वीरगञ्जमा मेयरका उम्मेदवार कस्ता–कस्ता
२ असोजमा हुने स्थानीय तह निर्वाचनमा विभिन्न दलबाट वीरगञ्जको मेयरका उम्मेदवारहरु अहिले घरघरमा ‘विकास सपना’ बाँड्न तल्लीन छन् ।
जियालाल साह, वीरगञ्जबाट
२ असोजमा हुने स्थानीय निर्वाचन नजिकिंदै जाँदा प्रदेश–२ को ‘हब’ मानिएको वीरगञ्ज निर्वाचनमय भएको छ ।
केही महीनाअघि मात्रै महानगर घोषणा भएको पर्साको वीरगञ्ज औद्योगिक क्षेत्र, मधेश आन्दोलनदेखि नाकाबन्दीसम्मका घटनाले पनि चर्चामा छ ।
वीरगञ्जमा कांग्रेसले अजय द्विवेद्वी, एमालेले बसरुद्दिन अन्सारी, माओवादी केन्द्रले रहबर अंसारी, संघीय समाजवादी फोरमले विजय सरावगीलाई मेयरको उम्मेदवार घोषणा गरेका छन् । राजपा नेपालले प्रमुख आकांक्षी दुई जना हुँदा उम्मेदवार तय गर्न सकेको छैन ।
अजय द्विवेद्वी (नेपाली कांग्रेस)
नेपाली काग्रेसबाट वीरगञ्ज मेयरका अकांक्षी अजय द्विवेद्वी वीरगञ्ज नगरपालिकाको उप मेयर, पार्टीको जिल्ला सभापति र सभासद समेत भईसकेका व्यक्ति हुन् ।
मृदुभाषि तर मुद्दा विशेषम स्पष्टता नभएका नेताका रुपमा चिनिने ५२ वर्षीय द्विवेद्वीले राजनीति शास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।
उनी वीरगञ्जमा सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय व्यक्ति हुन् ।
बसरुद्दिन अंसारी (एमाले)
नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक समेत रहेका बसरुद्दिन अंसारी नेकपा एमालेबाट मेयर पदका उम्मेदवार हुन् ।
पहिलो संविधान सभा निर्वाचनका बेला विभिन्न पार्टीलाई चन्दा दिएर हैरान भएका उनी दोस्रो संविधान सभाको निर्वाचनमा भने माओवादीबाट सभासदको उम्मेदवार बनेका थिए ।
उनी सम्बन्धन विवादमा परेको काठमाडौं नेशनल मेडिकल कलेजका सञ्चालक समेत हुन् ।
सधारण लवाई–खवाई र कसैसँग पनि झट्ट नरिसाउने बानी भएका ५४ वर्षीय अन्सारीले एमबीए अध्ययन् गरेका छन् । अन्सारी वीरगञ्जलाई स्मार्ट सिटी बनाउने, शिक्षाको विकास गर्ने लगायतका अजेण्डा साथ मैदानमा उत्रिएका छन् ।
विजय सरावगी (संघीय समाजवादी फोरम)
व्यापारीक पृष्ठभूमिका ५५ वर्षीय सरावगी तीन पटकसम्म उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष भइसकेका व्यक्ति हुन् ।
व्यवस्थापन विषयमा स्नातक सरावगी अहिले उद्योग वाणिज्य समितिका संयोजक, एशियन लाईफ इन्सुरेन्सका अध्यक्ष, ज्ञानदा एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका अध्यक्ष समेत हुन् ।
“२० वर्षदेखी हुन नसकेको वीरगञ्जको विकास ५ वर्षभित्रै गरेर देखाउने आँट र योजनाकासाथ मैदानमा उत्रिएको छु,” सरावगी भन्छन् ।
केही महीनाअघि मात्रै फोरम नेपालमा प्रवेश गरेर राजनीतिमा होमिएका सरावगी राजनीतिको अनुभव नभए पनि व्यवसायी उद्योगीको नेतृत्व र सामाजिक सेवाले गर्दा आफूलाई अप्ठ्यारो नपर्ने उनी बताउँछन् ।
रहबर अंसारी (माओवादी केन्द्र)
माओवादी केन्द्रका तर्फबाट वीरगञ्जमा मेयरका उम्मेदवार रहबर अंसारी सबैभन्दा कान्छा उम्मेदवार हुन् ।
सुशासन विषयमा हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट स्नाकोत्तर गरेका ३९ वर्षीय अंसारी राजनीतिमा नौला हुन् ।
वीरगञ्जको सडक सुधार, फोहरमैला व्यवस्थापन र स्थानीय स्तरमै रोजगार सृजना गर्ने नाराका साथ उनी चुनावी प्रचारमा छन् ।
राजेशमान सिंह (राजपाबाट दावेदार)
राजपाबाट वीरगञ्ज मेयरका दाबेदार राजेशमान सिंह पार्टीबाट आफ्नो उम्मेदवारी सुनिश्चित भइनसके पनि चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।
२०५४ सालमा वीरगंज नगरपालिकाको सदस्य भएर राजनितिमा लागेका सिंहको मधेश आन्दोलनमा सक्रिय भूमिका थियो ।
विभिन्न ठेक्कापट्टा संलग्न ४३ वर्षीय सिंह दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय मधेश समाजवादी पार्टी (हाल राजपा) बाट उम्मेदवार थिए ।
आफू वीरगञ्जको टोलटोलमा परिचित रहेको, यहाँका जनताको सुखदुखमा सँधै रहेकोले आफू नै निर्वाचनमा विजयी हुने उनको दाबी छ ।
भन्छन, “दुःखका बेला सहयोग गरेकालाई जिताउने कि मौसमी बाजा बजाउनेलाई ।” उनले आईएडसम्म अध्ययन् गरेका छन् ।
विमल श्रीवस्तव (राजपाबाट दाबेदार)
पटक पटक वीरगञ्जको प्रमुख भइसकेका श्रीवास्तव वीरगञ्जबासीबीच परिचित नाम हो ।
वीरगञ्जमा घडिअर्वा पोखरी, स्वमीङ्ग पुल, लिङ्क रोड, लक्षमणवा पार्क निर्माण उनकै पालामा भएको हो ।
आफूलाई वीरगञ्जबासीले राम्रोसँग चिन्ने र आफ्ना कामबाट समेत परिचित भएकाले पार्टीले आफूलाई नै उम्मेदवार बनाउनेमा उनी ढुक्क छन् ।
५८ वर्षीय श्रीवस्तावले अर्थशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् ।
राजपाबाटै मेयरको उम्मेदवारीका लागि दाबेदार राजमान सिंह कुनैबेला श्रीवास्तवकै राजनीतिक चेला थिए ।
दोस्रो संविधान सभाको चुुनावदेखी भने यी दुवै एक–अर्काका प्रतिस्पर्धी छन् ।