ब्लगबिहिवार, भाद्र १५, २०७४

नेपालमण्डलको 'सबाल्टर्न' मुटु

कनकमणि दीक्षित

एक–एक पाठकले आफूभित्र नियाल्न जरुरी छ, किन काष्ठमण्डपतर्फ ध्यान गएन ?

काष्ठमण्डप भत्कियो, भूकम्पबाट । अढाइ वर्ष भइसक्यो, पुनःनिर्माण अड्किएको छ । यो राष्ट्रिय लज्जाको विषय हो । उत्तिकै लज्जास्पद विषय हो, चर्चाको विषय नबन्नु यो ढिलाइ । मिडियाले नउठाए पनि स्वस्फूर्त जनचासो बन्नुपर्ने हो काष्ठमण्डप पुनःनिर्माण, तर हामी इतिहास तथा संस्कृति संरक्षणमा ध्यान नदिने जमातमा परिणत भइसकेका छौं ।

जिम्मेवार निकायको कमि–कमजोरीबारे टीकाटिप्पणी गर्न उफ्री उफ्री लाग्छौं, तर सम्पदाको विषयमा आफैंभित्र नियालौं– अढाइ वर्षमा पनि काष्ठमण्डप पुनःनिर्माण नहुँदा मलाई किन छोएन ? 

१२ वैशाख २०७२ मा काष्ठमण्डप अथवा मरुसत्तल ढल्दा मर्माहत भएकी थिइन् नेपाली प्राचीन कला र संस्कृतिकी ज्ञाता मेरी स्लसर, जसको गतहप्ता अमेरिकाको राजधानी वाशिङ्गटन डीसीमा ९९ वर्षको उमेरमा निधन भयो । उनको बुझाइ थियो, त्यो मरुमा रहेको सत्तल मन्दिर या पीठ नभई एउटा ठूलो पाटीको रुपमा निर्माण भयो करीब १३०० वर्ष अगाडि । धेरै पछि मात्र गोरखपन्थीले यसको एक भागमा अखडा जमाए ।

१५० वर्ष भन्दाअघि राजमानसिंह चित्रकारले कोरेको काष्ठमण्डपको चित्र ।

यो उपत्यका भित्र र बाहिरका भरिया, बटुवा, व्यापारी र यात्रुले आश्रय लिने थलो थियो, दक्षिण–उत्तर व्यापार मार्गको दोबाटोमा । छेवैमा पानीको स्रोत (आजको मरुहिटी) भएकाले पनि यात्रुहरुको लागि यो स्थान पायक पर्न गयो । पछि काष्ठमण्डपलाई केन्द्रविन्दु बनाउँदै, दक्षिणतर्फको यङ्गल र उत्तरतर्फको यंवु जोडिंदै गएर काष्ठमण्डप 'सिटीस्टेट' उत्पन्न भयो– हाम्रो काठमाण्डू ।

मेरी स्लसरले (स्व.) शुक्रसागर श्रेष्ठ, काशीनाथ टमोट जस्ता पुरातात्विक विद्वान् तथा नेपालमा चासो राख्ने पश्चिमा विज्ञहरूसँग ६ दशकसम्म सम्पर्कमा बसेर उपत्यकाबारे शोध, लेखन र प्रकाशन गरिन् । सन् १९८२ मा 'नेपालमण्डल' कृति दुई भोलुममा निकालिन् । र त्यसअघि विज्ञ गौतमवज्र बज्राचार्यसँग मिलेर काष्ठमण्डपकै कृति प्रकाशित भएको थियो सन् १९७४ मा ।

२०७२ वैशाखमा भुईंचालो गएपश्चात् उनले एक मित्रलाई लेखिन्– 'कस्तो विडम्बना ! सबैको ध्यान दरबार स्क्वायरहरूमा छ, जबकि नेपालको सबभन्दा महत्वपूर्ण इमारत त काष्ठमण्डप हो ।'

हो, पाटीको रुपमा सबैको आश्रयस्थल भएकोले काष्ठमण्डप त्यस्तो चम्किलो भवन होइन; न थियो यो मन्दिर या दरबार । राजारजौटा अथवा देवदेवीको नभई यो जनमानसको थलो थियो– सुस्ताउने, भजन गर्ने, स–सानो व्यापार गर्ने, अड्डा जमाउने ठाउँ ।

धरहराले नेपालवासीलाई राजधानी उपत्यका चिनायो । सिंहदरबारको 'फसाड' ले जनतालाई नेपाल राज्य जनायो । काष्ठमण्डपले ऐतिहासिक कालसँग वर्तमानलाई बाँध्यो, नेपालीजनमा राजकीय वा विभेदकारी नभई सांस्कृतिक निरन्तरताको सन्देश दियो । जसरी सुमेरु पर्वत ब्रह्माण्डको केन्द्रविन्दु मानिन्थ्यो, त्यसैगरी काष्ठमण्डप, नेपालमण्डल काठमाडौं उपत्यकाको मुटु बन्न पुग्यो ।

नेपालमण्डलबाट नेपाल उत्पत्ति भयो । र आज भन्नै पर्दछ, काष्ठमण्डप नेपाल राष्ट्रको मुटु हो । यत्ति पनि थपौं कि काठमाडौं नामै त यसबाट आयो भने आज कैयन् संस्थाले यसको नाम या आकार प्रयोग गरेका छन्― कान्तिपुर दैनिकको लोगो नै काष्ठमण्डपको आकारमा रहेको छ ।

हाम्रो ऐतिहासिक उत्पत्तिसँग गाँसिएको यस्तो भवनको पुनःनिर्माण भुईंचालो जानेवित्तिकै हुनुपर्थ्याे, तर आजैसम्म आलटाल र भाँजो हाल्ने काम भएको  छ। कसले यसो गर्‍यो भन्नेतर्फ नलागी दुइटा कुरा विचारौं― हामी एक–एक नागरिक यसबारे चिन्तित तथा जागरुक हुने कहिले ?

भुईंचालोपश्चातको अवस्था सम्झँदा मन खट्किन्छ । भग्नावशेषबाट जसोतसो खम्बा र सत्तरीहरू निकालेर, घिस्याएर पाखा लगाइए । एक–एक गरी केलाउँदै महत्वपूर्ण कलाकृति जगेर्ना गर्नुको साटो केही समयमै त्यहाँ डोजर चल्यो । मेरी स्लसरलाई चिन्ता थियो– त्यहाँ काठका ठूला खम्बामाथि रहेका सिंह आकारहरुको के हविगत भयो ? सत्तरी र खम्बामा ठोकिएका ११ ताम्रपत्र कता पुगे ? एकापट्टिको बार्दलीमुनि काठमा कुँदिएको बौद्ध र शिवमार्गी चित्रकथा (फ्रीज्) लाई के असर पर्‍यो ?

“तीनवटा ताम्रपत्र फेला परेका छन्”, काशीनाथ टमोट भन्छन् । ठाउँठाउँमा भाँचिए पनि त्यो 'फ्रीज्' स्व. शुक्रसागर श्रेष्ठले एक वर्षअघि हनुमानढोका परिसरमा फेला पारे । मेरी स्लसरले फ्रीज्को खबर एक वर्षअघि पाएपछि पृथ्वी पारिपट्टि एक्लै खुशी भइन् र टमोटलाई लेखिन्, “मलाई त सेप्टेम्बरमै क्रिसमस आएजस्तो भयो !”

काष्ठमण्डप बनाउँछु भनेर अघि सरेका जुझारु नागरिक तथा नवनिर्वाचित काठमाडौं महानगरपालिका पदाधिकारीबीचको मनमुटावले गर्दा पुनःनिर्माणको कार्य मात्र होइन, यसको सोच नै पनि ठप्प छ । यो अवस्था नेपालमण्डलको सांस्कृतिक गरिमा, ऐतिहासिकता तथा भविष्यप्रतिको जिम्मेवारी अनुकूल छैन । यस्तो विषयको बहस राष्ट्रिय तवरमा मिडियामा, नागरिक समाजमाझ, प्रोफेसर–विद्यार्थीमाझ र घरघरमा हुनुपर्ने हो । हाम्रा जनप्रतिनिधिले काष्ठमण्डप बनाइहाल भनेर संसद्को रोष्ट्रमबाट आह्वान गर्नुपर्ने हो ।

काष्ठमण्डप कुनै राजारजौटा अथवा भगवानको थलो होइन, आदिकालदेखि नै यो आमजनताको आफ्नो थियो । यसै कारण 'गणतन्त्र नेपाल' ले त यस सत्तलको महत्व झनै बुझ्नुपर्ने थियो । जनताकै थलो भएकै कारण भूकम्प गएको समयमा यहाँ नागरिकहरू भेला भएका थिए, रक्तदानको पवित्र कार्यमा जुटेका थिए । भवन ढल्दा १० जना टोलवासीको ज्यान गयो । दिवंगतहरूलाई समेत सम्झेर आजको असहज खिचातानी अन्त्य गर्दै मरुसत्तलको पुनःनिर्माणमा सबै लाग्नुपर्‍यो ।

इतिहास र ऐतिहासिकता बेगर 'नेपालमण्डल' खोक्रो, निर्जीव 'काठमाडौं' हुन्छ । यसको 'सबाल्टर्न' इतिहासले जनमानसको कथा–व्यथा बोल्छ । यस्तो विगत बोकेको सम्पदाको पुनःनिर्माणमा थप ढिलो नगरौं ।

प्रतिकृया दिनुहोस