रिपोर्टसोमवार, भाद्र १२, २०७४

रौतहट डुबाउने ‘दशगजा तटबन्ध’ भारतबाट पुन:निर्माण हुँदै

कनकमणि दीक्षित

उता प्रधानमन्त्री शेरबहादुर देउवा विहारका मुख्यमन्त्री नीतीश कुमारसँग बैठकमा थिए, यता रौतहट डुबाउने भत्किएको तटबन्ध हतारोमा बनाइँदै थियो ।

स्थलगत

'दशगजा तटबन्ध' पुन:निर्माणका लागि बोरामा बालुवा भरिंदै । सबै तस्वीर: कनकमणि दीक्षित

रौतहट ७० प्रतिशत भन्दा बढी डुबानमा पर्‍यो २७–३० साउनको वर्षाले । नेपालभित्रको पश्चिमपट्टिको उत्तर–दक्षिण लालबकैया तथा पूर्वपट्टिको उत्तर–दक्षिण वागमतीको तटबन्ध भत्किएपछि २०५० सालयता आफूलाई सुरक्षित ठानेको यो जिल्लामा जनधनको ठूलो नाश भयो ।

पानीले निकास नपाउँदा बाढी भीषण बन्न पुग्यो । निकास रोकेको थियो, सिमानाको दशगजाको छेवैबाट भारतीय पक्षले निर्माण गरेको पूर्व–पश्चिम ३०–३५ फिट अग्लो तटबन्धले ।

पानी बढेर घर–घर छिर्दै थियो, ज्यान जोगाउन सदरमुकाम गौरवासी माथिल्लो तला र छतमा पुगे, तर त्यतिले पनि पुग्नेवाला थिएन । धन्न २९ गते बेलुकी ५ बजेतिर ‘दशगजा तटबन्ध’को पूर्वपट्टीको २०० फिट जतिको भागलाई पानीले फुटायो । पानीले निकास पायो र गौरलगायत दक्षिण रौतहटका बस्ती र बासिन्दाको ज्यान बच्यो ।

तर, आज हेर्न चाहने सबैको आँखा अगाडि भारतीय अधिकारीले त्यो फुटेको भाग हतारहतार गरी टाल्दैछन्, दुई सयभन्दा बढी मजदूर र तीनवटा ट्रयाक्टरको रात–दिन प्रयोग गर्दै । तर, नेपालतर्फको प्रशासन, प्राविधिक, राजनीतिकर्मी, सामाजिक अगुवा, सबैको ध्यान अन्यत्रै जस्तो छ ।

तटबन्धको पुनः निर्माण जारी ।

भारत भ्रमणमा रहेका प्रम शेरबहादुर देउवाले ११ भदौमा पटनामा बिहारका मुख्यमन्त्री नितिश कुमारसँग सिमानामा हुने समस्या हल गर्न बनेको संयन्त्रलाई परिचालन गर्ने सम्झौता गरिरहेकै बेला बिहारका सरकारी अधिकारीहरू रौतहट फेरि डुबाउने गरी तटबन्धको पुनःनिर्माण गर्दैथिए ।

यो ‘एपिसोड’ ले नेपालको राज्य संयन्त्र र नेपाली राष्ट्रिय समाजले भारतसँगको सीमा क्षेत्रमा हुने डुबान जस्तो बल्झिंदो समस्या समाधान गर्ने क्षमता नराखेको प्रमाणित गर्दछ ।

यसले समथरको सबभन्दा दक्षिणमा रहेका सीमान्तकृत समुदायहरूमाथिको राज्य संचालक, एक–एक राजनीतिक दल तथा बौद्धिक वृत्तको बेवास्ता पनि प्रष्ट पार्दछ ।

कुनै बेला यहाँ सामान्य दशगजा रहेको स्थानीय अगुवाहरू बताउँछन्– वारि–पारि जोड्ने उस्तै समथर । त्यसपछि बन्न थाल्यो पहिला ५–६ फिटको तटबन्ध, दशगजाको १०० फीट जति दक्षिणपट्टि ।

शुरूदेखि नै गौरको ठीक दक्षिण बिहार राज्यमा पर्ने ‘सिस्टर सिटी’ बैरगिनियालाई बचाउने योजना देखिन्छ– नेपाली भूभाग र वासिन्दाको पर्वाह नगरी ।

दशकौं अगाडिदेखि नै नेपाली राजनीतिक नेतृत्व तथा प्रशासन यहाँको तटबन्ध निर्माणक्रम तथा यसको उँचाइ र मोटाइ नियन्त्रण गर्न अक्षम देखिए २०७४ सम्मै ।

२०५० को ठूलो बाढी पश्चात ‘दशगजा तटबन्ध’ को उँचाइ थप्ने कामले गति लियो– दुई पटक तीन–तीन फिट गरेर ६ फिट थपियो, नेपाली पक्ष हेर्‍या–हेर्‍यै । यस्तो निर्माणले रौतहट डुब्ने पक्का थियो ।

तीनतिरको तटबन्ध पूर्वमा वागमती, पश्चिममा लालबकैया, दक्षिणमा दशगजा तटबन्ध हुँदाहुँदै रौतहटलाई विशाल तालमा परिणत गर्ने अवस्था दशगजा तटबन्धबाटै भयो ।

यहाँ पानीलाई निकास दिने ‘स्लुइस गेट’ नराखी जम्मा तीन फुट गोलाइको ह्युमपाइप आधा किमीको अन्तरालमा राखिएको छ, त्यो पनि भारतीय नियन्त्रणमै खोल्ने र बन्द गर्ने गरी । त्यती सानो प्वाल, खोले पनि नेपालपट्टिको पानीले पर्याप्त निकास पाउने कुरै भएन ।

यत्रो ठूलो तटबन्दको लागि चाहिने माटो उत्तरपट्टि खनेर झिकियो, ताकि बैरगिनियापट्टिको जमीन यथावत रहोस् । परिणाम, उत्तरपट्टि नाला बन्न गयो, जसले झन् पानी उत्तरपट्टि नै जम्मा हुने गराइयो ।

३ फिट व्यासका यस्ता ह्युमपाइपलाई कल्भर्टको रुपमा पानी बग्न अपर्याप्त प्रयोग गरिएको छ ।

प्रश्न उठ्छ– यत्तिका वर्ष तटबन्ध अग्लोमा अग्लो बनाइँदै जाँदा नेपालका सबै सरोकारवाला किन चूप ? जवाफ– स्थानीय तवरमा भन्दा वागमती र लालबकैयाको तटबन्धले रौतहटलाई बचाइहाल्छन् भन्ने सोच । राष्ट्रिय तवरमा यस क्षेत्रप्रतिको संवेदनशीलता तथा जवाफदेहीको कमि, तर योभन्दा पनि बढी भारतलाई नचिढ्याउने सोच, या भनौं नीति । जो बाढीले त्यत्रो नोक्सान गरिसक्दा पनि यथावत नै रहेको देखिन्छ ।

२९ साउनको दिनभरमा रौतहट जलमग्न भइसकेको थियो । स्थानीयवासी घर–घरको छतमा उक्लिए, तर पानीको सतह निरन्तर बढ्दो थियो । प्रलय नै हुनेवाला थियो र हजारौं ज्यानको क्षति । भाग्यवश, बेलुका ५ बजेतिर प्रकृति स्वयं रौतहटवासीको उद्धारमा अघि सर्‍यो ।

जम्मा भएको पानीको ठूलो चापले तटबन्धको पूर्वी भागको २०० फिट सेक्सन फुटाइदियो । भूइँतलाको बस्तुभाउ, फसल, श्रीसम्पत्ति, अन्न आदि नबचे पनि ज्यान बच्यो ।

तटबन्ध बीचतिर फुटेको भए पारिपट्टिको बैरगिनिया शहर बगाउँथ्यो, धन्न त्यसो भएन र बिहारपट्टि पनि क्षति कम भयो– स्थानीयबासी बताउँछन् ।

पत्याइनसक्नु विडम्बना, ११ भदौमा एक टोलीसहित यस पंक्तिकार त्यहाँ पुग्दा तटबन्ध फुटेको ठाउँमा धमाधम पुनःनिर्माण भइरहेको थियो ।

पुनःनिर्माणका लागि बैरगिनियाका स्थानीय नभई, १०० किलोमिटर परको मुजफ्फरपुरबाट ल्याइएका झण्डै २०० मजदूर खटाइएका छन् । केही दिनमै तटबन्ध जस्ताको तस्तै गरी उभिनेछ र उत्तरतिरको पानी रोक्ने छ ।

सीमास्तम्भ र दशगजा क्षेत्र, जहाँबाट तटबन्धको लागि माटो झिकिएको छ ।

प्रम देउवा भारत भ्रमण गरिरहेका थिए तटबन्ध पुनःनिर्माण यसरी भइरहँदा । यो सूचना काठमाडौंमा प्रम कार्यालय मार्फत उनीसम्म पुर्‍याउन कोही अघि सरेको देखिएन ।

मात्र ‘जेनेरालिटिज’ मा केही गर्न अठोट भयो पटनामा प्रधानमन्त्री र मुख्यमन्त्रीबीच, तर त्यसले के राहत पुग्ला र रौतहटवासीलाई जब अर्को ठूलो बाढी आउँछ !

रौतहट–बिहार सीमामा ठडिएको ‘दशगजा तटबन्ध’ ले दक्षिण सीमाका एक दर्जनभन्दा बढी यस्ता दक्षिणी तटबन्धले पिरोलेको क्षेत्रको अवस्था प्रतिबिम्बित गर्दछ ।

सबैले आफ्नो सुरक्षा गर्ने परिपाटी अनुरूप भारतीय नागरिकहरूले आफूलाई सजिलो पार्न तटबन्धको माग गर्ने नै भए र त्यताका अधिकारी परिपूर्ति गर्न अग्रसर हुने नै भए ।

भारतीय तथा उसका प्रान्तीय सरकारहरुले नेशनल हाइवे, अन्य राजमार्ग, स्थानीय सडक, सिंचाइ नाला, शहरी बसोबास आदि निर्माण गर्दा उँचाइमा बनाउने कोशिश गर्ने नै भए (त्यो पनि अक्सर नेपालको चुरेको गिट्टी ढुंगा लगेरै) ।

आफ्नो प्रतिरक्षा गर्ने काम त नेपालको स्थानीय तथा राष्ट्रिय नेतृत्व, प्रशासक तथा नागरिक समाजको हो ।भारतसँग निरन्तर सम्वादमा रहेर पानी ढलोको प्राकृतिक सिद्धान्त विपरित नजान र तटबन्ध निर्माणको स्वचालित सोच त्याग्न ‘कन्भिन्स’ गराएर ।

डुबानमा परेको रौतहट सदरमुकाम गौर ।

दुई दशक स्थानीय निर्वाचित जवाफदेही सरकार नभएको कारण पनि दक्षिणतर्फ यति धेरै तटबन्ध बन्न पाएका हुन् । यस्तो विषम परिस्थितिमा पनि एउटा सफल उदाहरण भने हाम्रो सामू छ– जसरी सिरहाका जुझरुहरूले केही वर्षअघि गगन खोलामा भारतीय पक्षले तटबन्ध बनाउन खोज्दा रोक्न सफल भए । जसका करण आजसम्म र यसपालि पनि त्यो क्षेत्रका नेपाली गाउँहरू जोखिममा परेनन् ।

१२ भदौसम्म रौतहटको भत्किएको दशगजा तटबन्ध पुनःनिर्माण गर्ने काम आधा–आधी सकिएको छ । अब हेर्नुपर्नेछ– के गर्न चाहन्छ, के गर्न आँट गर्दछ नेपाल सरकार !

 

माथिको भिडियोमा– बायाँदेखि दायाँ– बैरगिनिया (बिहार), ‘दशगजा तटबन्ध’, गौर (रौतहट) ।

प्रतिकृया दिनुहोस