शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने गौमूल गाउँपालिकाको निर्णय
बाजुराको गौमूल गाउँपालिकाले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने नीति अघि सारेको छ ।
गाउँपालिकाले शैक्षिक बेरोजगार अन्त्य गर्नको लागि प्रमाणपत्रका आधारमा ऋण दिने नीति ल्याएको हो ।
युुवालाई स्वरोजगार बनाएर गाउँमै रोजगारीको अवस्था सिर्जना गर्न प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउने नीति पारित गरिएको गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।
बेराजगार युवाका लागि नागरिकता र शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने तयारी भएको उनको भनाइ छ । रोकायले ‘आफ्नै व्यवसाय आफैं रोजगार’ नाराका साथ युवालाई सहकारीमार्फत ऋण उपलब्ध गराउने जानकारी दिए ।
गाउँपालिकामा रहेका सहकारीमार्फत युवा स्वरोजगारका लागि रु ९० लाख बजेट विनियोजन गरिएको छ ।
स्थानीय उत्पादन, शिक्षा, स्वास्थ्य र सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिने रोकायको भनाइ छ । रासस