कला/साहित्यबिहिवार, भाद्र १५, २०७४

शरणार्थी जीवनको दस्तावेज

गोपाल गडतौला

आफ्नै मातृभूमिबाट अनागरिक हुनुको पीडा भोगेका भूटानी शरणार्थीको विगत र आगतको झल्को हो– देश खोज्दै जाँदा ।

आफ्नो भाषा, भेषभुषालगायतका न्यूनतम मानवअधिकार माग्दा नरसंहार भोग्नुपरेपछि 'अनिकालको बीउ' झै ज्यान जोगाउन दक्षिणी भूटानका नेपालीभाषी थातथलो छाडेर भागेका थिए। छिमेकको भारतले बास नदिएपछि उनीहरू पुर्ख्यौली थलो नेपाल आए। आफन्तहरू उतै बन्द हिमाली राजतन्त्रात्मक मुलुकमै रहे। 

पूर्वी झापा र मोरङका शिविरको कष्टपूर्ण बास भूटानी शरणार्थीका लागि कठोर नियति बन्यो। राष्ट्रसंघीय शरणार्थी आयोगले दिएको सहायताका भरमा गृहस्थी चलाउनुपर्‍यो। निस्तो अलिनो खाएर र सस्ता कपडा लगाएर वर्षौ बिताउनु पर्‍यो। वर्षायामको चुहुने झरी, तालु पोल्ने गर्मी, हिउँदको कठ्यांग्रिने जाडो छाप्रोभित्रै गुजार्नु पर्‍यो।

चलचित्र देश खोज्दै जाँदा ले शरणार्थी शिविरका यस्तै हविगतलाई मिहिनेतसाथ पर्दामा उतारेको छ। चलचित्रको मूल कथावस्तु शरणार्थीले देश फिर्न गरेको भगीरथ प्रयत्नको असफलता र त्यसपछिको पुनर्वासको गह्रौं पाइला रहेको छ। शिविरमा घर फिर्न भएको मतो, सीमाको मेची पुलमा भारतीय सुरक्षाकर्मीको बल प्रयोग, शरणार्थीका निराशाजस्ता विगतलाई दस्तावेजको रुपमा संग्रह गर्नु चलचित्रको विशेषता मान्न सकिन्छ।

चलचित्रले शरणार्थी समाज र स्थानीय गैरशरणार्थी समुदायबीचको सम्बन्धको आयाम पनि खोतल्ने प्रयास गरेको छ। शरणार्थी र शिविर बाहिरका उमेरदारहरू बीचको बिहेबारी, शिविरभित्रका साँघुरा छाप्राभित्र लुकाउन नसकिएको व्यक्तिगत मामिला, श्रमबजारमा ज्यालामा गरिने विभेद अनि शिविरका साँघुरा छाप्रा―आँगनीमा मनाइने दशैं–तिहारका साथै धूलो र हिलोमा खेलिरहेका नानीहरू; चलचित्रले एकै झमटमा सबैलाई समेटेको छ।

यो चलचित्र हारको कथा पनि हो। एउटा यस्तो समय थियो, जतिबेला शरणार्थीहरू मातृभूमि भूटान बाहेकको दुनियाँको कल्पनासम्म पनि गर्दैनथे। उनीहरूको दिल दिमागबाट भूटान हट्न त परै जावस्, हल्लिन पनि सक्दैनथ्यो। शिविरका चोक, चौबाटोमा बूढापाकाहरू भूटानमा भएको जायजेथा, आलु―अलैंचीबारी, धारा―पँधेरा, खेत―खलियान, घर―गोठ, पाखा―खर्क सम्झिरहेका हुन्थे।

युवाहरू क्रान्तिको मसाल बोकेर भूटान छिर्ने गोप्य योजना बुनिरहेका भेटिन्थे। तर कैयौं प्रयासका बाबजूद भूटान जान नसकिने निधोमा पुगेका पढालेखाहरू भित्रभित्रै शिविरमा अमेरिका र यूरोपियन मुलुकमा पुनर्वासमा जाने योजनामा सामेल हुनपुग्छन्। एक–दुई गर्दै लुकीलुकी पुनर्वासको इच्छापत्र भर्नेको संख्या बढ्दै जान्छ। अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) का सेता बसहरूको आउजाउ बढिरहन्छ।

बाउबाजेका पालादेखि सँगै बस्दै जस्तै अभर र आपत् पनि मिलिजुली पार लगाएकाहरूको साथ―छिमेक छुट्दै जान्छ। हेर्दा हेर्दै बाक्लो शरणार्थी शिविर पातलिन्छ। हृदयमा उनिएका प्रेमी―प्रेमिकाको फेरि भेटिने टुंगोविनाको विछोडको विरह पनि चलचित्रमार्फत अनुभूत गर्न सकिन्छ। यसअर्थमा देश खोज्दै जाँदा भात र भविष्य खोज्दै गोलार्द्धका ठेगानाहरू चहार्ने मान्छेको नमीठो कथाको किस्सा मान्न सकिन्छ।

इतिहासले भन्छ, नेपालका राजा राम शाह र भूटानी धर्मराजा साब्डुम नावाङ नाम्ग्यालबीच सन् १६२४ मा सन्धी भएर नेपालीहरू भूटान लगिएका थिए। मिहिनेती नेपालीले भूटानका पाखाभित्ता खनीखोस्री खेत बसाले। उन्नति गरे। तिनैका सन्तानहरू पौने चार शताब्दीपछि सरकारी दमनको कुचक्रमा परेर नेपालमा शरणार्थी बन्न विवश भए। 

भूटानी शरणार्थी एकाएक झापा ओइरिन थालेपछि इतिहासको यो तथ्य खोतल्न दमकका साहित्यकार प्रकाश आङदेम्बे पनि बाध्य भए। उनको दिमागमा प्रत्येक शरणार्थी आफैंमा उपन्यास वा कथाको पात्र झै लाग्थ्यो। त्यसैले शरणार्थीको भोगाइलाई उनले नटुङ्गिएको देश खोज्ने यात्राको रुपमा चलचित्रको स्वरुप दिने सुर कसे। “शरणार्थी हुनु कम साहसको कुरा होइन रहेछ” चलचित्रको कथासमेत लेखेका आङदेम्बे भन्छन्, “बाँच्ने उपक्रममा उनीहरूले निकै मुश्किलले जीवनलाई घिसारेर यहाँसम्म ल्याएका हुन्।” उनी चलचित्रलाई सर्वसाधारण शरणार्थीको आँखाबाट उतार्ने प्रयास गरिएको बताउँछन्।

चलचित्रको पटकथा लेखेका साहित्यकार उपेन्द्र सुब्बा शरणार्थीसँगको निकटताका कारण सहज भएको बताउँछन्। “अढाइ दशकको भोगाइलाई दुईघण्टामा छोट्याउने काम कठिन थियो” कथा छिटो छिटो फड्कियो भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, “सकेसम्म सिलसिलामा उन्ने काम गरिएको छ।”

८ भदौदेखि देशभर प्रदर्शनमा आएको यो चलचित्रमा हेमन्त बुढाथोकी, बाबु बोगटी, मीना कोइराला, अरुणा कार्की, सरिता ओली, तिब्बत राई, एलपी जोशीलगायतको अभिनय रहेको छ।

प्रतिकृया दिनुहोस