निर्वाचित प्रतिनिधिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने शुक्लाफाँटा नगरपालिकाको निर्णय
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकले छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
सामुदायिक विद्यालयप्रतिको जनविश्वास वृद्धि गरी शिक्षाको गुणस्तर उकास्न अभियान सञ्चालन गरिएको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ ।
राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जननिर्वाचित प्रतिनिधि र नेताका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था नगरपालिकाले नीति तथा कार्यक्रममै समेटेको छ ।
राज्यको ठूलो लगानी रहेको शिक्षाले अपेक्षित प्रतिफल नदिएकाले सामाजिक अगुवाका रुपमा रहेका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अभियान सञ्चालन गरिएको मेयर दिलबहादुर ऐरले जानकारी दिए ।
शुक्लाफाँटा नगरपालिकामा आधारभूत तहको पढाइ हुने सामुदायिक विद्यालय १८ र माध्यमिक तहको पढाइ हुने विद्यालयको संख्या नौ रहेको छ । दुबै तहका विद्यालयमा गरी झण्डै आठ हजारभन्दा बढी बालबालिका अध्ययनरत् छन् । नगरपालिकामा २७ वटा निजी विद्यालय छन् । रासस