टिप्पणीआइतवार, भाद्र ११, २०७४

प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको प्रतीक्षा

मनिष झा

भारतसँगको सम्बन्धलाई आफ्नो राजनीतिक स्वार्थपूर्तिको माध्यम मात्र बनाइरहने हो भने हाम्रा नेताले लाभ त पाउलान् तर देशले धेरै गुमाउनेछ ।

भारतीय समकक्षी मोदीका साथमा प्रम देउवा । तस्वीरः रासस

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा उपत्यकाको सुरक्षा व्यवस्था र सरसफाइ हेर्नलायक थियो । प्रम मोदीले सदनमा दिएको मन्तव्यले हामीलाई हाम्रो आफ्नै देशबारे नयाँ मन्त्र सिकाएको अनुभव भयो, जुन नाकाबन्दीसम्म रह्यो ।

भारतीय प्रधानमन्त्रीले हामीलाई ‘हित’ सिकाएर गए । तिम्रो देशको सबै पानी म लैजान्छु, नेपालको जनशक्ति पनि आफ्नो देश बनाउन प्रयोग गर्छु भन्ने आशयसहित ‘पानी और जवानी पहाड में नही टिकती’ भनेर गए । भ्रमणको तयारी कति सूक्ष्म र गहन रूपले गरिएको रहेछ तर हामी भने ‘पानी और जवानी’ मा रोमाञ्चित हुनमै ठिक्क भयौं ।

नेपालका प्रधानमन्त्री भारत जाँदा चाहिं हामीलाई कस्तो अनुभव र गर्व हुन्छ त ? हामीलाई भ्रमणको उद्देश्य, टोलीमा समेटिने संख्या र ती अनुहारको सार्वजनिक छवि देखेरै दिक्क लाग्न थाल्छ । आफ्ना प्रधानमन्त्री भारत भ्रमणमा जाँदा हामी नेपालीले गर्व गर्ने निकै कम अवसर पाएका छौं । २०६२÷६३ को आन्दोलनपश्चात गिरिजाप्रसाद कोइराला भारत जाँदा स्वागत गर्न उनका समकक्षी डा. मनमोहन सिंह स्वयम् विमानस्थल आए । उनले हाम्रा प्रम कोइरालालाई ‘तपाईं दक्षिणएशियाकै नेता हो’ भनेर सम्मान गरे ।

हाम्रा राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणमा भारत जाँदा दिल्ली विमानस्थलमा महिला तथा बालबालिका राज्यमन्त्री कृष्णा राज स्वागत गर्न आइन् । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा भने हाम्रा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू स्वागत गर्न विमानस्थल पुगे ।

यी भ्रमणका पाहुना र स्वागतमा उभिनेहरूको ओहोदा हेर्दा दक्षिणी छिमेकीको अगाडि हामीले आफ्नो राजनीतिक हैसियतलाई सन्तुलित बनाउन नसकेको प्रष्ट देखिन्छ ।

यो सत्य हो कि भारत हामीभन्दा भौगोलिक, आर्थिक, सामरिक सबै हिसाबले ठूलो देश हो । विश्व मञ्चमा पनि उसले हामीभन्दा ठूलै राजनीतिक महत्व राखेको छ । विश्व राजनीतिमा भारतलाई बेवास्ता गरिंदैन । भारत धेरै देशको लागि महत्वपूर्ण बजार पनि हो । अर्को यथार्थ यो पनि छ कि, हामीले जत्तिकै मन नपराए पनि भारत हामीभन्दा सानो हुने छैन र हामीसँग छिमेकी परिवर्तन गर्ने विकल्प पनि छैन ।

तर, यसको मतलब यो कदापि होइन कि हामीले आफ्नो राजनीतिक हैसियत कायम राख्न चुकिरहनुपर्छ । अब हामीले गर्नुपर्ने के हो त ? किन हामी यसमा आवश्यक रणनीति बनाउन सकिरहेका छैनाै‌ ?

मेरो बाल्यकाल धनुषामा बित्यो । हाम्रा आफन्तहरू भारतको बिहारमा पनि छन् । स्कूलको बिदामा हामीलाई फुपूहरूले उता बोलाउनुहुन्थ्यो । हामी जाने भएपछि काकाहरूले भन्नुहुन्थ्यो, “जा, भारत गएर आइज, चलाख हुन्छस् ।” फुपूका छोराछोरी पनि बिदामा मावली आउँथे । बिहारकाहरूले नेपालीहरूबाट कम खर्चमै सफा रहनसहन सिक्ने कुरा गर्थे । बिहारी जीवनशैलीबाट हामी पनि ‘जुगाडपन’ सिक्थ्यौं ।

यो धेरै लामो परम्परा हो, जसमा विशेष महत्व, समानता र सन्तुलन राखेको थियो । नेपालीहरूले राणा–शाही बेहोर्दै गर्दा र भारतीयले ब्रिटिश साम्राज्य विरुद्ध लड्दै गर्दा पनि त्यही किसिमको सन्तुलित सहकार्य थियो । भारतीयहरूको हिम्मत बढाउन यताका अग्रजहरू सत्याग्रहमा सामेल हुन जान्थे भने राणा, पञ्चायत वा राजा ज्ञानेन्द्रको ‘कु’ विरुद्ध लड्ने क्रममा भारतीयले हामीलाई सुर्‍याए ।

तर, अहिले आएर हामीले यति लत्तो छाड्यौं कि भारतमाथि हाम्रो निर्भरता हिम्मतै गुमाउने गरी बढ्यो । त्यसको ठीक विपरीत भारतले हरेक दृष्टिकोणबाट चतुर्‍याइँ बढाउँदै लग्यो । मधेश आन्दोलन र नाकाबन्दी पछि त तराई–मधेशका जिल्ला र भारतीय राज्यहरूबीचको परम्परागत सम्बन्धमा पनि बदलाव आएको छ ।

हाम्रो दुईतिहाइ आर्थिक कारोबार भारतसँग हुन्छ । गत वर्ष भारतसँगको व्यापारको आकार सम्पूर्ण वैदेशिक व्यापारको ६५ प्रतिशत थियो । हामीले ५८.१ प्रतिशत भारतमा पैठारी गरेका छौं भने ६५.१ प्रतिशत निकासी । वैदेशिक लगानीतर्फ नियाल्दा नेपालमा भारतका ६६५ वटा उद्योग र परियोजनामा रु.१३० अर्ब लगानी भएको देखिन्छ । यसमध्ये ५४ प्रतिशत लगानी उत्पादन, २७ प्रतिशत सेवा र १० प्रतिशत पर्यटन क्षेत्रमा भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले एकै कार्यकालमा नेपालका चौथो प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाए, यसपटक । स्व. सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल र अहिलेका देउवा गरेर चार प्रम दिल्ली पुगिसक्दा नेपालको प्रमुख चुनौती एउटै छ– भारतसँगको राजनीतिक सम्बन्ध । नेपालको प्रम भएपछि वा हुनासाथ भारत जाने र राजघाट गएर महात्मा गान्धीलाई सम्झ्निेमै सीमित भइन्जेल एकातिर यस्ता भ्रमणहरूको महत्व झन्झन् गुम्दै जाने र भारतसँगको राजनीतिक सम्बन्ध अझ असन्तुलित हुँदै जानेछ ।

प्रतिकृया दिनुहोस