सार्वजनिक सुनुवाईपछि मात्रै नयाँ सदस्यता: गोविन्द आचार्य
पत्रकारिता विश्वासिलो बनाउन सदस्यता वितरणदेखि नै ध्यान दिने बताउँदै नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्य भन्छन्, “महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान्छौं।”
कसरी अघि बढ्नुहुन्छ ?
पत्रकार महासंघको २५औं अधिवेशनमा सबैले आ–आफ्ना अजेण्डासहित प्यानल बनाएर चुनावमा गएका थियौं । अब प्यानल भन्ने हुँदैन । सबैलाई समेटेर अगाडि बढ्छौं । सबैका अजेण्डालाई एकीकृत गरेर कार्यान्वयन गर्छौं । अधिवेशनले पत्रकारको हकहित र सुरक्षासम्बन्धी थुप्रै प्रस्ताव पनि पारित गरेको छ । त्यसबाहेक पत्रकारको दक्षता अभिवृद्धि गर्न सातै प्रदेशमा विशेष तालीम पनि सञ्चालन गर्नेछौं ।
आजको पत्रकारिताका मुख्य चुनौती के के देख्नुुहुन्छ ?
पत्रकारको हकहित तथा पेशागत सुरक्षाको ग्यारेण्टी हुनसकेको छैन । पत्रकार र मिडियाको संख्यात्मक वृद्धि भए पनि गुणात्मक वृद्धि भएको छैन । हामीले प्रेस स्वतन्त्रताको उपभोग गरिरहेका छौं तर, आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारीबोध हुन सकिरहेको छैन । यिनै पत्रकारिताका चुनौती हुन् ।
श्रमजीवी पत्रकारको हितमा के गर्नुहुन्छ ?
लामो समयदेखि श्रमजीवी पत्रकार मुद्दा उठ्दै आइरहेको छ, टुङ्गोमा पुग्न सकेको छैन । श्रमजीवी पत्रकारले नियुक्ति पत्र र तोकिएको तलब पाउनुपर्छ र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन हुनुपर्छ । त्यसका लािग मिडिया सञ्चालक, पत्रकार र सरकारी पक्षसँग छलफल गर्छौं ।
चुनावका बेला तपाईंलाई नेकपा (माओवादी केन्द्र) को पोलिटब्यूरो सदस्य भनेर प्रचार गरियो । त्यस्तो व्यक्तिले व्यावसायिक पत्रकारिताको हित गर्नुहुन्छ भनेर कसरी पत्याउने ?
चुनावमा हराउनका लागि पार्टीको पोलिटब्यूरो सदस्य भनेर झूटो प्रचार गरियो । अब म निर्वाचित भइसकेको छु । व्यवहार हेरेर टिप्पणी गर्न आग्रह गर्छु ।
महासंघलाई ‘वास्तविक पत्रकार’ को संस्था बनाउन के गर्नुहुन्छ ?
पत्रकार महासंघमा गैर पत्रकार हावी भए भनेर पत्याउँदिनँ । म पत्रकारकै मतले निर्वाचित भएको हुँ ।
पत्रकारितामा नरहेकालाई सदस्यता दिंदैनौं । सार्वजनिक सुनुवाइ गरेर मात्र नयाँ सदस्यता दिने व्यवस्था गर्छौं । महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान्छौं । यसले पनि धेरै हदसम्म शुद्धीकरण गर्ने विश्वास छ ।