक्षाको विस्तारमा जोड दिएका थिए, तर नेपालका राणाहरू जनतालाई शिक्षाबाट टाढै राखेर निरंकुश शासन लम्ब्याउन चाहन्थे ।

सन् १९४७ मा भारत स्वतन्त्र हुँदासम्म त्यहाँ आधुनिक शिक्षाको जग बसिसकेको थियो भने नेपालमा राणा परिवार र उनीहरूका निकट नातेदार तथा कृपापात्रमा सीमित थियो, शिक्षा । “तर, त्रि–चन्द्र कलेज शिक्षाको आवश्यकताकै कारण स्थापना भएको हो”, शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, “जसले देशमा स्वर्णयुग प्रवेश गरायो ।”

उनका अनुसार, सत्ता सञ्चालक राणाहरूलाई अंग्रेजी भाषा जानेको शिक्षित जमात चाहिएरै चन्द्रशमशेरले दुनियाँदारलाई समेत खुला हुने गरी त्रि–चन्द्र कलेज स्थापना गरेको उनी बताउँछन् । रैतीका छोराछोरीलाई पनि पढाएर शासनसत्ता बलियो बनाउने राणाहरूको योजनाअनुरुप त्रि–चन्द्र खुलेको कोइराला बताउँछन् । अनुसन्धानकर्ता पराजुली भने आफूकहाँ एउटा कलेजसम्म नभएको लाज र हीनताबोधका कारण पनि चन्द्रशमशेर कलेज खोल्न बाध्य बनेको बताउँछन् ।

हुन पनि, त्रि–चन्द्र कलेज खुल्दा भारतमा थुप्रै विश्वविद्यालयले ख्याति कमाइरहेका थिए भने विश्वभर शिक्षा र लोकतन्त्रको लहर चलिसकेको थियो । त्रि–चन्द्र कलेज खुल्नुअघि उच्च शिक्षा लिनसक्ने हैसियतका नेपाली विद्यार्थीका लागि भारत नै गन्तव्य थियो, जहाँ स्वराज आन्दोलन गतिमान थियो । राणाहरूलाई बाहिर पढेर आएका दुनियाँदारका छोराछोरीलाई प्रजातन्त्रको हावा लागेको हुन्छ भन्ने थाहा थियो ।

त्यसकारण, त्रि–चन्द्र कलेज खुलेको अनुसन्धानकर्ता पराजुली बताउँछन् । “त्रि–चन्द्र कलेज स्थापनासँगै देश–विदेशमा नेपालका राणा शासक सुधि्रएको भान पर्‍यो”, उनी भन्छन्, “त्यही कारण राणाशासन कम्तीमा १० वर्ष लम्बियो ।”

५ भदौ १९७६ बाट आईए र आईएस्सी शुरू भएको त्रि–चन्द्र कलेजमा १९८१ मा बीए र २००४ सालदेखि बीएस्सी तहको पढाइ शुरू भयो । स्थापना भएको ४० वर्ष (२०१६ साल) सम्म त्रि–चन्द्र भारतको पटना विश्वविद्यालयको सम्बन्धनमा चल्यो ।

नेपाली चेतनाका अग्रदूत मानिने बालकृष्ण सम, सुवर्णशमशेर, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, गंगालाल श्रेष्ठ, यदुनाथ खनाल, ईश्वर बराल, सत्यमोहन जोशी आदि त्रि–चन्द्र कलेज स्थापनाकालका विद्यार्थी थिए । मुलुकको राजनीति र कूटनीतिदेखि साहित्य र संस्कृतिसम्मका क्षेत्रमा यी नामहरूले पुर्‍याएको योगदान अतुलनीय छ ।

त्रि–चन्द्र स्थापनाको तीनदशकसम्म मुलुकको उच्च शिक्षादेखि राजनीतिक–सामाजिक चेतनाको एक्लो केन्द्र रह्यो । त्यसअघि संस्कृत मात्रै पढाइ हुने तीनधारा पाठशाला र उच्च वर्गका छोराछोरी पढ्ने दरबार हाईस्कूल चेतनाको केन्द्र थिए । औपचारिक रूपमा अंग्रेजी शिक्षा भित्र्याएको त्रि–चन्द्रले ती दुवैलाई एउटै धारमा ल्याएको पराजुलीको बुझाइ छ ।

त्रि–चन्द्र कलेजले स्वदेशमै उच्च शिक्षाको ढोका खोल्नुको साथै भारतबाट संस्कृत विषय बाहेकका शिक्षक ल्याउनुपर्ने बाध्यता हटाइदिएको शिक्षाविद् कोइराला बताउँछन् । उनका अनुसार, त्रि–चन्द्र कलेजले नेपाली विद्यार्थीलाई देशभित्रै पढेर विश्व बुझ्ने र चिन्तन गर्ने अवसर दियो । त्रि–चन्द्र कलेजमा कलकत्ताबाट बोलाइएका बंगाली प्राध्यापकहरूले पढाउँथे ।

राजनीतिको केन्द्र

५ भदौमा १०० वर्षमा पाइला टेकेको त्रि–चन्द्र कलेज हरेक कालखण्डमा नेपाली राजनीतिको केन्द्रमा रह्यो । २००७ को क्रान्ति, २०३६, २०४६ र २०६२/६३ को जनआन्दोलनमा त्रि–चन्द्रले अग्रणी भूमिका खेल्यो। सहायक क्याम्पस प्रमुख र इतिहास विभाग प्रमुख रहिसकेका डा. विमलकुमार शर्मा भन्छन्, “त्रि–चन्द्रले शैक्षिक, राजनीतिक, कूटनीतिकलगायत हर क्षेत्रमा मुलुकलाई बलियो र गतिशील बनायो ।”

पञ्चायतभर दलहरूको राजनीति त्रि–चन्द्रबाट परिचालन हुन्थ्यो । नेपाल प्राध्यापक संघको जन्म त्रि–चन्द्रमै भयो । शिक्षाविद् कोइराला २०३६ सालपछि मात्र लोकतन्त्रको राजनीति त्रि–चन्द्रबाट अरू क्याम्पसहरूमा फैलिंदै मुलुकभर पुगेको बताउँछन् । सबभन्दा जेठो र धेरै विद्यार्थी अध्ययन गर्ने कलेज भएका कारण त्रि–चन्द्र जहिल्यै राजनीतिको केन्द्रमा रह्यो। पठनपाठनमा पनि त्रि–चन्द्र जहिल्यै उम्दा रह्यो । “२०४७ सालपछि भने सबैतिर राजनीति धेरै भएर पठनपाठन ओरालो लाग्यो”, शिक्षाविद् कोइराला भन्छन्, “त्रि–चन्द्र पनि अछुतो रहेन ।”

प्रतिकृया दिनुहोस