समाचारबुधवार, भाद्र १४, २०७४

न्यायका लागि निरन्तर संघर्षरत देवी

सविता श्रेष्ठ

छोरी मैना सुनारका हत्यारालाई कारबाही गराउन १३ वर्षदेखि न्यायको लडाइँ लडिरहेकी देवी अझै संघर्षमै छन् ।

देवी सुनार ।

५ फागुन, २०६० । वीरेन्द्र शान्ति तालिम केन्द्र, पाँचखालबाट खटिएको तत्कालीन शाही नेपाली सेनाको एक टोली काभ्रेपलाञ्चोकको खरेलथोक–६ पुग्यो । देवी सुनारलाई खोज्दै घरमा पुगेको सेनाको टोलीले देवीलाई घरमा नभेट्टाएपछि उनकी १५ वर्षीया छोरी मैनालाई लिएर फर्कियो ।

उसबेला माइती गएकी देवीले फर्कंदा मैनालाई देखिनन् । अर्को दिन छोरी खोज्दै पाँचखाल पुगेकी देवीलाई सेनाले भन्यो, ‘उनलाई पक्राउ गरिएकै छैन ।’ सैनिक अधिकारीहरूले बरु माओवादीले पक्राउ गरेको हुनसक्ने भन्दै ‘उतै बुझ्न जानू’ भने ।

“सेनाको हिरासतमा परेका मानिस र चिने–भेटेका सबै सैनिकसँग सोधिखोजी गरें” देवी भन्छिन्, “केही उपाय नलागेपछि अदालत गएँ ।”

कक्षा ९ मा पढ्दै गरेकी १५ वर्षीया मैना न माओवादी निकट थिइन्, न त सेना विरुद्धको गतिविधिमा संलग्न ।

यसअघि १ फागुन, २०६० मा देवीकै अगाडि उनकी भदैनी (दाजुकी छोरी) रिना रसाइलीलाई पक्राउ गरेको सेनाले भोलिपल्ट ‘रिना मूठभेडमा मारिएको’ भन्दै सूचना जारी गरेको थियो । विना कारण भदैनी मारिएकोमा देवीले विरोध गरिन्, मानवअधिकारकर्मीलाई बोलाएर घटनाबारे जानकारी गराइन् । “त्यसकै प्रतिशोधमा मलाई खोज्न आएका सेनाले छोरीलाई लगेका हुन्”, देवी भन्छिन् ।

मैना सुनार ।

झस्काउने दिन
एक छोरी र दुई छोराकी आमा देवीसँग छोराछोरीको लेखपढ बाहेक खासै ठूला सपना थिएनन् । स्कूलबाट फर्केपछि मैना गाउँका बालबालिकालाई पढाउँथिन्, देवी खेतीपातीमै व्यस्त हुन्थिन् । “छोरीले पढाएको देख्दा खुशी लाग्थ्यो” देवी सम्झिन्छिन् ।

प्राथमिक तहसम्म अध्ययन गरेकी उनी महिला स्वास्थ्य स्वयंसेविका पनि थिइन् । दुःखसुख चलिरहेको देवी परिवारको दैनिकी ५ फागुन, २०६० को अकल्पनीय घटनाले फनक्कै मोडिदियो । त्यसपछिका १३ वर्ष उनका लागि असीम पीडा र संघर्षका दिन रहे । ५० वर्षीया देवी भन्छिन्, “त्यो सम्झिंदा पनि झस्किन्छु ।”

लामो पर्खाइ
उनी छोरीको खोजीको लागि श्रीमानसँगै काठमाडौं आइन् । सरकारी कार्यालय र विभिन्न संघसंस्था धाउँदै दिन बित्थ्यो ।

खाने बस्ने ठेगान थिएन । आफन्तले पनि सहयोग गर्न छोडे । संकटकालको बेला कोठा खोज्दा पनि नागरिकता देखाउनुपर्ने, सेनाको डर । उनी भन्छिन्, “कति रात मन्दिरमै बिताएँ ।”

दुई छोरा पनि सँगै थिए । उनीहरूलाई स्कूलमा कसैले मैनाको नाम लिएर सोधखोज गर्न थालेपछि केही नभन्नु भनेर सिकाएकी थिइन् । एकपटक केही मानिसहरू देवी र मैनाको नाम लिंदै स्कूलमा आएपछि छोराहरू झ्यालबाट हामफालेर भागेछन् । “त्यसपछि स्कूल पनि पठाइनँ” देवी भन्छिन् ।

केही दिनपछि दुवै छोरालाई सिविन नेपालले आश्रय दिएपछि सुविस्ता भयो । तर, आफूलाई जोगाउन पनि लुकीलुकी हिंड्नुपर्ने बाध्यता छँदैथियो ।

देवीको लगातारको संघर्ष र राष्ट्रिय मानवअधिकार आयोगसहित अन्तर्राष्ट्रिय संस्थाहरूले समेत ‘गम्भीर मानवअधिकार उल्लंघनको घटना’ मा छानबीन गर्न दबाब बढाएपछि सेनाको ‘कोर्ट अफ इन्क्वायरी’ ले २०६१ चैतमा मैनाको यातनाका कारण मृत्यु भएको भन्ने प्रतिवेदन सार्वजनिक ग¥यो र यातनामा संलग्न व्यक्तिहरूलाई सैनिक ऐन बमोजिम कारबाही गर्ने निर्णय ग¥यो ।

देवी सुनार ।

अदालतको यात्रा

सैनिक अदालतले २३ भदौ, २०६२ मा महासेनानी बबी खत्रीलाई ६ महीना कैद र दुई वर्ष बढुवा रोक्का, सेनानीद्वय सुनिलप्रसाद अधिकारी र अमित पुनलाई ६ महीना कैद र एक वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । बबीबाट रु.५० हजार तथा सुनिल र अमितबाट रु.२५÷२५ हजार जरिवाना गरेको थियो ।

त्यसपछि २०६२ कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा देवीले दिएको जाहेरी दर्ता गरे पनि कारबाही अगाडि बढेन । सर्वोच्च अदालतले तीन महीनाभित्र अनुसन्धान पूरा गर्न २०६४ असोजमा आदेश दिएपछि मात्रै जिल्ला प्रहरी कार्यालय, काभ्रेले अनुसन्धान गरेर माघमा जिल्ला अदालत काभ्रेमा अभियोगपत्र दर्ता ग¥यो ।

उक्त मुद्दामा गत वैशाखमा अदालतले गैरकानूनी रूपमा नियन्त्रणमा लिई व्यारेकभित्र हत्या गरिएको ठहर गर्दै सेनाका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जन्मकैदको फैसला सुनाएको छ । फैसलाप्रति असन्तुष्ट देवी भन्छिन्, “किटानी जाहेरीमा उल्लेख भएका सबैलाई कारबाही भएन, अदालतले फेरि अदालतमै फर्काउने काम गरेको छ ।”

न्यायको लडाइँ सजिलो छैन भनेर चूप लागेको भए यति पनि नहुने बताउँदै उनी भन्छिन्, “द्वन्द्वको समयमा मैनाजस्ता युद्धमा नलागेका, हतियार लिएर भिड्न नहिंडेका धेरै मारिएका छन् । सबै परिवारले न्याय पाउनुपर्छ । मैनाको मुद्दाले न्यायको ढोका खोलेको छ तर, लडाइँ अझै टुङ्गिएको छैन ।”

न्यास्रो मेट्ने छोरी

सशस्त्र हिंसाका बेला देवीले भदैनी, छोरी र श्रीमान् गुमाइन् । बनेपामा कुखुरापालन गरिरहेका श्रीमान् २०६५ मा औषधि लिन घरबाट निस्केका थिए, फर्केर आएनन् । अर्को दिन मृत भेटिए । तैपनि देवीले हार मानिनन् । अहिले काठमाडौंमै स्टेशनरी पसल सञ्चालन गरेर बसेकी छन् । दुई छोराका साथमा रहेकी देवीले अलपत्र पारिएकी एक बालिकालाई छोरी बनाएकी छन् ।

१२ वैशाख, २०७२ को भूकम्पपछि सहयोग माग्दै आएकी एक गर्भवती महिलालाई देवीले आश्रय दिइन् । करीब एक महीनापछि ती महिलाबाट जन्मिएकी छोरीलाई अहिले देवीले स्याहारिरहेकी छन् । “उसले छोरी स्याहार्न÷पाल्न सक्दैन भनेपछि मैले नै राखें” देवी भन्छिन्, “यसलाई हेरेरै मैनाको न्यास्रो मेट्ने कोशिश गर्छु ।”

९ चैत, २०६३ मा पाँचखाल ब्यारेक नजिकको जंगलबाट उत्खनन् गरिएको मैनाको शव अझै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छ । अन्तिम संस्कार गरिएको छैन । अब छोरीको शव मैना स्मृति प्रतिष्ठानमा राख्ने सोच बनाएको उनी बताउँछन् ।

देवी बनेपामा रहेको आफ्नो आठ रोपनी चार आना जग्गामा मैना स्मृित प्रतिष्ठान स्थापनाको तयारीमा छन् । “अहिल्यै थाक्ने छूट मलाई छैन, न्याय पाउन बाँकी नै छ, मैनाका नाममा अध्ययन केन्द्र पनि बनाउनु छ”, देवी भन्छिन् ।

प्रतिकृया दिनुहोस