रिपोर्टमंगलवार, भाद्र १३, २०७४

विषादी प्रयोगः घातक दरमा वृद्धि

रमेशकुमार

तरकारी र फलफूलमा जथाभावी विषादी प्रयोगले उपभोक्ताको स्वास्थ्यमा घातक जोखिम बढाएको छ ।


मकवानपुर, दामनका किसान बन्दागोभीमा विषादी हाल्दै । तस्वीरः हिमाल आर्काइभ

आर्थिक वर्ष २०५४/५५ मा नेपालमा जम्मा ५६ टन रासायनिक विषादी (खास विष अवयव) प्रयोग भएकोमा आव २०७२/७३ मा करीब १० गुणा बढेर ५७४ टन पुग्यो। (हे. तालिका) कृषि विकास मन्त्रालयअन्तर्गत बाली संरक्षण निर्देशनालयका वरिष्ठ अधिकृत रामकृष्ण सुवेदी देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको बताउँछन्। विषादीको जथाभावी प्रयोग चाहिं निकै जोखिमपूर्ण र चिन्ताजनक रहेको उनले बताए। 

तरकारी र फलफूल बालीलाई रोगकीराबाट बचाउन गलत तरिकाले जथाभावी विषादी प्रयोग भइरहेको जानकारहरू बताउँछन्। त्यसबाट उपभोक्ताको स्वास्थ्य र पर्यावरण जोखिममा घातक असर परिरहेको छ। विषादी अवशेष धेरै रहेका फलफूल र तरकारी बजारमा आइरहँदा शहरी क्षेत्रका उपभोक्ताको स्वास्थ्यमा बढी जोखिम थपिएको जानकारहरूको भनाइ छ।

झन् कडा विषादी
सन् १९५० को दशकमा औलो उन्मूलन कार्यक्रमअन्तर्गत अमेरिकी सहयोग नियोग यूएसएआईडीको सहयोगमा अमेरिकाबाट डीडीटी भित्रिएसँगै नेपालमा रासायनिक विषादी प्रयोग शुरू भएको हो। त्यसयता यसको प्रयोग निरन्तर चुलिंदो छ। खास गरेर, २०६६/६७ पछि व्यावसायिक तरकारी खेतीको चलन बढेसँगै यसको दुरुपयोग नै हुन थालेको वरिष्ठ बाली संरक्षण अधिकृत सुवेदी बताउँछन्।

नेपालमा खपत हुने रासायनिक विषादीमध्ये करीब ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुन्छ। आव २०७२/७३ मा मात्र रु.६९ करोड ४४ लाखको ५७४ टन विष अवयव भित्रिएको थियो। नेपालमा रासायनिक विषादीको खपत दर भन्दा पनि प्रयोग विधि आत्तिनुपर्ने किसिमको भएको जानकारहरू बताउँछन्।

उनीहरूका अनुसार, जुन किसिमले प्रयोग भइरहेको छ, त्यसले मानव स्वास्थ्य र वातावरणमा खतरनाक जोखिम थपेको छ। “विकसित देशको तुलनामा हामीकहाँ कृषि बालीमा विषादीको प्रयोग न्यून भए पनि प्रयोग विधिले जोखिम बढाएको छ”, बाली संरक्षण निर्देशनालयका अर्का वरिष्ठ अधिकृत राजीवदास राजभण्डारी भन्छन्।

नेपालमा प्रतिहेक्टर औसत ३९६ ग्राम विषादी प्रयोग भइरहेको सरकारी आँकडा छ। कोरियामा यो दर प्रतिहेक्टर १६ किलो, चीनमा १२ किलो र अमेरिकामा डेढ किलो छ। आँकडामा नेपालको विषादी प्रयोग न्यून देखाउँछ। अझ् हिमाली र अधिकांश पहाडी क्षेत्रमा विषादीको प्रयोग शून्यजस्तै छ।

तराई र काठमाडौं उपत्यका वरपरका व्यावसायिक तरकारी खेती गरिने स्थानमा भने विषादीको भयावह प्रयोग भइरहेको राजभण्डारी बताउँछन्। उनका अनुसार तरकारी बालीमा देशभर औसतमा १६०० ग्राम प्रतिहेक्टर विषादी प्रयोग भइरहेको छ। अर्थात्, नेपालमा थोरै क्षेत्रमा धेरै विषादी प्रयोग भइरहेको छ।

पूर्व सचिव समेत रहेका कृषि विज्ञ डा. हरि दाहाल त उपलब्ध तथ्यांकमा नै प्रश्न गर्नुपर्ने बताउँछन्। उनका अनुसार, देशभर विषादी प्रयोगको औसत दरले शहरी क्षेत्रको भान्सामा पाक्ने तरकारीको सही प्रतिनिधित्व गर्दैन। हुन पनि, कृषि मन्त्रालयका पूर्व सचिव गणेश केसी, डा. भीमसेन केसीसहितका विज्ञ टोलीले चार वर्षअघि गरेको अनुसन्धानले काभ्रेको गोलभेंडामा १४.५ किलो प्रतिहेक्टर, सर्लाहीको गोलभेंडामा ९ किलो प्रतिहेक्टरसम्म विषादी प्रयोग भएको देखाएको थियो।

त्यस्तै, उपत्यका वरिपरि काउली, बन्दालगायतका तरकारीमा प्रतिहेक्टर सात किलोसम्म विषादी प्रयोग भएको पाइएको थियो। धादिङ, काभ्रे, मकवानपुर र बारामा कुल विषादीको ९० प्रतिशतसम्म खपत हुने बाली संरक्षण निर्देशनालयकै अनुमान छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अर्को अध्ययनमा पनि नमूना लिइएकामध्ये १२ प्रतिशत खाद्यान्न तथा तरकारीमा अखाद्य विषादीदर उच्च भेटिएको थियो। चियालगायतका खाद्य पदार्थमा पनि उच्च दरमा रासायनिक विषादीको प्रयोग हुने गरेको छ।

विषादी प्रयोग आकाशिए पनि कृषि उत्पादकत्व भने त्यस अनुपातमा वृद्धि भएको छैन। २०५९/६० मा तरकारीको उत्पादकत्व दर १० हजार ८४४ किलो प्रतिहेक्टर रहेकोमा अहिले जम्मा १३ हजार ९९२ किलो प्रतिहेक्टर पुगेको छ। यो अवधिमा विषादीको प्रयोग भने ३२३ प्रतिशतले बढेको छ।

रोगकीरा प्रतिरोधी रैथाने बालीको सट्टा आयातित हाइब्रिड बीउ रोप्ने चलनसँगै विषादी प्रयोग बढेको मानिन्छ। विषादी प्रयोगसँगै रोगकीराको प्रतिरोधात्मक क्षमता पनि बढ्दै जान्छ। त्यसबाट झ्न् नयाँ र कडा विषादीको प्रयोग बढ्दै गएको छ।

प्रयोग विधिमा समस्या
विषादी प्रयोगमा घटी–बढी भन्दा पनि प्रयोग विधि महत्वपूर्ण हुने विज्ञहरू बताउँछन्। बाली संरक्षण निर्देशनालयका वरिष्ठ अधिकृत मानबहादुर क्षेत्री प्रयोग गर्ने तरिका गलत हुँदा तरकारी किसान र उपभोक्ताको स्वास्थ्यसँगै जैविक वातावरण ध्वस्त भइरहेको बताउँछन्। उनका अनुसार, सामान्यतः विषादीको प्रकार र मौसम हेरी विषादी छरेको एक सातापछि मात्र तरकारी उपभोगका लागि सुरक्षित हुन्छ, तर तुरुन्तैजसो उपभोक्ताका भान्सामा पुगिरहेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको एक अध्ययनले ६० प्रतिशत किसान विषादी प्रयोग पछिको पर्खाइ अवधिबारे अनभिज्ञ रहेको देखाएको थियो। चाँडो टिप्ने मात्र होइन, तरकारीलाई ताजा र चम्किलो देखाउन विषादीको घोलमा डुबाएर बजार लैजाने गरिन्छ।

त्यस्ता तरकारी अरू अन्न र फलफूल भन्दा बढी खतरनाक हुने नै भयो। अधिक विषादी प्रयोग गर्ने किसानहरूमा आफ्नै सुरक्षाको ज्ञान समेत नरहेको विभिन्न अध्ययनले देखाएका छन्। उनीहरू बालीमा विषादी छर्दा हात–मुख र छालालगायत शरीरका भागहरू छोप्न मास्क, चश्मा आदि लगाउँदैनन्। यस्तो लापरबाहीबाट उपभोक्ताभन्दा कृषक नै बढी जोखिममा पर्ने विज्ञहरू बताउँछन्।

वरिष्ठ बाली संरक्षण अधिकृत क्षेत्री बाली, मौसम, माटोको अवस्था आदि नहेरी र तरिका नमिलाई विषादी छर्किंदा प्रभावकारी नहुने बताउँछन्। तर, त्यस्ता कुरामा विचारै नगरी खाली उत्पादन बढाउने र आकर्षक देखाउन पटक–पटक विषादी धेरै छर्कने चलन छ। विषादीको बट्टामा लेखिएका अक्षर पढ्न र अर्थ खुट्याउन नसक्ने किसान तथा विना परामर्श बिक्री गर्ने बिक्रेताका कारण पनि अन्धाधुन्द प्रयोग बढेको छ। वरिष्ठ बाली संरक्षण अधिकृत क्षेत्री भन्छन्, “त्यसकारण अब विषादीलाई औषधिको सट्टा विष नै भन्न थाल्नुपर्छ।”

उपत्यका भित्रिने तरकारीमध्ये गोलभेंडा, काउली, बोडी र सिमीमा विषादीको अवशेष ज्यादा देखिने गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारस्थित विषादी अवशेष द्रूत विश्लेषण इकाइले २०७३/७४ मा परीक्षण गरेको तरकारीका एक हजार ९३० नमूनामध्ये २२ वटामा अत्यधिक विषादी अवशेष भेटिएको थियो।

तीमध्ये पनि पाँच वटामा खान मिल्नेभन्दा बढी विषादी भेटिएको थियो। इकाइ सञ्चालनमा आएको पहिलो वर्ष (२०७१ असार) परीक्षण भएका १८७ नमूनामध्ये २६ वटा तरकारीमा खान मिल्नेभन्दा बढी विषादी देखिएको थियो।

कालीमाटीमा नमूना परीक्षण हुन्छ भनेपछि अत्यधिक विषादी प्रयोग गरिएका तरकारीहरू अन्यत्रका बजारमा पुर्‍याउन थालिएको यस क्षेत्रका विज्ञहरू अनुमान गर्छन्। कालीमाटीमा दैनिक ८ वटा नमूना परीक्षण गरी विषादीको मात्रा बढी भएका तरकारी नष्ट गर्न लगाइन्छ। इकाइले खाद्यवस्तुमा विषादीको मात्रा नाप्ने निषेध दर (इन्हिबिसन रेट) ४५ प्रतिशतभन्दा बढी भएका तरकारीलाई अखाद्य, ३५ देखि ४५ प्रतिशत भएकालाई निश्चित अवधि राखेर मात्र खान मिल्ने र ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरेको छ।

इकाइले दुई वटा मात्र विषादीको मात्रा परीक्षण गर्ने भएकाले कीटनाशक अर्ग्यानो–फोस्फेट र कार्बामेट्स बाहेकका विषादीको अवशेष पत्ता लाग्दैन। बाली संरक्षण निर्देशनालयअन्तर्गतको यो इकाइले बिर्तामोड, बुटवल, पोखरा, सर्लाही, नेपालगञ्ज र अत्तरियामा पनि परीक्षण कक्ष सञ्चालनमा ल्याएको त छ, तर साइपरमेथरिनलगायतका अन्य विषादी प्रयोग भएको पत्तो लाग्दैन।

नर्वे सरकार र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संस्थाको प्राविधिक सहयोगमा दुई दशकअघि शुरू भएको जैविक एवं प्राङ्गारिक विषादीको प्रयोग बढाउने एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कार्यक्रम प्रभावकारी देखिएको छैन। २०७० यता नेपाल सरकार आफैंले सञ्चालन गरेको यो कार्यक्रमले खेतीपातीको तरिका, बीउ छनोट, प्राङ्गारिक विषादी प्रयोग आदिमा सहयोग गर्छ। तर, रासायनिक विषादीको प्रयोग द्रूत गतिमा बढ्दा आईपीएमको प्रभावकारितामा शंका उत्पन्न भएको पूर्व सचिव डा. हरि दाहाल बताउँछन्।

प्रतिबन्धितको प्रयोग
बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखामा दुई हजार २७५ वटा व्यापारिक नाम भएका १३२ थरीका विषादी दर्ता गरिएका छन्। तिनमा ५१ थरीका कीटनाशक विषादी (इन्सेक्टिसाइड) छन्। नेपालमा सबभन्दा बढी कीटनाशक र ढुसीनाशक विषादी प्रयोग हुन्छ। अन्य विषादीको तुलनामा कडासमेत हुने कारणले कीटनाशकले मानव स्वास्थ्य र जैविक वातावरण दुवैमा गम्भीर नोक्सान पुर्‍याउँछ। सरकारले १६ थरीका विषादीलाई प्रतिबन्धित सूचीमा राखेको छ। (हे. तालिका) अहिले कीटनाशक डाइक्लोरभसलाई पनि प्रतिबन्धित विषादीको सूचीमा राख्न छलफल चलिराखेको छ।

नेपालले प्रतिबन्धित गरेका तर भारतमा खुला रहेका विषादीहरू पनि ल्याएर बिक्रीवितरण भइरहेको छ। नेपालमा म्याद नाघेका र नक्कली विषादीको पनि विगविगी रहेको जानकारहरूले बताउने गरेका छन्। उनीहरूका अनुसार, जीवनाशक विषादी ऐन २०४८ को फितलो प्रावधानका कारण प्रतिबन्धित र नक्कली विषादीको बिक्रीवितरण रोक्न सकिएको छैन। तर, अब कडा कानूनी प्रावधानसहितको नयाँ विषादी ऐन ल्याउने तयारी भइरहेको छ।

९८ प्रतिशत कीटनाशक (इन्सेक्टिसाइड) र ९५ प्रतिशत झारनाशक (हर्बिसाइड) विषादीले लक्षितभन्दा अन्य वनस्पति तथा कीराफट्याङ्ग्रामा सीधा असर पुर्‍याएको विभिन्न अध्ययनले देखाएका छन्। विषादीले मानव, पशुपन्छी, वनस्पति, पानी, माटो, हावा, पारिस्थितिक प्रणाली सर्वत्र गम्भीर असर पारिरहेको छ। मानव शरीरमा धान्नेभन्दा बढी रासायनिक विषादी पुगे मुटु, कलेजो, मिर्गौला, स्नायु प्रणाली, रक्त प्रणाली आदिमा क्षति पुर्‍याउनेदेखि क्यान्सरसम्मको स्वास्थ्य समस्या हुने विज्ञहरू बताउँछन्।

 

प्रतिकृया दिनुहोस